८ वर्षको बेवास्तापछि ‘लाइफलाइन’ सडकमा बजेट, पाँच किमी स्तरोन्नति सुरु

८ वर्षको बेवास्तापछि ‘लाइफलाइन’ सडकमा बजेट, पाँच किमी स्तरोन्नति सुरु

केन्द्रबिन्दु
3
Shares

तानसेन। लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजनाअन्तर्गत पाल्पाको हार्थोक–बतासे सडक अन्ततः स्तरोन्नति चरणमा पुगेको छ । आठ वर्षसम्म बजेट अभाव र सरकारी उदासीनताका कारण अलपत्र परेको रामपुर–कपुरकोट सडकखण्डअन्तर्गतको यो सडकमा अहिले काम अघि बढाइएको छ ।

प्रदेश सरकारले पाँच किलोमिटर सडक स्तरोन्नतिका लागि बजेट विनियोजन गरेपछि निर्माण कार्य सुरु भएको हो । लामो समयसम्म हिलाम्मे र धुलाम्मे अवस्थाले यात्रु, बिरामी र गर्भवतीलाई जोखिमपूर्ण यात्रा गर्न बाध्य बनाएको यो सडक अहिले सुधारतर्फ गएको छ ।

पश्चिम पाल्पाको ‘लाइफ लाइन’ मानिने यो सडक हरेक चुनावमा प्राथमिकता बनिए पनि काम अघि बढ्न सकेको थिएन । अहिले स्तरोन्नति सुरु भएपछि स्थानीयमा राहतको अनुभूति देखिएको छ ।

स्थानीयका अनुसार वर्षात् सुरु हुनुअघि नै घरायसी सामग्री जोहो गर्नुपर्ने बाध्यता थियो । सडक सुधार भएपछि यस्तो समस्या अन्त्य हुने अपेक्षा गरिएको छ । साथै कृषि उत्पादन बजारसम्म पुर्‍याउन सहज हुने, ढुवानी सेवा गाउँसम्म पुग्ने र किसानको आयआर्जनमा वृद्धि हुने विश्वास गरिएको छ ।

लामो समयपछि आएको बजेट कार्यान्वयनमा लैजान स्थानीयस्तरमै सक्रियता देखिएको छ । निर्माणका क्रममा आउने समस्या स्थानीय समन्वयबाट समाधान गरिँदै काम अघि बढाइएको छ ।

हाल सडक चौडा गर्ने, रिटेनिङ पर्खाल निर्माण, जग बसाल्ने, लेवल मिलाउने र नाली निर्माणका काम भइरहेका छन् । मापदण्डभित्र पर्ने घरटहरा हटाइएपछि कामले अझै गति लिने अपेक्षा गरिएको छ ।

यो सडक २०८४ असोज २६ भित्र सम्पन्न गर्ने लक्ष्यसहित निर्माण कम्पनीसँग सम्झौता गरिएको छ । करिब रु १६ करोड ३१ लाख लागतमा एमएस राजेश्वरी–रमानिया–आरएन्डआर जेभीले काम गरिरहेको छ । निर्धारित समयभन्दा अघि नै सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

२०७४ सालमै कर्णाली र गण्डकी प्रदेश जोड्ने गरी घोषणा गरिएको यो ३१० किलोमिटर सडक लामो समय बजेट अभावका कारण रोकिएको थियो । निर्माण सम्पन्न भएपछि पाल्पासहित अर्घाखाँची, प्यूठान, रोल्पा र सल्यानका बासिन्दालाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ ।

Skip This
Skip This
Logo