काठमाडाैं । विश्वव्यापी सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मेटलाइफ फाउन्डेशनले नेपालसहित विभिन्न देशका गैर–नाफामुखी संस्थाहरूलाई आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेको छ। “कम्युनिटी इम्प्याक्ट ग्रान्ट प्रोग्राम” मार्फत फाउन्डेशनले कुल ६.५ मिलियन अमेरिकी डलर बराबरको अनुदान वितरण गर्न लागेको हो।
सन् २०२३ मा सुरु भई २०२५ मा विश्वव्यापी रूपमा विस्तार गरिएको यस कार्यक्रमले खाद्य सुरक्षा, मानसिक स्वास्थ्य, वातावरणीय दिगोपन तथा समग्र सामुदायिक विकासमा केन्द्रित परियोजनाहरूलाई सहयोग गर्दै आएको छ। यस वर्ष विश्वभरका १०० भन्दा बढी संस्थाहरूलाई अनुदान प्रदान गरिएकोमा नेपालका दुई संस्थाले पनि सहयोग पाएका छन्।
सोलुखुम्बुमा कार्यरत सोलुचमलाई दुई वर्षका लागि १,१०,००० अमेरिकी डलर अनुदान प्रदान गरिएको छ। उक्त सहयोगबाट ३,००० भन्दा बढी स्थानीयलाई वातावरणीय तालिम दिइनेछ, जसमा फोहोर व्यवस्थापन, वृक्षारोपण र सरसफाइसम्बन्धी कार्यक्रम समावेश छन्।
त्यसैगरी, सोसेक नेपालको ‘सेफ’ कार्यक्रमलाई दुई वर्षका लागि १,९०,००० अमेरिकी डलर सहयोग प्रदान गरिएको छ। यस कार्यक्रमले किसान, युवा तथा साना व्यवसायलाई लक्षित गर्दै दिगो कृषि अभ्यास, सीप विकास र आर्थिक सुदृढीकरणमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
फाउन्डेशनकी अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत टिया होजेसले समुदायको समग्र कल्याण सुधार गर्न संस्थाहरूमा लगानी गरिरहेको बताउँदै यसले व्यक्ति तथा परिवारलाई चुनौती सामना गर्न सक्षम बनाउने उल्लेख गरिन्।
कार्यक्रम अन्तर्गत अनुदान छनोट प्रक्रियामा मेटलाइफका कर्मचारीहरूको सक्रिय सहभागिता रहेको जनाइएको छ। हालसम्म २०७ संस्थालाई ९ मिलियन अमेरिकी डलरभन्दा बढी सहयोग प्रदान भइसकेको छ, जसबाट विश्वभर १.६ मिलियनभन्दा बढी मानिस लाभान्वित भएका छन्।
फाउन्डेशनले आर्थिक अवसर विस्तार, वित्तीय स्वास्थ्य प्रवर्द्धन तथा दिगो समुदाय निर्माणमा आफ्नो प्रतिबद्धता निरन्तर अगाडि बढाउने जनाएको छ।





























प्रतिक्रिया