अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७८/७९ को बजेट निर्माणका लागि गृहकार्य शुरु गरेको छ । यसैक्रममा अर्थ मन्त्रालयले बुधबार पूर्व अर्थसचिवहरुसँग छलफल कार्यक्रम आयोजना समेत गरेको छ । छलफलमा पूर्व अर्थसचिवहरुले कोभिड–१९ महामारीको कारणबाट अप्ठ्यारो स्थितिमा पुगेको अर्थतन्त्रलाई पुनर्उत्थान गर्ने गरी आगामी आर्थिक बर्षको बजेटलाई केन्द्रित गर्न सुझाव दिएका छन् । उनीहरुले स्वास्थ्य क्षेत्रको पूर्वाधार विस्तार एवं क्षमता विकासलाई पनि विशेष जोड दिन आग्रह गरेका छन् ।
पूर्व मूख्य सचिव तथा अर्थ सचिव डा. विमल कोइरालाले कोभिड–१९ र निर्वाचनको घोषणाले आगामी आर्थिक बर्षको बजेट निर्माणमा नयाँ चुनौती थप गरेको उल्लेख गरे । छलफलका क्रममा उनले बजेट निर्माण गर्दा आर्थिक परिसूचकहरु र विभिन्न प्राविधिक विषयहरुको अतिरिक्त अर्थ राजनीतिलाई समेत ध्यान दिन उपयुक्त हुने सुझाव दिएका छन् । यसो गर्न सकिएमा मात्र अर्थतन्त्रको पुनस्र्थापना एवं विकास दीगोरुपमा गर्न सकिने डा. कोइरालाको भनाइ छ ।
त्यस्तै, पूर्वमन्त्री एवं अर्थसचिव विद्याधर मल्लिकले विकासलाई केही आर्थिक परिसूचकमा सिमित राख्नुभन्दा समग्रतामा हेर्नु पर्ने आवश्यकता औंल्याएका छन् । उनले निजी लगानी विस्तारका आवश्यक वातावरण श्रृजना गर्ने तथा अर्थतन्त्रमा औद्योगिक क्षेत्रको योगदान बढाउने गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तयार गर्नुपर्ने आवश्यकता औल्याएका हुन् ।





























प्रतिक्रिया