काठमाडौं । जेन-जी आन्दोलनको क्रममा गत भदौं २३ र २४ गतेको प्रदर्शनमा भौतिक संरचनामा भएको क्षतिको बिमा दाबीमध्ये नौ महिनामा साढे २३ अर्ब रुपैयाँ बराबरको परेकामा करिब ७ अर्ब रुपैयाँ मात्र भुक्तानी भएको छ।
बिमा प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार बिमा कम्पनीमा २३ अर्ब ५३ करोड २६ लाख रुपैयाँको दाबी परेको थियो। त्यसमध्ये हालसम्म ७ अर्ब ६२ करोड ४ लाख रुपैयाँ मात्र भुक्तानी भएको छ। यो कुल दाबीको करिब ३२ प्रतिशत मात्र हो। जेन–जी आन्दोलनमा भएको क्षतिमा बिमा कम्पनीहरूमा ३ हजार ६ सय ६४ दाबी परेको छ।
बिमा कम्पनी र नियामक निकाय बिमा प्राधिकरणले हालसम्मको भुक्तानी राम्रो नै भएको दाबी गर्छन्। तर निजी क्षेत्रले भने पर्याप्त भुक्तानी नपाएको गुनासो गरेको छ । सुरुमा प्रायः धेरैले भुक्तानी पाएपछि पछिल्ला महिनामा प्रक्रियागत कारणले केही कम्पनीले दाबी नभएको हुन सक्ने नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले बताए। ‘बिमा कम्पनीहरूले जानाजानी ढिलाइ नगरेका होलान्, तर कागजात नपुगेकोलगायत कारण केही बिमा भुक्तानीमा ढिलाइ भएको जानकारी आएको थियो,’ उनले भने, ‘तर यो प्रक्रियागत कारणले हो। नियतले होइन।’
प्रदर्शनमा भएको क्षतिमा करिब एकचौथाइ बिमा दाबी भुक्तानी भए पनि बाँकी नभएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले बताए। ‘सबै बिमा दाबी नपाए पनि कम्पनीले आफ्नै बलबुताले क्षतिको पुनर्निर्माण गरिरहेका छन्,’ उनले भने।
तर बिमा कम्पनीहरूले सबै कागजात पुगेका र मूल्यांकन सकिएका दाबीको भुक्तानी गरिरहेको जनाएका छन्। ‘ठूलाको मूल्यांकन प्रतिवेदन आउन बाँकी छ। प्रायः सबैले अग्रिम रूपमा केही भुक्तानी पाएका छन्। मूल्यांकनको काम नसकिएकाले ठूला दाबीमा सबै भुक्तानी नभएको हो,’ नेपाल बिमक संघका पूर्वअध्यक्ष चंकी क्षेत्रीले भने। ‘हालसम्मको भुक्तानी निकै राम्रो हो। किनकि साढे २३ अर्बको दाबी परे पनि यथार्थमा यो बढीमा १४/१५ अर्ब मात्र हुन आउँछ,’ क्षेत्रीले भने । ‘
भुक्तानी भएकामध्ये पनि धेरै रकम पेस्कीबापत दिइएको बिमा कम्पनीले बताएका छन्। उनीहरूका अनुसार पूर्ण क्षति भएका सवारीसाधनलगायत सम्पत्तिको बिमा भुक्तानी गर्न समय नलागे पनि ठूला क्षतिमा मूल्यांकन (सर्भेयर) को प्रतिवेदन आउन समय लाग्ने भएकाले भुक्तानी रकम धेरै नदेखिएको हो।
नियामक निकाय बिमा प्राधिकरणले पनि हालसम्मको भुक्तानी सन्तोषजनक मान्नुपर्ने जनाएको छ। होटल हिल्टन, भाटभटेनीलगायत केही ठूला क्षति सम्बन्धमा सर्भेयरले प्रतिवेदन दिइसकेको छैन। केही कम्पनीको दाबीमा विवाद सिर्जना भएकाले भुक्तानी कम देखिएको प्राधिकरणका एक उच्च अधिकारीको भनाइ छ।
हालसम्म भएको दाबी भुक्तानीमध्ये सबैभन्दा बढी ५ अर्ब ३१ करोड ६६ लाख रुपैयाँ सम्पत्ति बिमा (घर सम्पत्ति) अन्तर्गतको छ। त्यस्तै मोटर बिमाको २ अर्ब ५ करोड ५ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी भएको छ।
ठेकेदार तथा इन्जिनियरिङ बिमामा १३ करोड ९९ लाख, पारवहन बिमामा १ करोड ७० लाख र अन्य बिमामा ९ करोड ४१ लाख रुपैयाँ बराबरको भुक्तानी भएको छ। प्रदर्शनमा भौतिक संरचनामा भएको क्षतिको बिमा दाबीमध्ये करिब ७० प्रतिशत सम्पत्ति बिमाको छ। प्रादेशिक रूपमा हेर्दा सबैभन्दा धेरै क्षति बागमतीमा रहेको देखिएको छ।





























प्रतिक्रिया