काठमाडौं, २९ भदौ ।
लगातार ओरालो लाग्दै आएको शेयर बजार आज दोहोरो अंकले उकालो लागेको छ ।
धितोपत्र बजारमा लगानी गर्नेहरु मनोवैज्ञानिक रुपमा लगानी गर्न हच्किएपछि बजार लगातार ओरालो लाग्दै आएको थियो । नेपाल स्टक एक्स्चेन्जकाअनुसार बजार ३७।११ अंकले बढेर एक हजार ५३० बिन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्ससमेत ७।४१ बिन्दुले बढेको छ ।
कूल १६१ कम्पनीको ११ लाख ७० हजार ७२ कित्ता शेयर रु ६३ करोड ५० लाख पाँच हजार ३५३ बराबरमा खरिद बिक्री भएको छ । नेप्से परिसूचक कोर्ष करेक्सनमा लागेको र आज बजार वृद्धि भएको बताइन्छ । धेरै कम्पनीले बोनस तथा नगद लाभांश वितरण गरिरहँदासमेत बजार ओरालो लागेपछि धितोपत्र बजारमा निराशा छाएको थियो । नेपाल इन्भेस्टर्स फोरमले भने लगानीकर्तालाई संयम हुन र नआत्तिन आग्रह गरेको थियो ।
नेपाल स्टक एक्स्चेन्जकाअनुसार आज अधिकांश समूहको शेयर मूल्य बढेको छ । बैंकिङ ३६।९७, व्यापार १७।१४, होटल ४३।६, विकास बैंक २३।९१, जलविद्युत् १५।०२, फाइनान्स २६।३९, बीमा २४९।०८, उत्पादन ३४।११ र अन्य समूह १०।१४ बिन्दुले बढेको छ । रासस





























प्रतिक्रिया