चोरी निकासी बढ्दै गएपछि सीमा क्षेत्रका पम्पले इन्धन बेच्न नपाउने

चोरी निकासी बढ्दै गएपछि सीमा क्षेत्रका पम्पले इन्धन बेच्न नपाउने

केन्द्रबिन्दु
0
Shares

नेपालबाट अवैधरुपमा भारततर्फ पेट्रोलियम पदार्थको चोरी निकासी हुन थालेपछि नेपाल आयल निगमले सीमा क्षेत्रका पेट्रोल पम्पबाट हुने इन्धन बिक्रीमा कडाइ गर्ने भएको छ । 

निगमले शुक्रबार सबै प्रादेशिक कार्यालयलाई परिपत्र गर्दै सीमा नाकामा हुने पेट्रोलियम पदार्थको अपचलन नियन्त्रणको कार्ययोजना कार्यान्वयन गर्न निर्देशन दिएको हो । निगमले बिहीबार इन्धनको अपचलन रोक्न अपनाउनुपर्ने सावधानी र कार्ययोजना स्वीकृत गरेको थियो । 

केही दिनअघि निगमको एक ढुवानीकर्ताले ट्याङ्करको चेम्बर र इन्धन ट्याङ्कीमा एक हजार ३६० लिटर डिजेल भारततर्फ चोरी निकासी गरी लैजाने क्रममा प्रहरीले नियन्त्रणमा लिएको थियो । भारतमा भन्दा नेपालमा पेट्रोलियम पदार्थको मूल्य सस्तो भएसँगै सीमा क्षेत्रबाट इन्धन तस्करी हुँदै आएको अनुमान गरिएको छ । हाल भारतीय सीमा रक्सौलसँग जोडिएको नेपालको वीरगन्ज क्षेत्रमा पेट्रोलमा प्रतिलिटर रु ३५.२९ र डिजेलमा प्रतिलिटर रु ४१.४३ ले नेपालतर्फ सस्तो रहेको छ । 

कार्ययोजनाअनुसार प्रादेशिक कार्यालयहरुले दैनिक न्यूनतम पाँच वटा सीमा नाका क्षेत्रका पेट्रोल पम्पहरुको निरीक्षण गरी आवश्यक विवरण लिनुपर्नेछ । यसरी निरीक्षण गर्दा निगमका कार्यालयले आफ्नो बिक्री क्षेत्रभित्र परेका तथा नेपाल–भारत सीमा नाकादेखि हुलाकी राजमार्गसम्मका पेट्रोल पम्पहरु, हुलाकी राजमार्गमा अवस्थित पेट्रोल पम्पहरु तथा हुलाकी राजमार्गबाट उत्तरतर्फ न्यूनतम् पाँच किलोमिटर क्षेत्रभित्रका पेट्रोल पम्पको बिक्री अनुगमन गर्नुपर्नेछ । 

उक्त क्षेत्रभित्रका बिक्रेताले आफ्नो औसत दैनिक माग महिनाको शुरुमै निगमलाई उपलब्ध गराउनुपर्नेछ । ती बिक्रेताले खुद्रा एवं थोक बिक्रीको परिमाण घोषणा गर्नुपर्ने तथा उक्त विवरण ‘डिस्पेन्सिङ मिटर’ तथा थोक खरिदकर्ताको बिलबिजकबाट पुष्टि हुनुपर्ने निगमले जनाएको छ । डिपोहरुले पम्पको भण्डारण क्षमताभन्दा बढीको तेल एक पटकमा बिक्री गर्न नपाउने, भण्डारण क्षमताभन्दा बढी एक पटकमा बिक्री गर्नु परेमा केन्द्रको अनुमती लिनुपर्ने निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । 

यसैगरी सीमा क्षेत्रका पेट्रोलपम्पले ड्रम, जर्किन तथा अन्य उपकरणमा पेट्रोल, डिजेल बिक्री वितरण गर्न पाउने छैनन् । पानी तान्ने पम्प तथा अन्य कृषि उपकरण र मेशिन सञ्चालन गर्ने प्रयोजनका लािग जर्किनमा बिक्री वितरण गर्नुपर्ने भएमा पेट्रोल पम्पले किसानका लािग आवश्यक मासिक परिमाणको घोषणा गर्नुपर्ने र लगत राखी बिक्री गर्नुपर्नेछ । 

बिक्रेताले उपभोक्ताको इन्धन खरिद विवरण अद्यावधिक राख्नुपर्नेछ । सीमा नाकाका पेट्रोल पम्पलाई मासिक अघिल्लो वर्ष निगमबाट उठाएको परिमाणमा १० प्रतिशत थप गरी मासिक परिमाण उपलब्ध गराउन सकिने निगमले जनाएको छ । 

यसैगरी गाडीको इन्धन ट्याङ्कीमा मात्र इन्धन भर्न पाउने, भारतीय ठूला सवारी साधनलाई इन्धन ट्याङ्कीमा बढीमा १०० लिटर मात्र इन्धन दिने कार्ययोजनामा उल्लेख छ । नेपाल र भारतको मूल्य अन्तरले चोरी निकासी, तस्करी हुन सक्ने भएकाले भारततर्फ जाने ट्याङ्कर, ट्रक, टेलर, ट्र्याक्टरलगायत सवारी साधनको सीमानामा जाँच गर्न स्थानीय प्रहरीसँग अनुरोध गरी जाँच गर्ने व्यवस्था मिलाउने, कुनै बिक्रेताले निगमले दिएको निर्देशन पालना नगरेमा बिक्रेता नियमावलीअनुसार कारबाही हुने पनि निगमले जनाएको छ । 

Skip This
Skip This
Logo