किसान सूचीकरण अभियानः किसान हर्षित

किसान सूचीकरण अभियानः किसान हर्षित


धनगढी उपमहानगरपालिका– १० का किसान देवराज चौधरी औधी खुशी मुद्रामा भेटिए । किसान सूचीकरणमा नाम दर्ता गराउने कार्य शुरु भएपछि उनी खुशी देखिएका हुन्। उनले भने, ‘सूचीकरण गर्ने व्यवस्थाबाट पहिचान हुने सबै किसानले सेवा सुविधा पाउन सहज हुने देखिएको छ । वास्तविक किसानका हित हुन्छ ।’ 

सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा हालै दर्ता शुभारम्भ गरिएको थियो । समारोहमा उनीसहित किरन रानाथारु र वडा नं ३ का मनोज पडाललाई नमूनाको रुपमा किसान परिचयपत्र वितरण गरिएको थियो । च्याउखेती गरिरहेका पडालले किसान सूचीकरण कार्यको प्रभावकारी कार्यान्वयनले कृषिमा अब नयाँ युगको शुरु हुने बताए । 
 
उनी भन्छन्, ‘सरकारले दिने अनुदानको नीति पनि अब प्रतिफलमा आधारित बनाउन सके कृषि विकासमा फड्को मार्नसक्छ ।’ किसानको शुद्धिकरण गर्दै वास्तविक किसानको पहिचान स्थापित गर्न र परिचयपत्रका आधारमा लाभग्राही किसान छनोट गर्न यो सूचीकरणको काम थालिएको हो ।

स्थानीय तहमार्फत् किसान सूचीकरणको प्रविष्ट गर्न लागिएको मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत डा हेमराज अवस्थी बताउँछन् । उनले भने, ‘यसको कार्यान्वयनबाट कृषि पेशालाई सम्मानित पेशाका रुपमा स्थापित गर्न मद्दत पुग्नेछ ।’

निर्वाहमुखी र परम्परागत कृषि कार्यमा परिवर्तन गर्दै कृषिको उत्पादन र उत्पादकत्व वृद्धिमा सुधार ल्याउन पनि यो सूचीकरण कार्य सहयोगी हुने जनाइएको छ । एक तथ्याङ्कका अनुसार झण्डै ६३ प्रतिशत मानिस कृषि पेशामा आबद्ध रहेको अनुमान छ ।

किसानको वास्तविक विवरण पत्ता लगाउनका लागि प्रविधिको प्रयोग गरेर किसानको लगत सङ्कलन अर्थात् सूचीकरण थालिएको हो । यस कार्यले किसानको अभिलेख तयार पारी परिचयपत्रमार्फत् किसानको पहिचान स्थापित गराउने जनाइएको छ । 

कृषिलाई महत्पूर्ण क्षेत्रको रुपमा समेटेको डिजिटल नेपाल फ्रेमवर्कको प्रविधिमा आधारित भएर किसानको अभिलेख तयार गर्न लागिएको जनाइएको छ । किसान सूचीकरण नम्बर प्राप्त गर्न किसानले तोकिएको विवरण प्रविष्ट गर्नुपर्छ । रासस

Logo