काठमाडौं । कृषि क्षेत्रमा यान्त्रीकरण, प्रशोधन र किसानकेन्द्रित सेवा विस्तार गर्दै आएकी सफल उद्यमी सुनिता न्हेमाफुकीले यही चैत २८ र २९ मा हुने नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदकाे निर्वाचनमा उम्मेदवारी घोषणा गरेकी छन्।
कृषि क्षेत्रमा लामो अनुभव सँगालेकी न्हेमाफुकीको उम्मेदवारीलाई यतिबेला महासंघमा महिला नेतृत्व स्थापित गर्ने र कृषि उद्यमलाई व्यावसायिक बनाउने अभियानका रूपमा हेरिएको छ। उनले महासंघको आगामी निर्वाचनका लागि वस्तुगततर्फका उपाध्यक्षका उम्मेदवार शिवप्रसाद घिमिरेको प्यानलबाट आफ्नो उम्मेदवारी दर्ता गराएकी हुन्।
नेपाल कृषि मेसिनरी व्यवसायी संघ (नामिया) को उपाध्यक्ष समेत रहेकी न्हेमाफुकी विगत १५ वर्षभन्दा लामो समयदेखि कृषि क्षेत्रमा निरन्तर सक्रिय छिन्। उनी आर एन्ड डी इन्नोभेटिभ सोलुसन प्रालिकी संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत हुन्। सन् २०१४ मा भक्तपुरमा व्यावसायिक तरकारी खेतीबाट आफ्नो उद्यम यात्रा सुरु गरेकी उनले पछि देशका विभिन्न भौगोलिक क्षेत्रमा ‘मोडेल फार्म’ हरू विस्तार गरेकी थिइन्। उनी विशेष गरी किसानहरूलाई जलवायु अनुकूल बालीहरू— जस्तै कोदो, जौ, सिमी र फलफूल उत्पादनमा प्रोत्साहन गर्दै ती उपजको प्रशोधन र बजार पहुँच पुर्याउन क्रियाशील छिन्।
न्हेमाफुकीको नेतृत्वमा सञ्चालित ‘ग्रिन मार्ट’ फार्म शप मोडेलले स्थानीय किसानका उत्पादनलाई सिधै बजार र उपभोक्तासँग जोड्ने काम गर्दै आएको छ। यसका साथै, कृषि अनुसन्धानलाई व्यवहारमा उतार्न उनले स्थानीय भाषामा किसानमैत्री सामग्री उत्पादन गरी कृषकहरूलाई सूसुचित बनाउन महत्वपूर्ण भूमिका खेलेकी छन्।
“कृषिमा आत्मनिर्भरता र रोजगारी सिर्जना नै मेरो मुख्य लक्ष्य हो,” भन्ने न्हेमाफुकीले यान्त्रीकरणलाई आयात प्रतिस्थापन र उत्पादकत्व वृद्धिको प्रमुख माध्यम मान्छिन् । नामियाको उपाध्यक्षका रूपमा उनले मेसिन मर्मत तालिम, कृषि मेसिनरीको प्रयोग र किसानका लागि दुर्घटना बीमा जस्ता कार्यक्रमहरू सफलतापूर्वक कार्यान्वयन गराएकी थिइन्।
आफ्नो उम्मेदवारीका सन्दर्भमा न्हेमाफुकीले कृषि नीतिमा स्थिरता, समन्वय र डिजिटल प्रविधिलाई प्राथमिकता दिनुपर्ने धारणा राख्दै आएकी छन् । “नेपालमा उद्यमीको कमी छैन, तर स्थिर नीति र समन्वयकारी भूमिकाको खाँचो छ,” भन्दै उनले निजी क्षेत्रको सम्मान, सुरक्षा र कृषि उद्यमलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएकी छन् ।





























प्रतिक्रिया