राष्ट्र बैंकका १७ गभर्नर, क-कसले के-के गरे ?

राष्ट्र बैंकका १७ गभर्नर, क-कसले के-के गरे ?

केन्द्रबिन्दु
15
Shares

काठमाडौँ। नेपालको केन्द्रिय बैंक हो, नेपाल राष्ट्र बैंक । नोट निष्काशन गर्ने, मौद्रिक नीतिलाई मार्गनिर्देश गर्ने, बैंक तथा वित्तीय संस्थाहरूको काम कारबाहीको नियमन गर्दै आवश्यक्ता अनुसार नियन्त्रण गर्ने अधिकार नेपाल राष्ट्र बैंकसँग छ ।

विं स. २०१३ साल वैैशाख १४ गते स्थापना भएको यस केन्द्रीय बैंकले आफ्नो मातहतमा धेरै बैंक तथा वित्तीय संस्थाहरुको जन्म दिइसकेको छ । नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन राष्ट्र बैंकको भूमिका महत्वपूर्ण छ । साथै राष्ट्र बैंक, सरकारको आर्थिक सल्लाहकार पनि हो । राष्ट्र बैंक एक स्वायत्तता निकाय हो । राष्ट्र बैंकलाई सरकारले पनि हस्तक्षेप गर्न सक्दैन् ।

राष्ट्र बैंकको स्थापना अघि राजा त्रिभुवनका सबै मूद्रामा सदर मूलुकी खानाका प्रमुख खजाञ्चीले नोटमा हस्ताक्षर गर्ने गर्थे भने खजाञ्जीको हैसियतमा पहिलो पटक हस्ताक्षर जनकराजले गरेका थिए त्यसपछि भरत राज र नगेन्द्र राजले पनि नोटमा हस्ताक्षर गरेका थिए । राष्ट्र बैंकको स्थापना भएपछि भने गभर्नर नियुक्ति गरेर गभर्नरले मुद्रामा हस्ताक्षर गर्ने परम्पराको सुरुवात भएको हो ।

राष्ट्र बैंकको स्थापना भएपछि हालसम्म विभिन्न १६ जना गभर्नरले काम गरिसकेका छन् भने महाप्रसाद अधिकारी हाल बहालवाला गभर्नर हुन् । हालसम्म कुल गभर्नरको संख्या १७ पुगेको छ।

को को हुन् त राष्ट्र बैंकका १७ गभर्नर ?

१. हिमालय शमशेर राणा

नेपाल राष्ट्र बैंकको पहिलो भाग्यशाली गभर्नर हुन्, हिमालय शमशेर जवरा । उनले राष्ट बैंकको स्थापना भएको मिति वि.स. २०१३ बैशाख १४ गतेदेखी २०१७ माघ २५ गतेसम्म राष्ट्र बैंककोे गभर्नरको रुपमा काम गरेका थिए । उनी राजा महेन्द्रद्वारा गभर्नरको रुपमा नियुक्त भएका थिए ।

गभर्नरको रुपमा कार्यरत हुँदा उनले धेरै सुधारको कामहरु गरेका थिए । त्यतिबेला मुलुकभरी नै भारतीय मुद्रा प्रचलनमा थियो । विशेष गरी तराई क्षेत्रमा यसको बाहुल्यता थियो । उनले मुलुकभरी नै नेपाली मुद्रा प्रचलनमा ल्याएका थिए भने नेपाली अर्थतन्त्र राज्यको अभिन्न अंग हो भन्ने कुरा पनि नेपाली जनतालाई अनुभव गराउन सफल भएका थिए ।

नेपालको पहाडी भागमा नेरु र तराई भेगमा भारु द्वैधमुद्राको प्रचलन थियो सो प्रचलनलाई हटाएर नेपालभरी नेरुलाई चलनचल्तीमा स्थापित गर्न सफल भए उनी ।

राणाले अर्थसचिव लगायत विभिन्न निकायहरुको संस्थापकका रुपमा पनि काम गरे । तर उनको पहिचान चाहिं गभर्नरको रुपमा रह्यो । पछि उनले आफ्नै नामबाट हिमालयन बैंक लिमिटेडको स्थापना गरे । सो बैंक अहिले नेपालको ‘क’ वर्गको वाणिज्य बैंक हो ।

२. लक्ष्मी नाथ गौतम

राष्ट्र बैंकको दोस्रो गभर्नर हुन्, लक्ष्मी नाथ गौतम । उनले २०१७ साल माघ २६ गतेबाट २०२२ असार ३ गतेसम्म राष्ट्र बैंकको गभर्नरका रुपमा कार्यभार सम्हाले । उनले बैकिङ क्षेत्रको प्रर्वधन र विकास गर्ने, द्वैधमुद्रा प्रणालीलाई अन्त्य गर्ने, आर्थिक वृद्धिसहितको मौद्रिक स्थिरताको लक्ष्य हासिल गर्ने लगायतका विभिन्न काम गरेका थिए ।

जननिवार्चित सरकारलाई अपदस्त गरि महेन्द्रले शासन सत्ता लिएका बखत गौतम गभर्नर बनेका थिए । त्यतिबेला राजा महेन्द्रका नाममा छापिएका मुद्राहरुमा गौतमले नै हस्ताक्षर गरेका थिए।

३. प्रद्युम्नलाल राजभण्डारी

राजभण्डारी राष्ट्र बैंकको तेस्रो गभर्नर हुन् । उनले वि.स.२०२२ असार ४ गतेदेखि २०२३ साउन १९ गतेसम्म गभर्नरको रुपमा काम गरे । राजा महेन्द्रको पालामा नियुक्त भएकाले उनले पनि राजा महेन्द्र अंकित मुद्रामा हस्ताक्षर गरेका थिए ।

४. डा.भेषबहादुर थापा

डा. थापा, राष्ट्र बैंकको चौँथो गभर्नर हुन् । उनले वि स २०२३ देखि २०२४ सम्म गभर्नरका रुपमा काम गरे । उनले राष्ट्र बैंकले नेपालमा नेपाली रूपैयाँलाई मात्र ‘लिगल टेन्डर’ गराउने व्यवस्था गरे । उनको पालामा सटही काउन्टर खोल्ने काम भएको थियो भने अधिकृत व्यक्तिहरूलाई सटही गर्ने अनुमति दिने प्रक्रियाको सुरुवात भएको थियो ।

उनकै पालामा बजारमा नेपाली रूपैयाँबाहेक अरू खरिद बिक्री हुन नसक्ने नीति राष्ट्र बैंकले लिएको थियो । उनले हरेक जिल्लामा कमसेकम एउटा बैंकको कार्यालय हुनुपर्ने अवधारणाको सुरुवात गरेका थिए।

त्यस्तै, उनले दक्षिण एसियाली गभर्नरको पहिलो बैठकमा भाग लिँदै यो संस्कृतिको सुरुवात गरेका थिए । थापाले अमेरिकाका लागि नेपाली राजदुतका रुपमा दुई कार्यकालसम्म काम गरे । त्यस्तै,उनी भारतका लागि नेपाली राजदुत पनि भएका थिए । उनी राजा ज्ञानेन्द्रको पालामा परराष्ट्रमन्त्री पनि बनेका थिए । थापालाई नेपालको कुटनीति तथा परराष्ट्र सम्बन्धका विज्ञका रुपमा लिइन्छ ।

५. डा. यादवप्रसाद पन्त

डा. पन्त नेपाल पाचौं गभर्नर हुन् । उनले वि.स २०२५ बैशाख २ गतेदेखि २०३० बैशाख ६ गतेसम्म राष्ट्र बैंकको गभर्नरका रुपमा कार्यभार सम्हालेका थिए। उनको पालामा बैंकिङ तथा प्रकाशकीय विभिन्न सुधारहरूको थालनी भएको थियो।

उक्त समयमा तत्कालीन श्री ५ को सरकारका वरिष्ठ अधिकारीहरूका लागि विदेशी मुद्रा सटही गर्नुप¥यो भने राष्ट्र बैंकका कर्मचारीहरू मन्त्रालयमै बोलाएर सटही सुविधा दिने चलन थियो । उनले सो चलनको अन्त्य गरी राजदरबार, प्रधानमन्त्री र अर्थमन्त्रीबाहेक अरुले सटही सुविधा लिन राष्ट्र बैंकमै जानुपर्ने नियम बसालेका थिए ।

त्यस्तै, राष्ट्र बैंकमा डेपुटी गभर्नर राख्ने कामको सुरुवात पनि उनले नै गरेका थिए । उनकै कार्यकालमा पहिलो पटक कृषिकर्जा सर्वेक्षण गरी सरकारलाई प्रतिवेदन पेश गरियो । राष्ट्र बैंकका कर्मचारीहरूलाई विभिन्न अन्तर्राष्टिय तालिम तथा अध्ययनमा पठाउने कामको थालनी पनि भयो । अनुसन्धान कार्यलाई तिब्रता, बैकर्स टेनिङ सेन्टर, राष्ट्र बैंक र अरु बैंकहरूविच समन्वयात्मक भावनाको अभिवृद्धि गर्न बैंकर्स क्लबको स्थापना लगायतका कामहरु पनि उनकै पालामा भयो ।

त्यस्तै, उनले सबै जिल्लामा बैकिङ शाखा विस्तार गरेका थिए । पन्त जापानका लागि नेपाली राजदुत, अर्थमन्त्री, वाणिज्य तथा जलस्रोतमन्त्री समेत भएका थिए । उनले अर्थशास्त्रमा विद्यावारीधी गरेका छन् ।

६. कुलशेखर शर्मा

शर्मा, राष्ट्र बैंकको छैँटौ गभर्नर हुन् । उनी विस २०३० बैशाख १७ गतेदेखि २०३६ मंसिर २६ गतेसम्म गभर्नरका रुपमा काम गरेका थिए ।

उनको कार्यकालमा वाणिज्य बैंकहरूलाई कुल निक्षेपको केही भाग कृषि क्षेत्रमा लगानी गर्नुपर्ने व्यवस्था गरिएको थियो ।

त्यस्तै, कृषि आयोजना सेवा केन्द्रको स्थापना,कर्जा सुरक्षण निगमको स्थापना,ग्रामीण क्षेत्रमा बैकिङ सेवा तीव्र रूपमा विस्तार,राष्ट्र बैंकका कर्मचारीको सेवा सुविधामा वृद्धि लगायतका सुधारका काम भएका थिए । उनी राजा महेन्द्र शाहको पालमा गभर्नर भएकाले त्यसबेला उनको फोटो अंकित नोटमा हस्ताक्षर गर्दै गरेका थिए ।

७. कल्याण विक्रम अधिकारी

राष्ट्र बैंकको सातौँ गभर्नरका रुपमा कल्याण विक्रम अधिकारी रहेका छन् । उनी वि.स २०३६ जेठ ३० गतेदेखी २०४१ मंसिर २३ गतेसम्म गभर्नर भएका थिए । उनी राजा वीरेन्द्रको पालामा गभर्नर भएका हुन् ।

८. गणेश बहादुर थापा

थापा, राष्ट्र बैंकका आठौँ गभर्नर हुन् । उनले २०४१ मंसिर २३ गतेदेखि २०४७ जेठ ८ गतेसम्म गभर्नरको रुपमा काम गरे । उनको कार्यकालमा देशभरी नेरुको चलनचल्ती गर्ने कामको निरन्तरता गरिएको थियो।

त्यस्तै, कागजी मुद्राको निष्कासन, बैंकका शाखा विस्तारमा तीव्रता,वाणिज्य बैंकहरूले कुल कर्जाको एक निश्चित प्रतिशत प्राथमिकता प्राप्त क्षेत्रमा लगानी गर्नुपर्ने व्यवस्था, खास क्षेत्रका लागि खास खास व्याजदरको संरचना, निक्षेपमा ब्याजदर लागू र पुनर्कर्जाको थालनी लगायतका महत्वपूर्ण कामहरु भएका थिए ।

उनी सन् १०८८ मा भारतले गरेको आर्थिक र व्यवहारिक प्रतिबन्धका कारण भारु अभाव हुँदा भारतीय समकक्षी राम महोल्त्रासँगको छलफलपछि २० करोडबाट ४० करोड भारु ल्याउन सफल भएका थिए ।

९. हरिशंकर त्रिपाठी

त्यस्तै, नवौं गभर्नर हुन् हरिशंकर त्रिपाठी । उनले २०४७ साउन २६ गतेबाट २०५१ माघ ३ गतेसम्म राष्ट्र बैंकको गभर्नरको रुपमा काम गरे । उनको कार्यकालमा बैकिङ, वित्तीय क्षेत्र,स्टक एक्सचेन्ज र वैदेशिक व्यापारमा महत्वपूर्ण निर्णयहरू भएका थिए ।

त्यस्तै,करेन्ट एकाउन्ट कन्भर्टिभालिटी, विदेश भ्रमण,अध्ययन,औषधोपचार सुविधामा थप मनी चेन्जर, नोट र सिक्काका रूपमा परिवर्तन लगायतका निर्णयहरू कार्याान्वयनमा आए । त्यस्तै उनकै पालामा (ऋण पत्र) निष्कासनको कामको सुरुवात भएको थियो ।

१०. सत्येन्द्र प्यारा श्रेष्ठ

श्रेष्ठ, राष्ट्र बैंकको दशौं गभर्नर हुन् । उनी २०५१ माघ ४ गतेदेखि २०५६ गतेसम्म राष्ट बैंकको गभर्नर भएका थिए । उनको पालमा नेपालमा वित्तीय सुधार कार्यक्रम आरम्भ भएको थियो ।

११. डा. तिलकबहादुर रावल

डा. रावल राष्ट्र बैंकका ११ औँ गभर्नर हुन् । उनी २०५६ माघ ४ गतेदेखि २०५७ भदौ १२ गतेसम्म गभर्नर भएका थिए । त्यतिवेला उनीमाथि भ्रष्टाचारको मुद्धा लागेको थियो । भ्रष्टाचारमा मुछिएपछि उनी बर्खास्त भएका थिए । उनको बर्खास्ती पछि दिपेन्द्रपुरुष ढकाल गभर्नर भएका थिए । मुद्धाबाट सफाइ पाएपछि उनलाई फेरि पुनर्वहाली गरिएको थियो ।

उनको पालामा लचिलो मौद्रिक नीतिको अबलम्बन र सुधारका कार्यक्रमहरूको थालनी भएको थियो ।

यस्तै वित्तीय क्षेत्र सुधारका लागि ५० लाख डलर अनुदान भित्र्याउनुका साथै राष्ट्रिय वाणिज्य बैंकको व्यवस्थापन करारमा लिएर पनि विभिन्न बहाना बनाएर कार्यारम्भ गर्न नआएको डिलोइट टच कम्पनीविरुद्ध समायोचित कदम चालेर हित संरक्षण गर्न सफल भएका थिए उनी ।

उनले पाँच रुपैँया दरको नोटको छपाइमा साधारण त्रुटि गरेबापत डिलारु कम्पनीलाई करिब ११ करोडको थप व्ययभारमा नोट पुन मुद्रण गराएका थिए । त्यस्तै,रुग्ण उद्योगहरूका लागि सहुलियतपूर्ण व्याज लाग्ने गरी वाणिज्य बैंकको सहयोगमा विशेष कार्यक्रम लागू गरेका थिए । उनको कार्यकालमा पहिलो पटक मुद्रा कोषले नेपाललाई पीआरजीएफ सहयोग उपलब्ध गराएको थियो ।

१२. दिपेन्द्र पुरुष ढकाल

राष्ट्र बैंकका बाह्रौ गभर्नर हुन्, दिपेन्द्रपुरुष ढकाल । उनको कार्यकाल २०५७ भदौ १३ गतेबाट २०५८ बैशाख ४ गतेसम्म थियो । डा. तिलक रावल भष्ट्राचारको मुद्धाबाट सफाइ पाएपछि उनलाई अन्य स्थानमा स्थानान्तरण गरिएको थियो । उनको पालामा पनि महत्वपूर्ण काम भएका छन् । उनकै कार्यकालमा संगठनात्मक सुधारको काम सुरु भएको थियो भने लामो समयदेखि थाती रहेको कर्मचारी नियमावली पनि ल्याइएको थियो ।

१३. विजयनाथ भट्टराई

राष्ट्र बैंकका १३ औँ गभर्नर तथा गणतान्त्रिक नेपालका पहिलो गभर्नर हुन् विजयनाथ भट्टराई । उनी २०६१ माघ १८ गतेदेखि २०६५ माघ २ गतेसम्म गभर्नर भएका थिए । साथै उनको पालामा कायम मुकायम गभर्नर कृष्णबहादुर मानन्धरले पनि मुद्रामा हस्ताक्षर गरेका थिए । उनलाई पनि गभर्नर रहेका बेला भष्ट्रचारको आरोप लागेको थियो । त्यसैक्रममा उनलाई बर्खास्त समेत गरियो । तर, पछि छानविन पश्चात उनलाई पुनर्वहाली गरिएको थियो ।

१४. दिपेन्द्रबहादुर क्षेत्री

राष्ट्र बैंकका १४ औँ गभर्नर हुन्, दिपेन्द्रबहादुर क्षेत्री । राष्ट्र बैंकका १३ औँ गभर्नरका रुपमा रहेका विजयनाथ भट्टराई वर्खास्त गरेपछि क्षेत्रीलाई गभर्नरमा नियुक्त गरिएको थियो । उनी २०६५ माघ २ गतेबाट २०६६ साउन ११ गतेसम्म गभर्नरको रुपमा काम गरे । क्षेत्रीको पालामा ५ सय र १ हजार दरका नोटमा ब्रेल संकेत राख्ने तथा ग्रामीण क्षेत्रमा बैंकिङ पहुँच बढाउने निर्णय गरिएको थियो ।

त्यस्तै, राष्ट्र बैंकका कर्मचारीहरुले शेयर बजारमा लगानी गर्न नपाउने कामको सुरुवात र बदमासी गर्ने तथा राष्ट्र बैंकको नीति निर्देशन नमान्ने लाइसेन्स प्राप्त वित्तिय संस्था खारेजीको सुरुवात पनि उनकै पालामा भएको थियो । उनले नेपाल विकास बैंकलाई खारेजी गरेका थिए । त्यस्तै, ट्राभल एजेन्सीलाई टिकट किन्ने र बेच्ने काम गर्दा १०/१५ दिनपछि राष्ट्र बैंक आउँदा मुल्य परिवर्तन हुने र हिसाव मिलानमा समस्या पर्ने भएकाले सम्झौता भएकै दिनको दरमा हिसाव मिलाउने कामको सुरुवात पनि उनले गरेका थिए ।

१५. डा. युवराज खतिवडा

त्यस्तै, राष्ट्र बैंकको १५ औँ गभर्नर हुन् अहिले अमेरिकाका लागि नेपाली राजदुत डा.युवराज खतिवडा । उनी २०६६ चैत ९ गतेदेखि २०७१ साल चैत ५ गतेसम्म गभर्नरको रुपमा कार्यरत रहे । उनले नेपाल सरकारको योजना आयोगको उपाध्यक्षको रुपमा समेत काम गरेका थिए । त्यसपछि उनले साढे दुई वर्ष अर्थमन्त्रीका रुपमा काम गरे ।

डा. खतिवडाले नेपालको वित्तीय प्रणालीमा जम्मा हुँदै गएको सुशासनजन्य समस्या समाधान गर्नमा ठोस पहल चालेका थिए । यस्तै उनले घरजग्गाको लगानीलाई कडाई गरेका थिए । जसका कारण उनुत्पादक क्षेत्रको लगानी नियन्त्रण भएको थियो । अहिले उनी अमेरिकाका लागि नेपाली राजदुत छन् । उनले दिल्ली स्कुल अफ इकोनोमिक्स, दिल्ली विश्वविद्यालयबाट २०४७ मा वित्तीय अर्थशास्त्रमा पिएचडी गरेका थिए ।

१६. डा. चिरञ्जीवी नेपाल

राष्ट्र बैंकका १६ औँ गभर्नर हुन्, डा.चिरञ्जीवी नेपाल । ले२०७१ साल चैत ५ गतेदेखि २०७६ चैत्र ५ गतेसम्म गभर्नरका रुपमा काम गरे । उनको पालामा गरिएको बैंक तथा वित्तीय संस्थाको पूँजी वृद्धिलाई महत्वपूर्ण कदमको रुपमा लिइन्छ । त्यसका साथै उनले वित्तीय पहुँचका लागि महत्वपूर्ण काम गरेका थिए । डा.नेपालले बिग मर्जरको सुरुवात गरेका थिए । उनको पालामा ग्लोबल आइएई बैंक र जनता बैंक मर्ज भएका थिए ।

१७. महाप्रसाद अधिकारी

२०७६ चैत ५ गते डा. नेपालको कार्यकाल सकिएपछि केही समय राष्ट्र बैंकको कामु गभर्नरका रुपमा डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले काम गरे । सरकारले चैत्र २४ गते अधिकारीलाई गभर्नरको रुपमा नियुक्ति गरेको थियो । उनी यस मितिले ५ वर्ष पूरा गभर्नरको रुपमा काम गर्नेछन्।

Logo