निर्माणाधीन ५४ मेगावाटको सुपरदोर्दी ‘ख’ को काम ८० प्रतिशत सम्पन्न

निर्माणाधीन ५४ मेगावाटको सुपरदोर्दी ‘ख’ को काम ८० प्रतिशत सम्पन्न

केन्द्रबिन्दु
0
Shares

लमजुङ ।

लमजुङको दोर्दी गाउँपालिका ६ ढोडेनीस्थित निर्माणाधीन ५४ मेगावाट सुपरदोर्दी ‘ख’ आयोजनाको काम ८० प्रतिशत सम्पन्न भएको छ ।

पिपुल हाइड्रोपावर कम्पनीले जिम्मा लिएको सो आयोजना दोर्दी कोरिडोरकै सबैभन्दा ठुलो आयोजना हो । आगामी भदौबाट निर्माण कार्य सम्पन्न गरी राष्ट्रिय प्रशारणमा लाइनमा जोडिने आयोजनाका साइड इञ्चार्ज रमेश सिग्देलले बताए ।

कूल आठ अर्ब ८० करोडको लगानी रहेको आयोजनाको २२७ मिटर ठाडो पाइप (भर्टिकल साफ्ट) खन्ने काम सकिएको छ । इनक्लाप साफ्टको ४६३ मिटर मध्ये ७२ मिटर बाँकी रहेको छ । इलेक्ट्रोमेकानिकल, टनेल र पावर हाउसभित्र भवन बनाउने कार्य भइरहेको छ ।

आयोजनाको विसं. ०७५ भित्रै व्यावसायिक उत्पादन मिति रहेकामा विसं. २०७१ मा विद्युत खरिद सम्झौता (पिपिए) गरी विसं. २०७२ असोज महिनाबाट निर्माण थालनी भएको थियो । विनासकारी भूकम्प, भारतको नाकाबन्दी र दोर्दी खोलामा आएको बाढीका कारण ढिलाइ हुँदा निर्धारित समयमा हुन नसकेको जनाइएको छ ।

आयोजनामा नविल बैंकको अगुवाइमा नौ बैंकले ऋण लगानी गरेका छन् । ७० प्रतिशत ऋण लगानी र बाँकी प्रवर्धकको लगानीमा निर्माण हुँदै आएको छ । आयोजनामा प्रभावित क्षेत्रका जिल्लाबासीको मात्र रु २७ करोड लगानी छ । आयोजनाले सुक्खायाममा आठ रुपैयाँ ४० पैसा र वर्खायाममा चार रुपैयाँ ८० पैसामा बिद्युत खरिद गर्ने (पिपिए) सम्झौता भएको छ ।

यसअघि ७० मेगावाटको मध्य मर्स्याङ्दी आयोजनाले जिल्लाकै पहिलो विद्युत उत्पादन थालेको थियो भने ५० मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी ‘ए’ लगायत आधा दर्जन आयोजनाले विद्युत उत्पादन गरिसकेका छन् ।

Logo