सुबिसु र एपाक आइपीभी सिक्स काउन्सिलबीच सहकार्य सम्झौता

सुबिसु र एपाक आइपीभी सिक्स काउन्सिलबीच सहकार्य सम्झौता

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र एसिया-प्रशान्त क्षेत्रमा आइपीभी सिक्स प्रवर्द्धनका लागि समर्पित संस्था ‘एपाक आइपीभी सिक्स काउन्सिल’ बीच एक महत्त्वपूर्ण सहकार्य सम्झौता मा हस्ताक्षर भएको छ। काठमाडौंको होटल र्याडिसनमा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीटको पहिलो दिन यो ऐतिहासिक सम्झौता सम्पन्न भएको हो।

सम्झौता पत्रमा सुबिसु लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बिनय मोहन सउद र एपाक आइपीभी सिक्स काउन्सिलका अध्यक्ष प्रो. इमेरिटस डा. सुरेश्वरन रामादासले हस्ताक्षर गरेका छन् । यस सहकार्यले नेपालको डिजिटल पूर्वाधार विकास र इन्टरनेटको आधुनिकिकरणमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ।

यस सम्झौता पश्चात् दुई संस्थाबीच प्राविधिक ज्ञान, विशेषज्ञ जनशक्ति, संयुक्त प्रकाशन र आपसी प्रचार-प्रसारका क्षेत्रमा सहकार्य हुनेछ। साथै, सुबिसु लिमिटेडले एपाक आइपीभी सिक्स काउन्सिलको संस्थागत विशिष्ट सदस्यको रूपमा सहभागी हुने अवसर समेत प्राप्त गरेको छ। यसले नेपाली प्राविधिक समुदायलाई क्षेत्रीय र वैश्विक मञ्चमा प्रतिनिधित्व गर्ने बाटो खोल्नेछ।

सम्झौतापछि बोल्दै सुबिसु लिमिटेडका सीईओ बिनय मोहन सउदले नेपालमा अन्तर्राष्ट्रिय स्तरको प्रविधि सम्मेलन आयोजना गरी यस्तो साझेदारी गर्न पाउनु गर्वको विषय भएको बताए । उनका अनुसार यो सम्झौताले नेपाललाई एसिया-प्रशान्त क्षेत्रको प्रविधि विमर्शको केन्द्रमा स्थापित गर्न मद्दत पुर्‍याउनेछ।

आइपीभी सिक्सको अवलम्बन भविष्यको इन्टरनेट विस्तार, इन्टरनेट अफ थिंग्स, र क्लाउड कम्प्युटिङका लागि अपरिहार्य मानिन्छ। यो सहकार्यले ‘डिजिटल नेपाल’ अभियानलाई थप बल पुर्‍याउँदै देशको इन्टरनेट पूर्वाधारलाई विश्वस्तरीय मापदण्ड अनुसार तयार पार्न मद्दत गर्नेछ। विगत २५ वर्षदेखि सेवा प्रदान गर्दै आएको सुबिसु र मलेसियामा मुख्यालय रहेको एपाक काउन्सिलबीचको यो साझेदारीलाई नेपालको प्रविधि क्षेत्रमा एक सुदृढ कदमको रूपमा हेरिएको छ।

कार्यक्रमलाई नेपाल रिसर्च एण्ड एजुकेशन नेटवर्क, इन्टरनेट एक्सचेन्ज नेपाल, एनपीनोग र इसपान लगायतका संस्थाहरूले सहयोग गरेका छन्।

Logo