राजस्व र रोजगारी बढाउन अटोमोवाइल क्षेत्रको संरक्षणका लागि नाडाको माग

राजस्व र रोजगारी बढाउन अटोमोवाइल क्षेत्रको संरक्षणका लागि नाडाको माग

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । नाडा अटोमोवाइल एसोसिएसन अफ नेपालले देशको राजस्व र रोजगारीमा ठूलो हिस्सा ओगटेको अटोमोवाइल क्षेत्रलाई गतिशील बनाउन नीतिगत संरक्षणको माग गरेको छ।

नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बुधबार अर्थ मन्त्रालयका राजस्व सचिव भूपाल बरालसँग भेट गरी यस क्षेत्रका विद्यमान चुनौती र समाधानका उपायबारे विस्तृत छलफल गरेको हो।

छलफलका क्रममा अध्यक्ष उप्रेतीले हाल शिथिल अवस्थामा रहेको अटोमोवाइल क्षेत्रलाई उकास्न केही नीति-नियमहरूमा तत्काल परिवर्तन आवश्यक रहेको धारणा राखे । उनले सीकेडी उद्योगको स्थायित्वका लागि कम्पोनेण्ट उद्योगहरूको विकासमा जोड दिँदै त्यस्ता उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ आयातमा सहुलियत दिन सरकारसँग आग्रह गरे । यस्तो व्यवस्थाले स्वदेशमै रोजगारीका अवसरहरू बढाउने र राष्ट्रिय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने उनको भनाइ थियो।

साथै, नेपालमै कतिपय अटोमोवाइलका वस्तुहरू उत्पादन भइरहे पनि सरकारसँग गुणस्तर मापन गर्ने यन्त्र नहुँदा व्यवसायीहरूले समस्या भोग्नुपरेको तर्फ पनि उनले ध्यानाकर्षण गराए ।

सो अवसरमा नाडाका निवर्तमान अध्यक्ष करण चौधरीले सवारी साधनको बिक्री बढाउन ‘लोन टु भ्यालु’ रेसियोलाई पुनरावलोकन गर्नुपर्नेमा जोड दिए । यो अनुपात बढ्दा सवारी साधनको कारोबारसँगै राजस्व र रोजगारीमा समेत स्वतः वृद्धि हुने र समग्र अटोमोवाइल इको-सिस्टम बलियो हुने उनले बताए । त्यसैगरी, विशिष्ट सल्लाहकार राजनबाबु श्रेष्ठले सवारी साधनलाई अझै पनि विलासिताको वस्तुमा वर्गीकरण गरिएकोमा असन्तुष्टि व्यक्त गर्दै भन्सार महसुलमा समयसापेक्ष समायोजन गर्न र भारतसँगको सीमा क्षेत्रमा हुने चोरी निकासी नियन्त्रणमा कडाइ गर्न माग गरे ।

छलफलमा महासचिव मिलनबाबु मल्लले विद्युतीय सवारी साधनको पिक पावर मापनका सम्बन्धमा देखिएका अन्यौल चिर्न नाडा सरकारसँग सहकार्य गर्न तयार रहेको बताए ।

नाडाको तर्फबाट राखिएका सुझावहरूप्रति सकारात्मक रहँदै राजस्व सचिव बरालले यी समस्याहरूबारे आफू जानकार रहेको र प्राप्त सुझावहरू कार्यान्वयन योग्य रहेको उल्लेख गरे । भेटघाटमा नाडाका उपाध्यक्ष विक्रम सिंघानिया र सचिव मेघराज पौडेल लगायतको सहभागिता रहेको थियो।

Skip This
Skip This
Logo