काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हेटौँडामा सडक विस्तारका कारण प्रभावित भएका व्यवसायीलाई राहत दिन बैंक ब्याज मिनाहा गर्नुपर्ने बताएका छन्। उनले संघीय सरकारसँग यस्तो व्यवस्था गर्न पहल गर्न आग्रह गरेका हुन्।
मकवानपुर उद्योग वाणिज्य सङ्घको ५९औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले सडक विस्तारका क्रममा धेरै व्यापारीको संरचना भत्किँदा आर्थिक असर परेको उल्लेख गरे। यस्तो अवस्थामा राज्यले सहयोग नगरे व्यवसायी थप समस्यामा पर्ने संकेत गरे।
प्रदेश सरकारले कर तिर्ने प्रक्रियामा सहजीकरण गर्न तयार रहेको बताउँदै उनले प्रभावित व्यवसायीलाई सकेसम्म राहत दिने प्रतिबद्धता जनाए। साथै, व्यापारमा पारदर्शिता र जिम्मेवारी आवश्यक रहेको उल्लेख गर्दै बेइमानी भए कडा कदम चाल्न सकिने चेतावनी पनि दिए।
उनले हेटौँडाको सडक विस्तार गर्दा क्षति कम हुने गरी काम गर्नुपर्ने बताए। लच्का पुलदेखि राप्ती पुलसम्म बाइपास सडक निर्माणका लागि संघीय सरकारले निर्णय गरे प्रदेश सरकारले आवश्यक बजेट व्यवस्था गर्न तयार रहेको पनि स्पष्ट पारे।































प्रतिक्रिया