सुन खानीको समेत सम्भावना भएको रोल्पामा उत्खनन् हुन सकेन, प्रयोगमा आएको फलाम खानी पनि बन्द

सुन खानीको समेत सम्भावना भएको रोल्पामा उत्खनन् हुन सकेन, प्रयोगमा आएको फलाम खानी पनि बन्द

केन्द्रबिन्दु
0
Shares

रोल्पा ।

खनिज पदार्थले धनी रोल्पामा सुन लगायत दर्जनौं प्रकारका खनिज पदार्थ रहेको सम्भावनाको बारेमा सधैँ चर्चा गर्ने गरिन्छ ।

तर पनि बहुमूल्य यस्ता खनिज पदार्थको उत्खननमा भने कसैको ध्यान जान सकेको छैन । जिल्लाका विभिन्न स्थानमा खनिज पदार्थ रहेको सूचना जिल्ला समन्वय समितिको प्रकाशनमा वर्षौँदेखि आइरहेको छ । तर पनि यी खनिज पदार्थबाट लाभ लिने त परै जाओस् उत्खनन् गर्नेतिर पनि कसैको ध्यान जान सकेको छैन । यसबाट जिल्लावासी लाभान्वित हुन सक्ने बताइए पनि त्यो सम्भावना अझै पाइएको छैन ।

यस जिल्लाका करिब दुई दर्जन ठाउँमा खनिज रहेको जिससले गरेका प्रकाशनमा देखिएको भए पनि अहिलेसम्म तीमध्ये एउटा पनि उत्खनन् गरिएको तथ्याङ्क छैन । नेपालका खनिज खानीमै सीमित हुनुमा प्राविधिक जनशक्तिको अभाव र यसका लागि आवश्यक बजेट रकमको अभाव प्रमुख कारक तत्वको रुपमा रहँदै आएको देखिन्छ ।

भू–गर्भविद्का अनुसार जिल्लाको लुंग्री र फगाम खोलाको क्षेत्रमा प्राकृतिक रुपमा चटानी भागमा नै सुन रहेको छ । खानी विज्ञका अनुसार रोल्पामा लुंग्री खोला आसपास २५ किलोमिटर लम्बाई र ५ किलोमिटर चौडाई क्षेत्रमा केही वर्ष अघि सुन रहेको विषयमा अर्ध विस्तृत अध्ययन गरिएको थियो । अध्ययनको क्रममा बढीमा चार ग्राम र कम्तीमा साढे एक ग्राम प्रतिटन सुनको लपसा भेटिएको बताइएको थियो । त्यसयता भने जिल्लामा सुनको अध्ययन अनुसन्धान नै भएको छैन ।

जिल्लामा सुन उत्खननका लागि खानी विभागको तर्फबाट अहिलेसम्म केही पहल हुन नसकेको स्थानीयको भनाई छ । लुंग्री खोलामा सुन उत्खनन् गर्ने हो भने सफलता मिल्ने स्थानीय जानकारहरु बताउँछन् । तर खानी विभागको तर्फबाट सुन उत्खननका लागि अहिलेसम्म ठोस पहल भएको भने देखिँदैन ।

सुनछहरी गाउँपालिकाका अध्यक्ष आशबहादुर पुनमगरले पूर्वी रोल्पाको स्युरीस्थित सुन छहरी झरनाबाट मानिसले बालुवा चालेर वर्षेनी सुन भेटाउने गरेको बताए । पुनले भने, ‘‘पहिले त उनीहरुले धेरै नै सुन भेटाउने गरेको बताउँथे तर अहिले मात्रा थोरै छ भन्छन् । पछिल्लो समयमा बालुवामा चालेर सुन भेटाउनेहरुको सङ्ख्या बढ्दै गएको छ, त्यसैले पनि यहाँ सुनको अध्ययन हुनु पर्ने देखिन्छ ।

प्रयोगमा आएको फलाम खानी पनि बन्द

जिल्लामा सुन मात्र होइन, तामा, फलाम, कोइला, चुन, सीसा लगायतका खनिज पदार्थको खानी पनि रहेको जिल्ला समन्वय समिति र स्थानीय तहको प्रकाशनमा देखिन्छ । जिससका अनुसार जेल्बाङ र पाछाबाङमा फलाम खानी रहेको छ । युएसएआइडिले गरेको एक अध्ययनमा जनाइए अनुसार सन् १९७० को दशकमा जेल्बाङमा जमिन कोपेर निकाल्ने फलाम खानी तीब्र रुपमा घट्दै गयो । तत्कालीन समयमा जेल्बाङ फलाम खानीको लागि मुख्य केन्द्र मानिन्थ्यो । प्रतिवेदनमा जनाइए अनुसार स्थानियले करिब छ मिटर गहिरो हातैले खनेर बनाइएका बीस वटा फलाम खानीहरुबाट फलाम निकाल्ने गर्दथे । जङ्गलमा पाइने बलिया काठबाट कोइला बनाई फलाम पगाल्ने गरिन्थ्यो ।

स्थानीय दलित समुदायका मानिसले फलामबाट बञ्चरो, कोदालो, हलोको फाली बनाएर छिमेकमा बिक्री गर्दथे । पछि फलाम पगाल्नलाई कोइलाको अभाव हुन थाल्यो । भारतबाट आयात गरिएका फलामका वस्तु र स्थानीय स्तरमै उत्पादन गरिएका फलामका वस्तुबीच प्रतिस्पर्धा हुन थाल्यो । आयातित बस्तुले बजार लिँदै गएपछि जेल्बाङको फलाम खानी सन् १९७७ तिर स्थानीयकै सहमतिमा बन्द गरिएको वताइन्छ ।

जिल्लाका करिब दुई दर्जन भन्दा बढी स्थानमा भएका खनिजको उत्खननको लागि कुनै ठोस कार्य भएको छैन । हरेक वर्ष जिल्लामा औपचारिकताका लागि सहभागितामूलक समावेशी योजना तर्जुमा प्रक्रियाको औपचारिकता पुरा गरिन्छ । तर योजना तर्जुमा प्रक्रियामा पनि खनिज उत्खननको योजना समावेश भएर आएको भने कुनै वर्ष पनि पाइँदैन । तर उक्त योजना तर्जुमाका लागि स्थानीयले सुझाव दिँदा भने हरेक पटक स्थानीयले यहाँ रहेका विभिन्न खनिजको उत्खनन् गर्नुपर्ने सुझाव दिने गरेका छन् । खनिज पदार्थको खोजी र अनुसन्धान हुन नसक्नुको पछाडि किन यस्तो वेवास्ता भइरहेको छ भन्ने बारेमा जवाफ भने कसैले दिँदैन । स्थानीय नागरिकमा चेतनाको अभावका कारण यसप्रति बेवास्ता हुँदै आएको बताइन्छ ।

सम्भाव्यता अध्ययन तथा उत्खनन् गर्नकै लागि पनि प्रशस्त पूँजी र दक्ष जनशक्तिको आवश्यकता पर्ने भएकोले निजी क्षेत्रले पनि लगानीका लागि सजिलै आँट गर्न नसकेको समाजसेवी दयाराम डागीले बताए । खनिज उत्खननमा देखिएको यो समस्या अहिलेकै स्थितिमा रहने हो भने अझै वर्षौसम्म पनि कुनै प्रगति हुन नसक्ने देखिन्छ ।

रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वकुमार चन्दका अनुसार निजी क्षेत्रलाई खनिज उत्खननको लागि जिम्मा दिन पनि प्रशस्तै नीतिगत र व्यवहारिक चुनौती छन् । ती चुनौतीलाई हटाउनका लागि राज्यले नीतिगत तहमै गर्नुपर्ने काम अझै धेरै रहेको स्थानीय जानकारहरु बताउने गर्दछन् । अध्यक्ष चन्दले गुनासो गरे, ‘‘खनिज राज्यकै प्राथमिकतामा कम पर्ने गरेको देखिन्छ । उत्खननका लागि पनि धेरै पूँजी चाहिन्छ । दक्ष जनशक्तिको आवश्यकता पनि उत्तिकै जरुरी देखिन्छ ।’’

सुनछहरी गाउँपालिका स्यूरीका हर्क घर्तीका अनुसार एक दशक अघि खनिज अनुसन्धानका लागि एक चिनियाँ टोली सेरमको फुलिवनमा आएको थियो । काठमाडौँस्थित ठेकेदारको सम्पर्कमा रोल्पा आएको टोलीले करिब दुई साता पूर्वी रोल्पाका विभिन्न स्थानमा खनिजको सम्भाव्यता अध्ययन गर्यो । सरकारी अनुमति विना अध्ययन गरी रहेका टोलीलाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा झडप समेत भएको स्थानीय घर्तीले बताए । उनका अनुसार सुन खोज्न आएका चिनियाँ टोली र स्थानीयबीच भाषाको सहजीकरण एक नेपालीले गरिरहेका थिए । प्रहरी सोधखोजका लागि फुलिवन पुग्दा भाषा सहजीकरण गर्ने नेपाली त्यहाँ थिएनन् । भाषाकै कारण चिनियाँ टोली, स्थानीय र प्रहरी बीच झडपको स्थिति सिर्जना भएको थियो ।

चिनियाँ नागरिकले भाषा नबुझेपछि प्रहरी र स्थानीयलाई एकोहोरो आक्रमण गर्ने गरेका थिए । स्थिति तनावग्रस्त बनेपछि चिनियाँ टोली अध्ययन नै नगरी फर्केको थियो । स्थानीयले संयमता नअपनाएको भए स्थिति नियन्त्रणभन्दा बाहिर जाने अवस्था भएको घर्तीले बताए । पछि उनीहरु को थिए र कसरी यहाँ आएका थिए भन्ने बारेमा पनि स्थानीयलाई कुनै जानकारी गराइएन ।

खनिज रहेका भनिएका सम्भाव्य स्थान

खानी उत्खननका दृष्टिले जिल्लाका विभिन्न ठाउँमा प्रशस्त सम्भावनाहरू छन् । सुनछहरी झरना, लुङ्री, गामखोला र फगाम खोलाको शिरमा सुन रहेको सम्भावना देखिन्छ । तामाखानी उत्खननका लागि धबाङ, जङ्कोट, आरुवा तालाबाङ र हार्जङमा सम्भावना देखिएको पाइन्छ । कोइला खानी उत्खननका लागि खुमेल, मसिना, डुब्रिङ, झेनाम, दुबिडाँडा र हार्जङ सम्भावित क्षेत्र हुन् । फलाम खानी उत्खनन्का लागि जेलबाङ, गाम, इरिबाङ, पाछाबाङ र राङ्कोट चर्चामा छन् ।

स्लेट खानी उत्खननका लागि लिबाङ, धबाङ, खुमेल, सिर्प, नाफे खोला इरिबाङ र बडाचौर प्रख्यात छन् । चाँखे ढुङ्गा जङ्कोट, ह्वामा र जैमाकसलामा पाइन्छ । मार्वलका लागि माडी गाउँपालिका अन्तर्गत पर्ने ओत र कोर्चाबाङलाई सम्भावित मानिएको छ । त्यस्तै चुन खानीका लागि धबाङ, दुबिडाँडा, डुब्रिङ, झेनाम, बुढागाउँ र सिसाखानी उत्खननका लागि करेटी र भाबाङलाई सम्भावनाको क्षेत्र मानिन्छ ।

दुई लाख चौविस हजार भन्दा वढी जनसङ्ख्या भएको रोल्पामा ५० हजारभन्दा बढी युवा रोजगारीका लागि भारत तथा तेश्रो मुलुक गएको बताइन्छ । जिल्लाका यी खानी उत्खनन् गर्न सकिएमा ती युवा जनशक्तिलाई स्वेदेशमै रोजगारी दिन सकिन्थ्यो । बेरोजगारीका कारण रोल्पाबाट हजारौँ युवा भारत तथा तेश्रो मुलुक जाने गरेका छन् । विदेशमा जोखिमपूर्ण काम गर्न बाध्य युवाहरुलाई स्वदेशमै रोजगारीका लागि सरकार गम्भीर बन्न सके युवा पलायन रोक्न सकिने नागरिक समाजका अध्यक्ष घनश्याम आचार्यको भनाई छ । यसबाट स्थानीय स्तरमा युवाको रोजगारी तथा जिल्लाबासीलाई मात्र फाइदा पुग्ने नभएर राष्ट्रिय अर्थतन्त्रमा नै ठूलो परिवर्तन ल्याउन सक्ने देखिन्छ ।रासस

Logo