‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’को लागि आवेदन आह्वान

‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’को लागि आवेदन आह्वान

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । २०२६ नेपाली सूचना प्रविधि क्षेत्र र यहाँका नवप्रवर्तनकारी उत्पादनहरूलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गराउने उद्देश्यका साथ प्रतिष्ठित ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’को लागि आवेदन आह्वान गरिएको छ ।

एसियन-ओशिनियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसनद्वारा आयोजना गरिने यस अवार्डमा नेपालको तर्फबाट डिजिटल अर्थतन्त्र र आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याइरहेका कम्पनी तथा संस्थाहरूले प्रतिस्पर्धा गर्न सक्नेछन् ।
यस वर्षको मुख्य थिम “नेपाली टेक उद्यमी अवसर: आफ्ना उत्पादन र सेवाहरूलाई विश्वव्यापी रूपमा प्रदर्शन गर्नुहोस् र एसोसियो डिजिटल एआई अवार्ड २०२६ प्राप्त गर्नुहोस्” रहेको छ ।

अवार्डबारे चर्चा गर्दै एसोसियोका उपाध्यक्ष नवराज कुँवरले भने, “यो नेपाली प्रविधि उद्यमीहरूका लागि आफ्ना उत्पादन र सेवाहरूको गुणस्तर तथा सान्दर्भिकतालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रमाणित गर्ने र प्रतिष्ठित वैश्विक अवार्ड हात पार्ने एउटा ऐतिहासिक अवसर हो ।”

त्यसैगरी, क्यान महासंघका कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीले सम्पूर्ण नेपाली प्रविधि कम्पनी, स्टार्टअप र सरोकारवालाहरूलाई आफ्नो संस्थागत प्रोफाइल दर्ता गर्न आग्रह गरेका छन‍् । उनले थपे, “यो मञ्च नेपाली समाज र समुदायमा स्थानीय प्रविधिले पारेको सकारात्मक प्रभावलाई विश्वसामु उजागर गर्ने र नेपाली प्राविधिक प्रतिभाको वैश्विक क्षमता प्रदर्शन गर्ने विशिष्ट माध्यम हो ।”

नेपाली प्रविधि कम्पनीहरूलाई प्रोत्साहन र सशक्तिकरण गर्न क्यान महासंघले सधैँ अग्रणी भूमिका खेल्दै आएको परिप्रेक्ष्यमा क्यान महासंघका महासचिव चन्द्रविलास भुर्तेलले यस प्रक्रियालाई थप सहज र प्रभावकारी बनाउन महासंघले पूर्ण रूपमा सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

अवार्डका विधाहरू
यस वर्ष आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोगमार्फत विभिन्न क्षेत्रमा रूपान्तरण ल्याउने उत्कृष्ट पहलहरूलाई निम्न ८ विधाहरूमा पुरस्कृत गरिनेछ:

१.⁠ ⁠एआई इन साइबर सेक्युरिटी अवार्ड: साइबर सुरक्षा, डिजिटल प्रतिरोध क्षमता र इमर्जिङ थ्रेटहरू विरुद्ध एआईको प्रयोग गर्ने संस्थाहरूका लागि ।
२.⁠ ⁠एआई फर पब्लिक गुड अवार्ड: सामाजिक, वातावरणीय र दिगो विकास लक्ष्य (SDGs) हासिल गर्न एआई प्रयोग गर्ने पहलहरू ।
३.⁠ ⁠एआई इन एजुकेसन अवार्ड: शैक्षिक पारिस्थितिकी प्रणाली र सिकाइको गुणस्तर सुधार गर्ने प्रविधि ।
४.⁠ ⁠एआई इन हेल्थकेयर अवार्ड: स्वास्थ्य सेवा प्रवाह र क्लिनिकल परिणाममा सुधार ल्याउने एआई समाधान ।
५.⁠ ⁠एआई इन स्मार्ट एग्रिकल्चर अवार्ड: कृषि उत्पादकत्व र किसानहरूको आर्थिक सबलीकरणमा योगदान पुर्‍याउने नवप्रवर्तन ।
६.⁠ ⁠एआई इन फाइनान्सियल सर्भिसेज अवार्ड: बैंकिङ, फिन्टेक र बिमा क्षेत्रमा सुरक्षित र समावेशी वित्तीय रूपान्तरण ।
७.⁠ ⁠एआई इन वर्कफोर्स एन्ड फ्युचर स्किल्स अवार्ड: डिजिटल अपस्किलिङ र भविष्यको डिजिटल अर्थतन्त्रका लागि जनशक्ति तयार गर्ने पहल ।
८.⁠ ⁠एआई इन म्यान्युफ्याक्चरिङ / सप्लाइ चेन अवार्ड: औद्योगिक उत्पादन र ढुवानी प्रक्रियालाई एआईमार्फत चुस्त बनाउने समाधान ।

आवश्यकता: प्रस्तावित एआई समाधान कम्तीमा ‘पाइलट चरण’मा कार्यान्वयन भएको हुनुपर्नेछ र विगत २४ महिनाभित्र स्पष्ट नतिजा देखाएको हुनुपर्नेछ । एक आवेदकले मात्र एक विधामा आवेदन दिन सक्नेछन् ।

Logo