काठमाडौंमा अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी हुँदै, स्टल बुकिङ खुला

काठमाडौंमा अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी हुँदै, स्टल बुकिङ खुला

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपालको कृषि क्षेत्रलाई आधुनिकीकरण, यान्त्रीकरण र व्यवसायीकरण गर्ने उद्देश्यका साथ आगामी मंसिरमा काठमाडौंमा ‘अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०८३’ आयोजना हुने भएको छ ।

प्रदर्शनीका लागि साउन १ गतेदेखि स्टल बुकिङ पनि खुला गरिएको आयोजकले जनाएको छ । ‘कृषिमा यन्त्र र प्रविधिः कृषक र राष्ट्रको समृद्धि’ भन्ने मूल नारासहित आगामी मंसिर ४, ५ र ६ गते भृकुटीमण्डपमा प्रदर्शनी आयोजना हुनेछ ।

नेपाल सरकारको कृषि, वन तथा वातावरण मन्त्रालयअन्तर्गत कृषि विभागको कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्र र नेपाल कृषि मेशिनरी व्यवसायी संघको संयुक्त आयोजनामा प्रदर्शनी हुन लागेको हो ।

नेपाल कृषि मेशिनरी व्यवसायी संघका उपाध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुनिता नेमाफुकीका अनुसार प्रदर्शनीमा एक सयभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रदर्शक सहभागी हुनेछन् । दुई सयभन्दा बढी स्टल रहने प्रदर्शनीमा विश्वका करिब १० देशका २ हजारभन्दा बढी प्रकारका आधुनिक कृषि औजार, उपकरण, मेसिन तथा नवीनतम प्रविधि प्रदर्शन गरिनेछ ।

उनका अनुसार संघका सदस्यका साथै ‘मेड इन नेपाल’ र ‘मेक इन नेपाल’ अन्तर्गतका स्वदेशी कम्पनीलाई स्टलमा विशेष छुटको व्यवस्था गरिएको छ ।

प्रदर्शनीमा कृषक, उद्यमी तथा सर्वसाधारणका लागि प्रवेश निःशुल्क हुनेछ । आधुनिक कृषि, पशुपन्छीपालन, मत्स्यपालन, पुष्पखेती, व्यावसायिक तरकारी खेती, आधुनिक सिँचाइ प्रणाली, पोस्ट–हार्भेस्ट प्रविधि, कृषि उपज प्रशोधन तथा बजारीकरणसँग सम्बन्धित अत्याधुनिक यन्त्र–उपकरणका साथै उन्नत बीउबिजन पनि प्रदर्शनीमा राखिने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार प्रदर्शनीको उद्देश्य कृषक, कृषि उद्यमी, उपभोक्ता तथा नीति निर्मातालाई नवीनतम कृषि प्रविधिबारे जानकारी गराउनु, कृषि यन्त्रको प्रयोग र बजार प्रवद्र्धन गर्नु, व्यवसायी र उपभोक्ताबीच प्रत्यक्ष सम्पर्क स्थापित गर्नु तथा कृषि क्षेत्रमा नयाँ लगानी आकर्षित गर्नु हो ।

संघले यसअघि पाँच वटा राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी, एक प्रादेशिक प्रदर्शनी र एक अन्तर्राष्ट्रिय एग्रीटेक प्रदर्शनी सफलतापूर्वक आयोजना गरिसकेको छ । यसपटकको अन्तर्राष्ट्रिय संस्करण अझ बृहत् र प्रविधिमैत्री हुने आयोजकको विश्वास छ । प्रदर्शनीमा कृषक, कृषि सहकारी, कृषि उद्यमी, विद्यार्थी, शिक्षक, अनुसन्धानकर्ता, वैज्ञानिक तथा नीति निर्माताको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ ।

Logo