प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहमा पुँजीगत खर्च गर्ने क्षमतामा बढाउने गरि बजेट विनियोजन गरिने बताएका छन्।
बुधबार नेपाल नगरपालिका संघको २८ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पुँजीगत खर्च गर्ने क्षमताको कमी हुनु राष्ट्रिय कमजोरीको रुपमा रहेको बताएका हुन् । पुँजीगत खर्च गर्ने क्षमता भएकाहरुले पनि खर्च गर्न नसकेको अवस्थामा क्षमता नभएको ठाउँमा धेरै बजेट दिंदा खर्च कम देखिएको बताए।
उनले भने, ‘बजेटमा ७० प्रतिशत भनेको के गर्नुहुन्छ? ७० प्रतिशत ओढ्ने, ओच्छ्याउने हो र ? वस्तुतः हेर्नुहुन्छ भने प्रशासनिक खर्च बाहेक विकासको त सबै कुरा हुने त्यहीँबाट नै हो। त्यहीँ जान्छ सबै । जहाँसुकै पनि पुँजीगत खर्च, खर्च गर्ने क्षमताको कमी यो राष्ट्रिय कमजोरी हो हाम्रो। क्षमता भएको ठाउँमा त पुँजीगत खर्च नभएर बेहाल छ भने क्षमता नभएका ठाउँमा पुँजीगत खर्च झन गाह्रो हुन्छ। त्यसकारण त्यो पुँजीगत खर्च हुनेगरी हामी विनियोजन गर्छौं । पुँजीगत खर्च नहुनेगरि कतै थुपार्ने कतै केही गर्ने भन्ने केन्द्र सरकारको सोँच होइन। म साथीहरुलाई स्पष्ट भन्न चाहन्छु त्यस्तो सोच हुनै सक्दैन। थुपारेर राखेर, फ्रिज गराएर के अर्थ छ र ?’
प्रधानमन्त्री ओलीले स्थानीय तहहरुलाई अधिकार दिन नहिच्किचाएको पनि स्पष्ट पारे। स्थानीय तहले आफ्नो क्षमतालाई बढाउनु पर्नेमा पनि प्रधानमन्त्री ओलीले जोड दिए।
प्रदेश सरकार र स्थानीय तहले केन्द्र सरकारले जस्तै सबै कुरा गर्न खोज्न नहुने पनि प्रधानमन्त्री ओलीले बताए। प्रदेश सरकार र स्थानीय तहले सरकार भनेपछि केन्द्र सरकार जस्तै हो भन्ने भ्रम पनि राख्न नहुने बताए। प्रधानमन्त्री ओलीले कतिपय कुराहरु पालिकाहरुमा एकरुपताका साथ गर्नुपर्ने बताए।
पालिकाहरुबीच भिन्नता नआइ समान ढंगले काम हुनुपर्ने पनि प्रधानमन्त्री ओलीले बताए। प्रधानमन्त्री ओलीले चैत्र १५ गतेदेखि काठमाडौंमा मेलम्चीको पानी वितरण गर्न सुरु गर्ने जानकारी पनि दिए।































प्रतिक्रिया