काठमाडौं, २८, मंशिर
नेपाल र भारतको सीमा नदी महाकालीमा निर्माण गर्ने भनिएको पञ्चेश्वर बहुउद्देश्यीय आयोजना निर्माण गर्न नै १३ वर्ष समय लाग्ने एक अध्ययनले देखाएको छ । नेपाल र भारतले संयुक्त रुपमा बनाउने र संयुक्त रुपमा लाभ लिने भनिएको उक्त आयोजनाबाट ६ हजार ४८० मेगावाट विद्युत् उत्पादन हुनुका साथै दुई देशका कृषियोग्य भूमिमा सिँचाइ तथा बाढी नियन्त्रण हुने अपेक्षा गरिएको छ ।
पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाले बुधबार राजधानीमा आयोजना गरेको छलफल कार्यक्रममा परामर्शदाता शाह कन्सल्ट इन्टरनेशनल प्रालिले प्रस्तुत गरेको तथ्यांक अनुसार उक्त आयोजनाबाट वार्षिक १० हजार ६७१ गिगावाट घण्टा ऊर्जा उत्पादन हुनेछ । उक्त विद्युत् उत्पादन पञ्चेश्वर उच्च बाँधको विस्तृत अध्ययन पूरा भएको छ । शाह कन्सल्टले थप २४० मेगावाट जडित क्षमता रहेको प्रस्तावित रुपाली गाड रिरेगुलेटिङ बाँधबारे थप अनुसन्धान गर्न सरकारलाई सुझाव दिएको छ । शाह कन्सल्टका अनुसार सरकारको कमजोरीको कारण उक्त रुपाली गाड रिरेगुलेटिङ बाँधको विकल्पको रुपमा प्रस्तावित पूर्णागिरि रिरेगुलेटिङ बाँधको कार्यान्वयन समेत थप अनिश्चित बनेको छ ।
पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको प्रमुख संरचना भनेको नै पञ्चेश्वर उच्च बाँध हो । यो बाँध ३१५ मिटर अग्लो हुनेछ । यो विश्वकै दोस्रो अग्लो बाँध हुनेछ । ताजिकिस्तानमा निर्माणाधीन अवस्थामा रहेको रोगन बाँध नै विश्वको अग्लो बाँध हो । उक्त बाँधको उचाइ तीन सय ५५ मिटर छ । पञ्चेश्वर बाँध चट्टान र माटो प्रयोग गरी निर्माण गरिने शाह कन्सल्टले जनाएको छ ।
आर्थिक दैनिकबाट





























प्रतिक्रिया