देशकै ठूलो उद्योग गार्मेन्ट गियर सञ्चालन हुने

देशकै ठूलो उद्योग गार्मेन्ट गियर सञ्चालन हुने

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । भैरहवा विशेष आर्थिक क्षेत्र (सेज) मा निर्माण भइरहेको गार्मेन्ट गियर प्रालि आगामी कुसे औँसीबाट सञ्चालनमा आउने भएको छ ।

उक्त उद्योगको करिब ८० प्रतिशत काम सम्पन्न भएको छ। गार्मेन्ट गियर प्रालि नेपालबाट विदेशमा तयारी पोसाक निर्यात गर्ने उद्देश्यसहित निर्माण भइरहेको उद्योगका कार्यकारी निर्देशक रामकृष्ण खतिवडाले जानकारी दिए। यसै वर्षको कुशै औँसीका लागि तयारी पोसाक बजारमा लैजाने योजना रहेको खतिवडाले बताए ।

उक्त गामेन्ट उद्योगमा भाटभटेनी सुपर स्टोरका सञ्चालक मीनबहादुर गुरुङ, शिक्षा, स्वास्थ्य र जलविद्युत् क्षेत्रमा लगानी गरेको व्यवसायी उमेश श्रेष्ठ, पूर्वाधार क्षेत्रमा काम गरिरहेका रामकृष्ण खतिवडा, पूर्वबैंकर किरणकुमार श्रेष्ठ र ऊर्जा व्यवसायी राजेश श्रेष्ठको लगानी छ। उक्त उद्योगमा भाटभटेनीका सञ्चालक गुरुङ र शिक्षा क्षेत्रका व्यवसायी उमेश श्रेष्ठको मुख्य लगानी छ।

गार्मेन्ट गियरबाट उत्पादन भएका सामग्री नेपालमा भाटभेटनीमार्फत बजारमा लैजाने योजना छ। त्यसबाहेक, भारत, अमेरिका र युरोपका देशमा तयारी पोसाक निर्यात गर्ने योजना रहेको खतिवडाले बताए।‘यो बाइ-ब्याक ग्यारेन्टी भएको उद्योग हो। उत्पादन भएका तयारी पोसाकमध्ये ४० प्रतिशत नेपाली बजारमा र ६० प्रतिशत विदेशी बजारमा लैजाने योजना छ,’उनले भने।

उद्योग निर्माण तथा सञ्चालनका लागि कम्पनीले दीर्घकालीन र अल्पकालीन गरी कुल १ अर्ब ३० करोड रुपैयाँ बराबरको बैंकिङ कर्जा सुविधाको रेटिङ गराएको छ। जसमध्ये ८० करोड रुपैयाँ दीर्घकालीन र ५० करोड रुपैयाँ अल्पकालीन कर्जा सुविधा हुने गरी रेटिङ गराएको छ।

पूर्ण सञ्चालनमा आएपछि उद्योगले वार्षिक करिब ५७ लाख ६० हजार थान विभिन्न प्रकारका तयारी पोसाक उत्पादन गर्ने लक्ष्य राखेको छ। उद्योगले मुख्य रूपमा डेनिम बटम, लेगिङ, जेगिङ, ट्रेगिङ, प्यान्ट, सर्ट तथा निटवेयर उत्पादन गर्नेछ।

Logo