कैलाली ।
काठमाडौंबाट नेपालको सुदूरपश्चिम अर्थात् धनगढी पुग्दा धेरैजसो उद्योगी व्यवसायीको एउटै गुनासो थियोः “हामीले धेरै व्यक्तिलाई भोट दिएर नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष बनायौं तर आफ्ना समस्या सम्बोधन गर्ने नेतृत्व पाएनौं ।” तर धनगढी एयरपोर्टमा नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल, जिल्ला नगरतर्फका उपाध्यक्षका उम्मेदवार गुणनिधी तिवारी र महासंघका पूर्व अध्यक्ष एवं विशिष्ट सदस्य चण्डीराज ढकाल विमानस्थलमा ओर्लिदा, त्यस क्षेत्रका उद्योगी व्यवसायीहरु उत्साहित भएका थिए ।
ढकाल प्यानलको चुनावी कार्यक्रमस्थल होटल फ्लोरामा सयौं उद्योगी व्यवसायी उपस्थित भएका थिए । सुदूरपश्चिम प्रदेशका सबैजसो जिल्ला अध्यक्षले एकै स्वरमा भने “हामीले डेढ दशकपछि साना, मझौला तथा जिल्लाका उद्योगी व्यवसायीका समस्या सम्बोधन गर्ने व्यक्ति पाएका छौं, त्यसले आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल र जिल्ला नगरतर्फका उपाध्यक्ष गुणनिधी तिवारीलाई जिताउनुको विकल्प छैन ।”
कैलालीको धनगढीमा आयोजित कार्यक्रममा ३० भन्दा बढी जिल्लाका नगर अध्यक्षहरुले समर्थन गर्दै जिल्ला नगरका उद्योगी व्यवसायीका समस्या समाधानका निमित्त पनि अबको निर्वाचनमा चन्द्रप्रसाद ढकाल प्यानललाई मतदान गरी जिताउनुको विकल्प नरहेको बताए । उनीहरुले महासंघका आफ्ना साथीहरु कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र अधिकारी र महासंघका केन्द्रिय सदस्य किशोर आचार्यको सवारी दुर्घटना पश्चात ढकालले दिनरात खटिएर गरेको उद्धारको प्रशंसा गर्दै अबका दिनमा जिल्लानगरका समस्या सम्बोधनका लागि पनि ढकाल प्यानललाई जिताउनुको विकल्प नरहेको बताएका थिए ।
चुनावी कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष शंकर बोगटीले जिल्ला नगरका समस्या संबोधनका लागि वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकाल प्यानललाई निर्विकल्प जिताउनु पर्ने बताए । ‘अहिले केही साथीहरु महासंघभित्र शुद्धीकरण र शुदृढीकरण जस्ता नारा लिएर चुनावी मैदानमा होमिएका छन्,’ उनले अहिलेका महासंघका नेतृत्वप्रति इंगित गर्दै भने, “आफू अशुद्ध हुने जिल्लानगरका साथीहरुलाई समस्या पर्दा फोन नउठाउने, स्वीच अफ गर्ने अनि अहिले शुद्धीकरणको नारा लिएर हिड्ने ?”
कार्यक्रममा उपस्थित ३० भन्दा बढीका जिल्ला नगरका अध्यक्षहरुले आफ्ना हकहितका लागि पनि अबका दिनमा जिल्ला नगरका साना उद्योग व्यवसायदेखि ठूला कर्पोरेट हाउससम्म सफलतापूर्वक संचालन गर्दै आएको र सरकारसँग आफ्ना समस्या समाधानका लागि पनि उत्तिकै लविङ गर्न सक्ने वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकाल र जिल्लाका हरेक समस्यासँग जुध्दै आएका जिल्ला नगरतर्फका उपाध्यक्षका उम्मेदवार गुणनिधी तिवारीलाई जिताउनुको विकल्प नरहको भन्दै सबैलाई उनीहरुको पक्षमा मतदान गर्न आग्रह गरेका थिए ।
कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकालले महासंघको नेतृत्व लिने व्यक्ति स्टेक होल्डर हुनुपर्ने र आफू त्यसको लागि तयार रहेको बताए ।





























प्रतिक्रिया