मोरङमा ५० करोड लगानीमा टायर उद्योग खुल्यो

मोरङमा ५० करोड लगानीमा टायर उद्योग खुल्यो

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, ३ पुस ।

मोरङको कटहरीमा ५० करोडको लगानीमा टायर उद्योग खुलेको छ । नेपालको इमर्जिङ समूह विशाल ग्रुपले अग्रेजी नयाँ वर्ष २०१९ को शुरुवातसँगै उद्योगबाट व्यवसायिक उत्पादन सुरु गर्ने जनाएको छ ।

भारतको फ्युचर ग्रुपसँगको साझेदारीमा ग्रीन टायर प्रालिले नयाँ वर्षमा उत्पादन थाल्ने विनित सिंघानियाँले बताए । उनका अनुसार कटहरीमा तीन बिघा क्षेत्रफलमा फैलिएको उद्योगबाट सुरुमा ट्र्याक्टरको अगाडिको टायरका साथै मोटरसाइकल, स्कुटी र ई–रिक्सा गरी चार प्रकारका टायर उत्पादन गरिने छ ।

तत्काल चार प्रकारका टायरको वार्षिक उत्पादन २ लाख थान हुने सिंघानियाँले बताए । उनका अनुसार पहिलो चरणमा डेल्टा र शेर्पा ब्रान्डका टायर बजारमा आउनेछ ।

उद्योगबाट आगामी पाँच वर्षभित्र ट्रक, बस, जिप, लरी, ट्र्याक्टरको ठूलो टायरलगायत सबै प्रकारका टायरको वार्षिक २० लाख थान उत्पादन गर्ने लक्ष्य राखिएको सिंघानियाँको भनार्इ रहेको छ ।

तत्काल ५० करोडको लगानीमा स्थापना गरिएको उद्योगमा ५ वर्षभित्रै लगानी विस्तार गरेर २ अर्ब ५० करोड पुर्याउने उद्देश्य छ । टायर उद्योगको सम्भावना प्रशस्त रहेको नेपालमा टायरको कुल मागको ९९ प्रतिशत आपूर्ति आयातबाटै गरिन्छ ।

सरकारी स्वामित्वको गोरखकाली रबर उद्योग बन्द भएसँगै ८० प्रतिशत आयात भारतबाट गरिन्छ ।

टायरको आयात गर्दा २० प्रतिशत र कच्चा सामग्रीको १ प्रतिशत भन्सार महसुल रहेको छ ।

नेपालमा मोटर साइकलका टायरको मात्र वार्षिक २४ लाख थान खपत रहेको सिंघानियाँको भनाइ छ ।

Logo