डम्पिङ साइडका कारण पोखरा अन्तर्राष्ट्रिय विमानस्थल जोखिममा

डम्पिङ साइडका कारण पोखरा अन्तर्राष्ट्रिय विमानस्थल जोखिममा

केन्द्रबिन्दु
0
Shares

पोखरा ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य करिब अन्तिम चरणमा पुगेको छ । पर्यटकीय नगरी पोखरालाई विश्वसँग जोडन यो विमानस्थल महत्वपूर्ण हुने बताइएको छ । तर विमानस्थलबाट नजिकै रहेको डम्पिङ साइडका कारण विमानस्थल जोखिममा परेको तर्फ भने कसैको ध्यान जान सकेको छैन ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य करिब ६५ प्रतिशत पुरा भइसकेको छ। विमानस्थल निर्माण हुँदै गर्दा यहाँबाट हुने हवाई उडानलाई सुरक्षित बनाउन विभिन्न कामहरु गरिएका छन् । तर पोखरा महानगरपालिका वडा नं. १४ बाच्छेबडुवामा रहेको डम्पिङ साइडबाट हुने जोखिममा भने खासै ध्यान जान सकेको छैन । अन्तर्राष्ट्रिय मान्यता अनुसार विमानस्थलबाट ५ किलोमिटर भित्र डम्पिङ साइड हुनु हुँदैन । तर यो डमपिङ साइड ५ किलोमिटर भित्रै पर्छ ।

विमानस्थलबाट डम्पिङ साइड नजिक हुँदा चिल, गिद्ध लगायतबाट कुनैपनि चराचुरुङुगीबाट हवाई उडान जोखिममा पर्न सक्छ । त्यसैले पनि यो ठाउँबाट डम्पिङ साइड हटाउनु पर्ने देखिन्छ । पोखरा विमानस्थलका प्रमुख भोला गुरागाईंले डम्पिङ साइड हटाउने भन्दा पनि विमानस्थल वरिपरी चराचुरुङ्गीको व्यवस्थापन गर्न बर्ड स्केरिङ डिभाइसहरु राखिने बताए।

विमानस्थलबाट नजिकै डम्पिङ साइड रहेकाले अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडानलाई जोखिममा पार्ने निश्चित छ । पोखरा महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले विमानस्थललाई खतरामुक्त बनाउनको लागि नयाँ डम्पिङ क्षेत्रको खोजिमा रहेको बताए । हाल बाच्छेडाँडाँमा रहेको डम्पिङ साइडको विकल्पमा माछापुच्छ्रे गाउँपालिकाको सार्दिखोलामा बनाउने योजना रहेको पनि उनले बताए ।

यसै पनि पोखरामा आगन्तुक चराहरुको चहलपहल बढी हुने गर्छ । तर फोहोरको थुप्रोमा विभिन्न किसिमका चराचुरुङ्गी रहने र तिनले विमानस्थल आसपासमा जोखिम बढाउने भएकाले त्यसको व्यवस्थापनका लागि हाल रहेको डम्पिङ साइडलाई तत्काल हटाउनु पर्ने देखिन्छ ।

Skip This
Skip This
Logo