अर्थमन्त्री वाग्लेसँग नाडा प्रतिनिधि मण्डलको भेट, अटोमोवाइल क्षेत्र सुधारमा के-के भए कुराकानी ?

अर्थमन्त्री वाग्लेसँग नाडा प्रतिनिधि मण्डलको भेट, अटोमोवाइल क्षेत्र सुधारमा के-के भए कुराकानी ?

केन्द्रबिन्दु
78
Shares

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले भेट गरी नेपालको अटोमोवाइल क्षेत्रका समसामयिक विषयमा छलफल गरेको छ।

भेटघाटका क्रममा अध्यक्ष उप्रेतीले अटोमोवाइल क्षेत्रको वर्तमान अवस्थाबारे जानकारी गराउँदै क्षेत्रको विकासका लागि नयाँ नीति तथा सुधार आवश्यक रहेको औंल्याए। उनले उचित नीतिगत सुधारबाट सरकारी राजश्व वृद्धि हुनुका साथै रोजगारी सिर्जनामा समेत सकारात्मक प्रभाव पर्ने धारणा व्यक्त गरे ।

छलफलमा अर्थमन्त्री वाग्लेले सरकार राजश्व संकलन बढाउने उपायमा केन्द्रित रहेको उल्लेख गर्दै करको दर घटाएर दायरा विस्तार गर्ने तयारी भइरहेको जानकारी दिए। उनले निजी क्षेत्रमैत्री नीति ल्याउने, अनियमितता नियन्त्रण गर्ने तथा सडक पूर्वाधारमा लगानी बढाउने प्रतिबद्धता जनाए। साथै आगामी बजेट निर्माणका क्रममा नाडासँग पुनः छलफल गरिने बताए।

नाडाले अटोमोवाइल उद्योग प्रवर्द्धनका लागि आयातित कच्चा पदार्थमा सहुलियत आवश्यक रहेको उल्लेख गरेको छ ।

अध्यक्ष उप्रेतीले सीकेडी प्रणाली सहज भए पनि स्वदेशी उद्योग सञ्चालनमा कठिनाइ रहेको बताए । साथै टायर, ट्युब, ब्याट्री, लुब्रिकेन्ट र हेल्मेट जस्ता वस्तुहरू नेपालमै उत्पादन भइरहे पनि गुणस्तर परीक्षणका लागि आवश्यक उपकरण अभाव हुँदा व्यवसायीहरूले समस्या भोग्नुपरेको जानकारी गराए।

उक्त भेटका क्रममा नाडाले ३६ बुँदे लिखित सुझावसमेत अर्थमन्त्रीसमक्ष पेश गरेको छ।

Logo