१४ प्रतिशतले बढ्यो नेपालको कुल ग्राहस्थ उत्पादन

१४ प्रतिशतले बढ्यो नेपालको कुल ग्राहस्थ उत्पादन

केन्द्रबिन्दु
0
Shares

केन्द्रीय तथ्यांक विभागले नेपालको कुल ग्राहस्थ उत्पादन (जीडीपी) को आकार १० वर्षमा १४.७ प्रतिशतले बढेको तथ्यांक सार्वजनिक गरेको छ । 

विभागले बिहिबार सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०७६/७७ को अन्त्य सम्ममा नेपालको अर्थतन्त्रको आकार बढेर ३९ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको छ । आधार वर्ष परिवर्तन गर्दै अध्ययन गर्दा सन् २०१०/११ मा उत्पादनमा २०.२७ प्रतिशत, मध्यवर्ति उपभोगमा ३५.४२ प्रतिशत र कुल ग्राहस्थ उत्पादनमा १४.०७ प्रतिशतको वृद्धि देखिएको हो । उक्त परिवर्तनले कुल ग्राहस्थ उत्पादन (जीडीपी) को आकार ३९ खर्व ४३ अर्ब ६६ करोड रुपैयाँ पुगेको देखिन्छ । 

यस्तै मध्यवर्ती उपभोग र उत्पादनको अनुपात सन् २०००÷२००१ को आधार वर्ष अनुसार ३७.१ प्रतिशत रहेकोमा परिवर्तित आधार वर्ष अनुसार अनुपात ४१.८२ प्रतिशत रहेको छ । तथ्यांक सार्वजनिक गर्दै विभागका उपमहानिर्देशक डा.हेमराज रेग्मीले औद्योगिक वर्गीकरण अनुसार कुल ग्राहस्थ्य उत्पादनमा आएको परिवर्तनलाई हेर्दा कृषि, वन तथा माछापालनमा ०.५ प्रतिशत, खानी तथा उत्खननमा २२.५ प्रतिशत, औद्योगिक उत्पादन ४.५ प्रतिशत, विद्युतमा ४६.८ प्रतिशत, निर्माणमा ३.७ प्रतिशत, थोक तथा खुद्राका व्यापारमा २३.१ प्रतिशत बृद्धि भएको बताए ।

अध्ययनको नतिजाअनुसार आवास तथा भोजनालयमा १६.४ प्रतिशत, यातायात तथा सञ्चारमा २.६ प्रतिशत, वित्तिय तथा बीमासम्बन्धि क्रियाकलापमा ३६.८ प्रतिशत, घरजग्गा कारोबारका व्यावसायिक क्रियाकलापहरूमा ५२ प्रतिशत, सार्वजनिक प्रशासन तथा सुरक्षा, अनिवार्य सामाजिक सुरक्षामा १५७.९ प्रतिशत, शिक्षामा ११.२ प्रतिशतको सुधार देखिएको छ । यस्तै मानव स्वास्थ्यमा १.२ प्रतिशत र औद्योगिक वर्गीकरणमा भएका परिवर्तनको कारण कला, मनोरञ्जन तथा अन्य क्रियाकलापहरुमा ८५.८ प्रतिशतले कमी हुने देखिएको छ ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.पुष्पराज कँडेलले रिबेसिङ अध्ययनको नतिजा अनुसार योजना निर्माण र तर्जुमामा दवाव पर्ने बताए । नेपाल सरकारले प्राथमिकता दिएका योजनाहरु पुनरावलोकन गर्ने पनि बताए । पूर्वानुमान अनुसार कोरोनाको असरले बृद्धिदर ठूलो आकारको ऋणात्मकमा जान्छ कि भन्ने डर तथ्यांकले हटाएकोले आगामी वर्षको योजना यसै अनुसार बनाउने बताए । गत वर्षको आर्थिक वृद्धिदर १.९९ प्रतिशत ऋणात्मक, जिडिपिको आकार बढेकोले आत्तिने अवस्था नरहेको बताए ।

विभागले यसअघिको आधार वर्ष २०५७/५८ (सन् २०००/२००१) लाई परिवर्तन गरेर २०६७/६८ (सन् २०१०/११) बनाएको हो । जीडीपीको आधार वर्ष परिवर्तन गर्दा सेवा क्षेत्रको योगदानको भार ८.४ प्रतिशतले बढेको छ भने कृषि (प्राथमिक) तथा द्वितीय (उत्पादन तथा प्रशोधन) क्षेत्रको भार क्रमशः ९.५ र ३.२ प्रतिशतले घटेको छ । यस्तै प्रतिव्यक्ति आय पनि गत वर्षको भन्दा २५ अमेरिकी डलरले घटेको छ । गत वर्ष १ हजार १ ५९ रहेकोमा अहिले घटेर १ हजार १३४ डलर रहेको तथ्यांकले देखाएको छ ।

Logo