नेपालमा पहिलो पटक ‘टियर ४’ हाइपरस्केल डाटा सेन्टर निर्माण गर्ने घोषणा

नेपालमा पहिलो पटक ‘टियर ४’ हाइपरस्केल डाटा सेन्टर निर्माण गर्ने घोषणा

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । नेपालको डिजिटल पूर्वाधारलाई विश्वस्तरमा पुर्‍याउने र डाटा सुरक्षालाई मजबुत बनाउने उद्देश्यका साथ देशकै पहिलो ‘टियर ४’ हाइपरस्केल डाटा सेन्टर निर्माण हुने भएको छ। बिचुटिन डाटा भोल्ट प्रा.लि.ले बिहीबार एक कार्यक्रमबीच नेपाललाई दक्षिण एसियाकै विश्वसनीय डिजिटल हबका रूपमा स्थापित गर्ने लक्ष्यका साथ यो ठूलो परियोजनाको घोषणा गरेको हो।

नेपाली उद्यमीहरू नवीन अग्रवाल, मीन अग्रवाल, अनुज कियाल, विशाल कुमार जाटिया र शरद गोयलको नेतृत्वमा रहेको यस कम्पनीले नेपालको आफ्नै डिजिटल सार्वभौमिकता र सुरक्षित भविष्य निर्माणको संकल्प लिएको छ। यो परियोजना काठमाडौं र वीरगञ्ज गरी दुई रणनीतिक स्थानमा रहनेछ। सुरुवाती चरणमा २४० किलोवाट क्षमताबाट सुरु हुने यो सेन्टरलाई सन् २०३० सम्ममा ५ मेगावाटसम्म विस्तार गर्ने योजना कम्पनीले अघि सारेको छ।

यस डाटा सेन्टरको सबैभन्दा सबल पक्ष यसको अन्तर्राष्ट्रिय गुणस्तर र प्रमाणीकरण हो। नेपालकै पहिलो टियर ४ प्रमाणित डाटा सेन्टरका रूपमा यसले ९९.९९५ प्रतिशत ‘अपटाइम’ को सुनिश्चितता प्रदान गर्नेछ। यसको अर्थ वर्षभरिमा जम्मा २६ मिनेट भन्दा कम मात्र प्राविधिक अवरोध हुन सक्ने देखिन्छ, जसले गर्दा बैंकिङ, दूरसञ्चार र सरकारी तथ्याङ्क जस्ता संवेदनशील क्षेत्रका लागि यो अत्यन्तै भरपर्दो मानिनेछ।

विश्वस्तरीय प्रविधि भित्र्याउन कम्पनीले भीभीडीएन टेक्नोलोजी, गुगल क्लाउड, एएमडी र माइक्रोन जस्ता विश्वविख्यात प्रविधि कम्पनीहरूसँग रणनीतिक साझेदारी समेत गरेको छ। यस पूर्वाधारले नेपालको डाटा नेपालभित्रै सुरक्षित राख्ने सुनिश्चितता प्रदान गर्नुका साथै विदेशी सर्भरमाथिको निर्भरता कम गरी राष्ट्रिय सुरक्षा र साइबर प्रतिरोधक क्षमतालाई बलियो बनाउने विश्वास लिइएको छ।

वातावरण मैत्री प्रविधिलाई प्राथमिकता दिँदै यो डाटा सेन्टर पूर्णतया नेपालको जलविद्युतमा आधारित हुनेछ । सूचना प्रविधि र इन्जिनियरिङ क्षेत्रमा ठूलो मात्रामा रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको बिचुटिनले भविष्यमा नेपालमै सर्भर, क्यामेरा, ल्यापटप र ट्याबलेट जस्ता विद्युतीय उपकरणहरू उत्पादन गर्ने दूरगामी सोच समेत राखेको जनाएको छ। भगवान विष्णुको जापानी बौद्ध नामबाट लिइएको ‘बिचुटिन’ ले “रक्षक” को प्रतिनिधित्व गर्ने र यसले नेपालको डिजिटल भविष्यलाई सुरक्षित र आत्मनिर्भर बनाउन मुख्य भूमिका खेल्ने कम्पनीको दाबी छ।

Logo