पछिल्लो समय नेपालमा राजनीतिक अस्थिरता देखा परेको छ । जसका कारण राजनीतिक पार्टी र सरकार विभिन्न आमसभा र राजनीतिक कार्यक्रममा व्यस्त छन् । सरकार यस्ता काममा व्यस्त हुँदा बजारमा उपभोक्ताको भान्सामा प्रयोग हुने खाद्यवस्तु, खानेतेल, चिनी, खासीको मासु, हरियो तरकारी लगायत गेडागुडीको समेत अत्याधिकरुपमा मूल्यवृद्धि भएको छ भने एक सातादेखि खाद्यान्न तथा तेलहनको मूल्यमा कुनै फेरबदल नभइ स्थिर रहेको छ ।
बजारमा करिव ६ महिना अघिदेखि खानेतेलको मूल्यमा अत्याधिक उतारचढाव आएको छ । यो अहिले पनि रोकिएको छैन भने खानेतेल लगायत अन्य चिनी, तरकारी, गुडागुडीको समेत मूल्यवृद्धि हुन सुरु भएको छ । भान्सामा प्रयोग हुने वस्तुहरुको मूल्यवृद्धि भएकाले उपभोक्ताहरुले आफूहरु मारमा परेको गुनासो गर्न थालेका छन् ।
पछिल्लो समय कोरोनाको बाहाना बनाउँदै मूल्य बढाउने प्रवृत्ति बढेको छ । नेपालमा जहिले जहिले संकट पर्छ, वस्तुको अभाव हुन्छ, महाविपति आउँछ । तबतब बजारमा खाद्यवस्तुदेखि उपभोक्ताको भान्सामा प्रयोग हुने वस्तुको मूल्य बढ्ने संस्कारको विकास नै भएको छ । यता व्यवसायीहरुले दुःख र अप्ठ्यारोलाई कमाउने अवसरको रुपमा पनि लिने गरेका कारण मूल्यवृद्धि हुने गरेको छ ।
चिनीको मूल्य प्रतिकेजी १५ रुपैयाँले वृद्धि
६ महिनासम्म स्थिर रहेको चिनीको मूल्य पुनः वृद्धि हुन थालेको छ । गत असोज महिनामा बजारमा चिनीको अभाव भएको भन्दै व्यवसायीहरुले प्रतिकेजी २५ रुपैंयाँसम्म मूल्यवृद्धि गराएका थिए । तर सरकारले चिनी आयात गरेसँगै बजारमा चिनीको मूल्यमा गिरावट आएको थियो ।
अहिले फेरि नेपाल साल्ट ट्रेडिङ कर्पोरेशनमा मौज्दात रहेको चिनी सकिनै लाग्दा बजारमा मूल्य बढाएको व्यवसायीहरुले बताउन थालेका छन् । साल्ट ट्रेडिङले दशैं अघि चिनी मौज्दात सकिएर २० हजार मेट्रिक टन आयात गरेको थियो । अहिले उक्त चिनीको मौज्दात सकिएर करिब १ हजार मेट्रिक टन मात्रै बाँकी रहेको साल्ट ट्रेडिङका प्रवक्ता कुमारराज भण्डारीले बताए ।
उनका अनुसार साल्ट ट्रेडिङले अर्थ मन्त्रालयमा दशैं अघि नै ३० हजार मेट्रिक टन चिनी आयातको लागि निवेदन पेश गरेको तर ४ महिना बितिसक्न लाग्दा पनि अहिलेसम्म स्वीकृत भएको छैन । सरकारले चिनी आयात गर्न स्वीकृत नदिँदा अहिले मौज्दात रहेको चिनीले बजारको मागलाई धान्न नसक्ने उनको भनाइ छ । बजारमा प्रतिकेजी ७८ रुपैयाँदेखि ८२ रुपैयाँसम्म बिक्री गर्दै आएको थियो । अहिले होलसेलदेखि खुद्रा पसलका व्यापारीहरूले ९० देखि ९५ रुपैंयाँमा बिक्री गरिरहेका छन् ।
त्यस्तै बजारमा चिनीको मूल्य बढीरहँदा यता चिनी उद्योगीले उत्पादन नै नभएको चिनीमा २ रुपैयाँ बढाएका छन् । सरकारले उखुको सर्मथन मूल्य ८ रुपैयाँले बढाएको मौकामा उद्यागीले उत्पादन नै नगरि २ रुपैयाँ बढाएका हुन् ।
केराउमा २० रुपैयाँले मूल्यवृद्धि
पछिल्ला केही दिनदेखि बजारमा गेडागुडीको पनि मूल्यवृद्धि भएको छ । उद्योगी व्यवसायीहरुले खानेतेल, खाद्यान्न लगायतका वस्तुको मूल्यवृद्धि गराउँदै आएकोमा गेडागुडी आइटम केराउको मूल्य पनि वृद्धि गराएका छन् । एक साता अघि ९० रुपंैयाँमा पाइने सेतो केराउ अहिले बढेर १०० देखि ११० पुगेको छ । त्यस्तै एक साता अघि ११० देखि १३० मा पाइने हरियो केराउ १४० देखि १५० रुपैयाँ पुगेको खुद्रा व्यापार संघले जनाएको छ ।
एक सातादेखि हरियो तरकारीको मूल्य अस्वाभाविकरुपमा वृद्धि
पछिल्लो एक सातादेखि नेपाली बजारमा हरियो तरकारीको मूल्य अस्वाभाविकरुपमा वृद्धि भएको छ । बजारमा पाइने प्रमुख हरियो तरकारीहरु प्याज, काउली, घिउसिमी, आलु तथा गालेभेडाको मूल्य बढेको कालिमाटी तरकारी बजार व्यवस्थापन विकास समितिले जनाएको छ । समितिका अनुसार हरियो तरकारीको मूल्य एक सातामा ३० रुपैयाँ भन्दा बढीले महँगो भएको छ ।
एक साता अवधिमा तराईको काउली प्रतिकेजी ३० देखि ४० रुपैयाँ रहेकोमा १० रुपैयाँसम्म बढेर ५० रुपैयाँ पुगेको छ । त्यस्तै, स्थानीय काउलीमा ३० रुपैयाँले बृद्धि भएर ८० रुपैयाँसम्म पुगेको छ । त्यस्तै सिमी प्रतिकेजी १०० रुपैयाँसम्म रहेकोमा ३० रुपैंयाँले बढेर १३० रुपैयाँसम्म पुगेको छ भने प्याजको मूल्य पनि १५ रुपैयाँले बढेर ८० रुपैयासम्म पुगेको कालिमाटी विकास समितिले जनाएको छ ।
कुखुराको मासु २५ रुपैंयाँले सस्तो हुँदा खसीको १०० ले वृद्धि
पछिल्लो एक सातादेखि नेपालमा पनि बर्डफ्लुको संक्रमण देखा परेका कारण बोईलर कुखुराको मासुको मूल्य २५ रुपंैयाँ सस्तो भएको छ । गत साता ३६५ रुपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको कुखुराको मासु अहिले बजारमा ३४० रुपैंयाँमा आएको छ । कुखुराको मासु वर्डफ्लुको त्रासले खपत घट्दै जाँदा मूल्यमा गिरावट आएको छ । तर यता खसीको मासुको मूल्य भने एक सय रुपैंयाँले वृद्धि भएको छ । कुखुराको मासु खपत कम हुँदा खसीको मासुको बिक्री बढेसँगै यसको मूल्य बढेको देखिन्छ ।
मूल्यवृद्धिका विषयमा के भन्छन् उपभोक्ताकर्मीहरु ?
पछिल्लो समय सरकार नै सडकमा आमसभा र राजनीतिक कार्यक्रममा व्यस्त रहेकाले बजारमा सरकारको उपस्थिती अत्यन्तै कमजोर भएको छ । जसले बजार पनि अराजकतातिर लागेकाले बजार मूल्य आकाशिएको उपभोक्ता संरक्षण मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताए । उनका अनुसार राजनीतिक पार्टीहरुले सडक आन्दोलन तथा आमसभा गर्ने नाममा व्यापारीहरुसँग चन्दा उठाउँदा यसको असर बजार मूल्यमा परेको छ ।
उनले भने, ‘अहिले बजारमा कुनै पनि वस्तुको बजारमा मूल्यवृद्धि हुनमा कुनै पनि कारण छैन । सरकारको नियमनकारी निकाय मौन बस्नु हो ।’ बजारमा वस्तुको अभाव तथा आपूर्तिमा समस्या आयो भन्दैमा उद्योगी व्यवसायीहरुले मूल्यवृद्धि गर्नु भनेको सिधै ठगी गरेको उनको भनाइ छ । त्यस्तै, उपभोक्ता अनुसन्धान अधिकार मञ्चका अध्यक्ष माधव तिमल्सिनाले यस अघि कोरोना महामारीको बाहानामा मूल्य बढ्ने गरेको तर अहिले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको भन्दै मूल्य बढाउन थालिएको बताए ।
उनका अनुसार सरकारका बजार नियमनकारी निकायले नै अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले नेपालमा पनि बढेको भन्दै कालोबजारी तथा मूल्य बढाउने व्यवसायीलाई उन्मुक्ति दिने गरेको छ । उनले भने, ‘सरकारको कमजोरीका कारणले पनि बजारमा मनलाग्दीरुपमा वस्तुहरुको मूल्यवृद्धि भएको हो ।’ अहिले व्यवसायीहरुले बजारमा फलामे छड, गिट्टी बालुवा, सिमेण्ट, चिनी, खानेतेल, तरकारीको मूल्य बिना कारण बढाएको हुनाले सरकारले अध्ययन गरि कारबाही गर्नुपर्ने उनको भनाइ छ ।
बजार अनुगमन गर्न नियमनकारी निकाय मौन बसेको हो त ?
अनुगमन तथा नियन्त्रण गर्ने जिम्मेवारी पाएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई पछिल्लो समय तिव्रताका साथ अझ नयाँ ढंगले अगाडि बढाएको विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले जानकारी दिए । उनले अहिले बाहिर समाचार आए जस्तो बजेटको अभावमा अनुगमन गर्ने कार्य नरोकिएको पनि बताए । बन्द हड्तालको दिन र प्रधानमन्त्री केपी ओलीले आयोजना गरेको आमसभाको दिन मात्रै अनुगमन नभएको उनले बताए ।
विभागले बजारमा भएको मूल्यवृद्धि नियन्त्रणका लागि अहिले पनि दैनिक ५ टोली बनाएर अनुगमनलाई तिव्रता दिइरहेको छ । अझ थप बनाउँदै जाने तयारीमा विभाग रहेकोे उनले बताए ।





























प्रतिक्रिया