काठमाडौं। नुवाकोटको ककनी गाउँपालिका–२ काउलेनाथ क्षेत्रमा सडक विस्तारका क्रममा आफ्नो निजी जग्गामा जबरजस्ती संरचना भत्काइएको आरोप लगाउँदै स्थानीय जग्गाधनी कान्छा लामाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् ।
लामाले गाउँपालिका अध्यक्ष सुमन तामाङ र सम्बन्धित प्राविधिक टोलीविरुद्ध उजुरी दर्ता गर्दै सहमति विपरीत एकतर्फी रूपमा सडक विस्तार गरिएको दाबी गरेका छन् । उनका अनुसार पासाङ ल्हामु राजमार्गअन्तर्गत बालाजु–त्रिशूली–धुन्चे–स्याफ्रुबेसी सडकखण्ड विस्तारका क्रममा आफ्नो निजी जग्गामा बनेको संरचना डोजर लगाएर भत्काइएको हो ।
स्थानीय तहमा भएको सहमतिअनुसार आफ्नो तर्फबाट छोड्नुपर्ने जग्गा छोडिसके पनि बाँकी भागमा समेत क्षति पुगेको लामाको आरोप छ । सडक विस्तारका लागि केन्द्र रेखाबाट दुवैतर्फ समान कटान हुनुपर्ने मापदण्ड भए पनि व्यवहारमा एकतर्फी रूपमा काम गरिएको उनले बताएका छन् ।
डबल लेन स्तरोन्नतिका लागि ८ मिटर चौडाइ कायम गर्नुपर्ने भए पनि त्यसको पालना नभएको र निजी सम्पत्तिमा हस्तक्षेप भएको दाबी पीडित पक्षले गरेको छ । साथै मुआब्जा वा अधिग्रहणको कुनै प्रक्रिया पूरा नगरी निर्माण कार्य अघि बढाइएको आरोपसमेत लगाइएको छ ।
यता गाउँपालिका अध्यक्ष सुमन तामाङले भने सडक विस्तार सहमतिमै गरिएको दाबी गरेका छन् । उनका अनुसार यो सडक डिभिजन कार्यालयको ठेक्काअन्तर्गतको आयोजना हो र स्थानीय तहले केवल सहजीकरणको भूमिका मात्र निभाएको हो ।
यस विषयमा कान्छा लामाले संघीय मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, प्रहरी, मानव अधिकार आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत विभिन्न निकायमा पनि ध्यानाकर्षण गराइसकेका छन् । उनले मुआब्जा भुक्तानी नभएसम्म निर्माण कार्य रोक्नुपर्ने मागसमेत गरेका छन् ।
हाल विवाद अख्तियारको छानबिन प्रक्रियामा पुगेको छ भने स्थानीय स्तरमा तनावपूर्ण अवस्था देखिएको छ ।





























प्रतिक्रिया