कृषिमा विदेशी लगानी भित्र्याउने सरकारको निर्णयप्रति उद्योगी र किसानद्वारा धर्नासहित प्रदर्शन

कृषिमा विदेशी लगानी भित्र्याउने सरकारको निर्णयप्रति उद्योगी र किसानद्वारा धर्नासहित प्रदर्शन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सरकारले चोरबाटोबाट कृषिमा विदेशी लगानी भित्र्याउन अध्यादेश मार्फत ऐन संशोधन गरेसँगै उद्योगी तथा किसानहरु निरन्तर आन्दोलनरत रहेका छन् । सरकारको कृषिमा विदेशी लगानी भित्र्याउने निर्णयविरुद्ध कृषिसँग सम्बन्धित १५ वटा भन्दा बढी संघ संस्थाहरुले बानेश्वर चोकमा बुधबार धर्नासहित प्रदर्शन गरेका हुन्।

मन्त्रिपरिषद्को निर्णय लगत्तै संगठित भएर संयुक्त संघर्ष समितिको अगुवाइमा भएको आन्दोलनमा सहभागीले कृषिमा विदेशी लगानी भित्र्याउने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् ।

धर्ना तथा बिरोध सभालाई सम्बोधन गर्दै संघर्ष समितका संयोजक शिवराम केसीले सरकारले विदेशीलाई काखा नेपाली किसानलाई पाखा लगाएको आरोप लगाएका छन् । उनले विदेशी कमिसनको खेलको लागि कृषिमा विदेशी लगानी भित्र्याउन चोरबाटोबाट कृषि मन्त्रालयलाई समेत थाहा नदिइ उद्योग मन्त्रालयमार्फत निर्णय गरेको बताए ।

करोडौं कमिसनका लागि ६५ प्रतिशत कृषिमा आश्रित जनता मारेकाले ऐन लागू हुन नदिने र यसको प्रतिरोध गर्ने संयोजक केसीको भनाइ । सभामा बोल्दै कृषि उद्यमी अरनिको राजभण्डारीले चोरबाटोबाट कृषिमा विदेशी लगानी भित्र्याउने निर्णय फिर्ता लिन माग गरेका छन् । सरकारले माग पूरा नगरे आन्दोलन थप सशक्त बनाउने उनले चेतावनी दिए ।

त्यस्तै, कृषि उद्यमी सुमित केडियाले सरकारीले तत्काल निर्णय नसच्याए सडक संघर्ष चर्काउने चेतावनी दिए । सरकारले पुष २० गते राजपत्रमा सूचना जारी गर्दै वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐनको अनुसूची संशोधन गरेर कृषिको प्राथमिक क्षेत्रमा विदेशी लगानी भित्र्याउने निर्णय गरेको थियो ।

Logo