रामग्रामका शहरी पूर्वाधार निर्माणमा विश्व बैंकको ६२ करोड सहयोग

रामग्रामका शहरी पूर्वाधार निर्माणमा विश्व बैंकको ६२ करोड सहयोग

केन्द्रबिन्दु
0
Shares

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को रामग्राम नगरपालिकामा सहरी पूर्वाधार निर्माणका लागि विश्व बैंकले सहयोग गर्ने भएको छ। यसका लागि विश्व बैंकको सहयोगमा सञ्चालनमा आएको नेपाल सहरी शाहकीय र पूर्वाधार आयोजना र नगरपालिकाबीच सम्झौता भएको छ। 

उक्त आयोजनामार्फत रामग्रामलाई ६२ करोड २२ लाख अनुदान सहयोग प्राप्त हुनेछ। नयाँ बन्ने सहरलाई व्यवस्थित गर्न र दिगो सहरी विकास प्रवर्धन गर्ने उद्देश्यले सो बैंकमार्फत रामग्रामलाई ६२ करोड २२ लाख अनुदान सहयोग प्राप्त हुन लागेको नगर प्रमुख नरेन्द्र गुप्ताले जानकारी दिए।  

विश्व बैंकले सरकारलाई दिने सहुलियत ऋण शहरी विकास मन्त्रालयमार्फत उपलब्ध हुन लागेको हो। उक्त सहयोग नगरपालिकाको विशेष महत्व राख्ने सडक र फोहर व्यवस्थापनको क्षेत्रमा लगानी गरिने उनले बताए। 

यस परियोजना अन्तर्गत परासीदेखि पाल्ही क्याम्पस हुँदै भारतीय सीमा जोड्ने र औँचावलदेखि भुसुनापुर जोड्ने सडकको स्तरोन्नति प्राथमिकतामा रहेको नगरपालिकाले जनाएको छ। नगरपालिकाले परिपथ निर्माणको तयारी पनि गरिरहेको जनाएको छ। 

“नयाँ बन्ने शहर व्यवस्थित होस् र नगरपालिकको आन्तरिक क्षमताको पनि विकास होस् भन्ने उद्देश्यले अनुदान सहयोग प्राप्त हुन लागेको हो, यो सहयोगले नगरको मुहार परिवर्तन गर्छ भन्ने हामीले विश्वास लिएका छौँ”, उनले भने। 

सो परियोजनामार्फत कार्यान्वयन गरिने योजनाको छनोट, कार्यान्वयन, अनुगमन र नियमन नगरपालिकाले नै गर्नेछ । चालू आवमा योजना छनोट गरी प्राविधिक काम सक्ने र आगामी आवदेखि योजना कार्यान्वयनमा लैजाने गरी तयारी सुरु गरिएको नगरपालिकाले जनाएको छ। 

नगरपालिकाले नै सञ्चालन गर्न लागेको यो सबैभन्दा ठूलो परियोजना हो। परियोजना अन्तर्गत कार्यान्वयन गरिनेप्रति आयोजनाको लागत कम्तीमा २० करोड भन्दामाथिको हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश पन्थीले जानकारी दिए। यो परियोजना अन्तर्गत सञ्चालन हुने आयोजना पाँच वर्षभित्र सम्पन्न गरिसक्नु पर्नेछ।

रामग्राम जिल्लाको सबैभन्दा पुरानो नगरपालिका हो। भगवान् गौतमबुद्धको अस्तुधातु रहेकोस्थल रामग्राममा नै रहेको छ। नगरपालिकालाई लुम्बिनीसँग जोडेर सफा, सुन्दर र हराभरा बनाउने अभियानलाई समेत परियोजनाले टेवा पुर्याउने बताइएको छ।रासस

Logo