काठमाडौं । नयाँ नेतृत्व चयन गर्ने गरी यही २९ चैतदेखि काठमाडौंमा सुरु हुने नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारणसभा एवं निर्वाचनका लागि स्टक ब्रोकर एसोसिएसन अफ नेपाल (एसबान) का निवर्तमान अध्यक्ष धर्मराज सापकोटाले कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिएका छन्। उनले वस्तुगततर्फका उपाध्यक्षका उम्मेदवार शिवप्रसाद घिमिरेको प्यानलबाट आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।
वरिष्ठ चार्टर्ड एकाउन्टेन्टसमेत रहेका सापकोटा विगत ३० वर्षदेखि पुँजीबजार, कर, लेखापरीक्षण, पर्यटन र कृषि क्षेत्रमा सक्रिय छन्। मिलनसार र स्पष्ट वक्ताका रूपमा चिनिने उनले नेपालको धितोपत्र बजारको सुधार र विस्तारमा लामो समयदेखि महत्त्वपूर्ण योगदान पुर्याउँदै आएका छन्। वि.सं. २०७७ सालमा स्टक ब्रोकर एसोसिएसनको अध्यक्ष निर्वाचित भएका उनको कार्यकालमा अनलाइन कारोबारको सहजीकरण, मार्जिन कारोबारको व्यवस्थापन र लगानीकर्ताको हित संरक्षणमा उल्लेख्य सुधारहरू भएका थिए।
सापकोटा विगत १० वर्षदेखि महासंघका विभिन्न जिम्मेवारीमा रहेर निजी क्षेत्रको हकहितमा क्रियाशील छन्। हाल उनी महासंघको पुँजीबजार फोरमको सह–सभापतिका रूपमा कार्यरत छन्। पुँजीबजार बाहेक बैंक तथा वित्तीय क्षेत्र, शिक्षा, ऊर्जा र कर राजस्वका मुद्दाहरूमा पनि उनको दख्खल रहेको छ।
उम्मेदवारी घोषणा गर्दै सापकोटाले फोहोरी राजनीतिबाट मुक्त भएर मुलुकको अर्थतन्त्र र निजी क्षेत्रको विकासमा महासंघले ठोस भूमिका खेल्नुपर्ने धारणा राखेका छन्। उनले कुनै पनि संघसंस्था बलियो हुनका लागि नेतृत्व सक्षम र दूरदर्शी हुनुपर्नेमा जोड दिँदै आएका छन्। आफू पदमा रहे वा नरहे पनि एक विशेषज्ञका रूपमा समाज र व्यावसायिक क्षेत्रमा सदैव योगदान गरिरहने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।































प्रतिक्रिया