२६ लाख घरायसी ग्राहक तिर्नेछन् विजुली भ्याट

२६ लाख घरायसी ग्राहक तिर्नेछन् विजुली भ्याट

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको तथ्यांक अनुसार आगामी आर्थिक वर्षदेखि बिजुलीमा लागू हुने मूल्य अभिवृद्धि कर (भ्याट) को मारमा २६ लाख घरायसी ग्राहक पर्ने भएका छन्। आर्थिक वर्ष २०८३/८४ को बजेटमा ५० युनिटभन्दा बढी बिजुली खपत गर्ने ग्राहकलाई पाँच प्रतिशत भ्याट लागू गर्ने उल्लेख छ।

२० युनिटसम्म खपत गर्ने ग्राहक १९ लाख ९८ हजार, २१ देखि ३० युनिट खपत गर्ने ४ लाख २१ हजार र ३१ देखि ५० युनिटसम्म खपत गर्ने ६ लाख १५ हजार छन्,’ प्राधिकरणका प्रवक्ता राजन ढकालले भने, ‘५१ देखि १ सय युनिट खपत गर्ने ग्राहक १० लाख ७५ हजार छन्, १ सय १ देखि २ सय ५० युनिटसम्मका ग्राहक १० लाख ८९ हजार छन् । २ सय ५० युनिटभन्दा बढी खपत गर्ने ग्राहक ४ लाख ४२ हजार छन्।’

उल्लिखित तथ्यांक घरायसी ग्राहकको मात्रै रहेको र यसमा सामुदायिक, औद्योगिकलगायत ग्राहकको संख्या नसमेटिएको ढकालले बताए । यता अर्थमन्त्री स्वर्णिम वाग्ले भने बिजुलीमा लागेको करको भार आम नागरिकलाई अत्यन्तै कम पर्ने तर यसले देशको ऊर्जा पूर्वाधार निर्माणका लागि आवश्यक स्रोत जुटाउन सघाउने दाबी गर्छन् । १४ लाख ग्राहकलाई मात्र नयाँ व्यवस्थाअनुसार भ्याट लाग्ने उनको टिप्पणी छ।

‘हाम्रो अनुमानमा नेपालमा ५१ देखि १ सय ५० युनिटसम्म बिजुली खपत गर्ने करिब १२ लाख घरधुरी छन् । ५ प्रतिशत भ्याटले उनीहरूलाई मासिक २४ रुपैयाँसम्म मात्र अतिरिक्त भार पर्छ । १ सय ५१ देखि २ सय ५० युनिट बिजुली उपयोग गर्ने घरधुरी २ लाख मात्र छन्, उनीहरूले एसी र ईभी फास्ट चार्ज जस्ता सुविधा प्रयोग गर्छन्। भ्याटले उनीहरूलाई २५ देखि १ सय २ रुपैयाँ मात्र अतिरिक्त भार पर्ने हो,’ आइतबार आयोजित पत्रकार सम्मेलनमा वाग्लेले भनेका थिए।

भ्याट १ साउनदेखि लागू हुनेछ । ५० युनिटभन्दा बढी बिजुली खपत गर्ने उपभोक्तालाई लगाइएको ५ प्रतिशत भ्याटबाट सरकार पछाडि नहट्ने अर्थमन्त्री वाग्लेले बताए। ‘बिजुलीमा भ्याट आयो, आउँछ। यसबाट सरकार पछाडि हट्दैन,’ मन्त्री वाग्लेले भने। करबाट प्राप्त हुने रकम प्राधिकरणको सेवा सुधार वा पूर्वाधार विस्तारमा खर्च नभई राज्यकोषमा जानेसमेत उनले सुनाए।

Skip This
Skip This
Logo