महासंघको केन्द्रीय सदस्यमा शोभा ज्ञवालीको उम्मेदवारी किन ?

महासंघको केन्द्रीय सदस्यमा शोभा ज्ञवालीको उम्मेदवारी किन ?

केन्द्रबिन्दु
111
Shares

काठमाडौं । महिला उद्यमी महासंघकी निवर्तमान अध्यक्ष शोभा ज्ञवालीले नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को आगामी निर्वाचनका लागि एशोसिएट तर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेकी छन्। ज्ञवालीले एशोसिएट उपाध्यक्षकी उम्मेदवार ज्योत्स्ना श्रेष्ठको समूहबाट आफ्नो उम्मेदवारी दर्ता गराउने तयारी गरेकी हुन्।

महिला उद्यमीहरूको आवाजलाई राष्ट्रिय नीति निर्माणको तहसम्म पुर्‍याउने उद्देश्यसहित चुनावी मैदानमा उत्रिएको उनले बताएकी छन्। ज्ञवालीले व्यवसायमैत्री वातावरण निर्माण, लगानी विस्तार र महिला उद्यमशीलताको सशक्तीकरणलाई आफ्नो मुख्य एजेन्डा बनाएकी छिन्।

विशेषगरी ‘लोकल टु ग्लोबल’ अवधारणालाई अघि सार्दै उनले नेपाली स्थानीय उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन महासंघमार्फत संस्थागत संरचना निर्माणमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

नेपालमा साना तथा घरेलु उद्योगमा महिलाको सहभागिता उत्साहजनक रहे पनि उत्पादनको बजार विस्तार र निर्यातका लागि अझै संस्थागत सहयोगको खाँचो रहेको उनको धारणा छ। यसका लागि सरकार, निजी क्षेत्र र महासंघबीच प्रभावकारी समन्वय हुनुपर्नेमा उनले जोड दिएकी छन्। साथै, पर्यटन र जडीबुटी जस्ता सम्भावित क्षेत्रमा नीतिगत सुधार गरी लगानीमैत्री वातावरण बनाउन आफू सक्रिय रहने उनले उल्लेख गरिन्।

यसअघि पनि महासंघको केन्द्रीय सदस्यका रूपमा कार्य गरिसकेकी ज्ञवाली दोस्रो कार्यकालका लागि पुनः प्रतिस्पर्धामा उत्रिएकी हुन्। उनी नेपाल रिपब्लिक मिडियाकी अध्यक्ष तथा नेपाल फिलिपिन्स चेम्बर अफ कमर्सकी निवर्तमान अध्यक्ष समेत हुन्। अन्तर्राष्ट्रिय फोरमहरूमा नेपालको लगानीका सम्भावनाबारे निरन्तर पैरवी गर्दै आएकी ज्ञवालीले महासंघमा पनि सोही एजेन्डालाई प्राथमिकता दिने बताएकी छन्।

Logo