अब स्वदेशी बिजुलीबाटै रासायनिक मल कारखाना खुल्छ : प्रधानमन्त्री (भिडियोसहित)

अब स्वदेशी बिजुलीबाटै रासायनिक मल कारखाना खुल्छ : प्रधानमन्त्री (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

हामीले हरेक दिन दिनभरका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं। आजका समाचारहरु मध्ये प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशी बिजुलीबाटै रासायनिक मल कारखाना खोल्ने बताएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयद्वारा बिहीबार आयोजित पशुपन्छीजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको घोषणा कार्यक्रममा रासायनिक मल कारखाना खोल्न आवश्यक बिजुली उपलब्ध गराउन सरकार तयार रहेको उनले बताएका हुन् । उनले दिगो कृषि विकासका लागि अनुदानको सदुपयोग अनिवार्य सर्त रहेको समेत उल्लेख गरेका छन्।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड संक्रमण रोकथामका लागि लकडाउन नहुने स्पष्ट पारेका छन्। सञ्चारकर्मीसँग कुरा गर्दै बिहीबार अर्थमन्त्री पौडेलले कोभिड रोकथामका लागि सीमानाका बन्द गर्ने अथवा लकडाउन गर्ने सरकारको सोच नभएको बताएका  हुन्। राष्ट्रिय प्राथमिकताका विषयहरुलाई निश्चित गर्ने र बजेट कार्यान्वयनलाई सुनिश्चितता गर्ने कुरालाई ध्यान दिएर बजेट निर्माण गरिने पनि उनको जिकिर छ ।

छिमेकी मुलुक भारतले अक्सफोर्ड–अस्ट्राजेनेका खोपको सबै निर्यातहरूमाथि अस्थायी रोक लगाएको छ। कोरोना भाइरस संक्रमितको संख्या बढिरहेकाले आउँदा साताहरूमा घरेलु माग बढ्ने र खोप भारतमै आवश्यक पर्ने भन्दै भारतले खोप निर्यातमा अस्थायी रोग लगाएको विदेश मन्त्रालय स्रोतले जनाएको हो। भारतले अहिलेसम्ममा ७६ देशमा गरी ६ करोडभन्दा बढी खोप निर्यात गरिसकेको जनाएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर विद्यालय सञ्चालनमा निरन्तरता दिन निर्देशन दिएको छ। बिहिबार मन्त्रालयमा शिक्षामन्त्रीसहितको बैठकमा कोभिड–१९ को संक्रमण र त्यसबाट हुने जोखिमबारे शिक्षक तथा विद्यार्थीको स्वास्थ्य र शिक्षण संस्थाका क्रियाकलापमा पर्न सक्ने प्रतिकूल असरका विषयमा समीक्षा गरिएको हो। साथै मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य सतर्कता अपनाउन समेत अनुरोध गरेको छ।

मंगलबार र बुधबार लगातार बढेको शेयर बजार मापक नेप्से परिसूचक आज अर्थात् साताको कारोवारको अन्तिम दिन २१.२९ अंकले ओह्रालो लागेको छ। आज २ सय ८ कम्पनीहरुको १ करोड २५ लाख ४८ हजार १ सय ४६ कित्ता शेयर कारोबार भएको छ। आज व्यापार, होटल तथा पर्यटन र लगानी समूहको सेयर करोबार बढेको छ भने बाँकी सबै समूह घटेका छन्।

Logo