नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकमा व्यावसायिक गतिविधि गर्नका लागि उपयुक्त वातावरण बनेको बताएका छन् ।
शनिबार काभ्रे उद्योग वाणिज्य संघको ४१ औँ वार्षिक साधारणसभा तथा अधिवेशनलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले अहिले बैंकको व्याजदर एकल अङ्कमा आएको र कोभिड–१९ को प्रकोप पनि विस्तारै कम हुदै गएकोले मुलुकमा लगानीको लागि उपयुक्त वातारण तयार भएको बताए ।
बैंक तथा व्यवसायीहरु बीचको सम्बन्ध सुमधुर रहनुपर्ने बताउँदै ग्लोबल आइएमई बैंकका अध्यक्षसमेत रहेका ढकालले अब बैंकलाई गाली गरेर बस्ने अवस्था नरहेको बताए । ‘अहिले बैंकको व्याज दर र आधार दर सिङ्गल डिजिटमा झरेको छ । स्प्रेड दर पनि केन्द्रीय बैंकले तोकेको दरभन्दा पनि तल झरिसकेको छ । अब तपाई हामीले बैंकलाई गाली गरेर बस्ने होइन व्यावसायिक गतिविधिहरुलाई बढाउनु पर्ने बेला आएको छ’, उनले भने ।
मुलुकभित्र लगानी मैत्री वातावरण थप सुधार गर्दै जानको लागि अहिलेको कर तथा भ्याटको दरमा पनि विस्तारै परिमार्जन गर्दै जानुपर्ने बताउँदै उनले यसका लागि महासंघले निजी क्षेत्रको तर्फबाट सरकार तथा सम्बन्धित निकाय समक्ष आवाज उठाउने कुरा बताए ।
उनले अहिलेको महासंघको नेतृत्वले मुलुकमा व्यावसायिक वातावरण बनाउन सरकार तथा अन्य सरोकारवाला निकायसँग निरन्तर वार्ता, संवाद तथा सहकार्य जारी राख्ने बताए । जिल्ला नगरका साना व्यवसायीहरुका समस्या समाधानमा जिल्ला नगरका नेतृत्वमा रहेका व्यवसायी साथीहरु आफैमा पनि सक्षम रहेको बताउँदै उनले जिल्ला÷नगरका उद्योगी, व्यवसायीहरुका समस्या समाधानका लागि जिल्ला नगरका व्यवसायीहरुसँग होस्टेमा हैंसे गर्न महासंघको नयाँ नेतृत्व सधै तत्पर रहेको बताए।





























प्रतिक्रिया