नयाँ स्वरुपमा ठडियो ढलेको धरहरा (भिडियोसहित)

नयाँ स्वरुपमा ठडियो ढलेको धरहरा (भिडियोसहित)


२०७२ सालको विनासकारी भूकम्पले ढलेको ऐतिहासिक धरोहर धरहरा पुनः ठडिएको छ। काठमाडौंको शोभा बढाउँदै पुनः एकपटक धरहरा ठडिएको हाे। संघीय राजधानी काठमाडौं आएर उपत्यका नियाल्न लालायित नागरिकहरूको चाहना ६ वर्षपछि पूरा हुँदैछ। मौलिक कच्चा पदार्थहरू सुर्की, चुन, मास, चाकु तथा इँटाबाट बनेको धरहरा अहिले गिट्टी बालुवा, सिमेन्ट र रडबाट पुनः विराजमान भएको छ। 

उपत्यकामा थुप्रै ठाउँबाट धरहराको उपस्थिति अर्थात् धरहराको स्तम्भ देखिए पनि आन्तरिक हिसाबमा यसको पुनःनिर्माणमा अझ थुप्रै काम बाँकी नै छन्। तर, प्रधानमन्त्री केपी शर्मा ओली भने यसको उद्घाटनका लागि हतारिएका छन्। आम सर्वसाधारणले यसको प्रयोग गर्न महिनौं समय बाँकी नै छ। तर, पुनर्निर्मित धरहराको शनिबार अर्थात् ०७८ वैशाख ११ गते प्रधानमन्त्रीले रिबन काटेर उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ। 

त्यसो त प्रधानमन्त्री केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा ‘मेरो धरहरा म बनाउँछु’ अभियान संचालनमा ल्याएका थिए। धरहरा पुनर्निर्माण कोष खडा गर्दै प्रधानमन्त्री ओलीले व्यक्तिगत तवरमा एक महिनाको तलवबाट कोषको उद्घाटन गराएका थिए। अन्य मन्त्री तथा जनस्तरबाट पनि धरहराको पुनर्निर्माणका लागि भनेर रकम संकलन गरिएको थियो। धरहरा पुनर्निर्माणमा प्रधानमन्त्रीकै चाहना तिव्र देखिए पनि त्यो समय पर्याप्त रकम संकलन हुन नसक्दा पुनः धरहरा ठडिनेमा सशंय थियो। तर, केपी शर्मा ओली पुनः प्रधानमन्त्री बनेपछि २०७५ पुस १२ गते धरहराको शिलान्यास गरे र यसले गति लियो।

तत्कालीन मुक्तियार अर्थात् प्रधानमन्त्री भीमसेन थापाले वि.सं.१८८२ सालमा महारानी ललितत्रिपुरा सुन्दरीदेवीको सम्झनामा ११ तलाको धरहरा निर्माण गराएका थिए। सो समय ९ तलामा वार्दली राखिएको उक्त धरहरालाई भिमसन स्तम्भ पनि भन्ने गरिन्थ्यो। पछि, १९९० सालको महा–भूकम्पले उक्त धराहरा भत्काइदियो। 

यसलाई तत्कालिन सरकारले १९९२ मा पुनर्निर्माण गरि पुनः काठमाडौंको शोभा बढाउन मद्दत गर्यो । तर, तत्कालिन प्रधानमन्त्री जुद्ध शमशेरले ११ तलाको धरहरा ९ तलामा समिति गराइदिए। उक्त ९ तलाको धरहराको सातौं तलामा वार्दली राखिएको थियो। तर, २०७२ साल वैशाख १२ गते दिउँसो आएको विनासकारी भूकम्पले यसलाई पनि तहसनहस बनाइदियो। 

विशेष गरेर राणाकालीन समयमा धरहराको टुप्पोबाट विगुल बजाएर सामाजिक तथा प्रशासनिक सूचना र जानकारी दिने गरिन्थ्यो। विगुल बजेको सुनेपछि जंगी निजामति कमचारीहरु टुँडिखेलमा अनिवार्य रुपमा जम्मा हुनै पर्थ्याे। 

पुरातत्व विभागका अनुसार धरहराको उचाई ६१.८८ मिटर अर्थात् २०३ फिट थियो भने, धरहराभित्र २१३ सिंढी र बाहिर २५ सिंढी रहेका थिए। ९ तलाको धरहराको १८८ सिंढी उक्लेपछि बार्दली आउँथ्यो । बार्दलीबाट काठमाडौं उपत्यकाको अधिकांश भाग सजिलैसँग दृश्यावलोकन गर्न सकिन्थ्यो। यस्तै धरहराको सबैभन्दा माथिल्लो तला अर्थात् नवौं तलामा शिवलिङ्ग थियो भने, टुप्पोमा गुम्बज शैलीको गजुर रहेको ऐतिहासिक स्मारक धरहरालाई धार्मिक तथा पर्यटकीय दृष्टिले समेत महत्वपूर्ण  धरोहरका रुपमा लिने गरिन्छ।

मुगलशैलीमा तयार उक्त धरहराको वरिपरिको पर्खाल युरोपेली शैलीमा निर्माण गरिएको थियो। मुस्लिम, हिन्दु र क्रिश्चियन तीनै धार्मिक सम्प्रदायबीच धार्मिक सहिष्णुताको प्रतीकका रुपमा मानिदै आएको इतिहासमा उल्लेख गरिएको छ। हाल २०७२ सालमा भत्किएकर ठूटो धरहरा प्रवलिकरण अर्थात रेट्रोफिट गरि काँचको फ्रेममा सजाइएको देख्न सकिन्छ।

हाल, पुनर्निर्मित नयाँ धरहरा भने २२ तला अग्लो छ। पुरानो बाहिरीस्वरुप परिवर्तन नगर्ने गरि आधुनिक सुविधासहितको बलियो धरहरा निर्माण गरिएको पुनर्निर्माण प्राधिकरणको भनाइ छ। लामो छलफल र ठेक्का प्रक्रियापछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नयाँ धरहरा निर्माणको जिम्मा पाएको थियो। सोही अनुसार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बैशाख एघार गते २२ तले नयाँ धरहराको स्तम्भको मात्रै उद्घाटन गर्ने कार्यक्रम तय गरेको छ। योजना अनुसारका थुप्रै निर्माण कार्य बाँकी नै रहेकोले सुरुमा धरहरा मात्रै उद्घाटन गर्ने प्राधिकरणको तयारी छ। किन निर्माण कार्य सम्पन्न नहुँदै  धरहराको उद्घाटन गर्न हतारो भयो त, भन्ने हाम्रो प्रश्नमा पुनर्निर्माण प्राधिकरण भन्छ, प्रधनामन्त्री ओलीको रुची नै बैशाख ११ रहेको हुँदा यसै अनुसार कार्यक्रम तय गरिएको हो । 

तत्कालीन मुक्तियार अर्थात् प्रधानमन्त्री भीमसेन थापाले वि.सं.१८८२ सालमा महारानी ललितत्रिपुरा सुन्दरीदेवीको सम्झनामा ११ तलाको धरहरा निर्माण गराएका थिए।

बैशाख १२ भूकम्प गएको दिन भएको कारण पनि त्यस दिनलाई उद्घाटनको दिन बनाउन नसकेको प्राधिकरणको जवाफ छ। उद्घाटन गर्नै पर्ने भएकाले किन ढिलाई गर्ने भन्दै ११ गते नै गरौं भन्ने सहमति भए अनुरुप उक्त मिति तय भएको प्राधिकरणको भनाइ छ।
 
बैशाख ११ गता धरहराको नवनिर्मित स्तम्भ विधिवतरुपमा उद्घाटन भएपनि आमनागरिकका लागि झण्डै एक वर्षपछि मात्र धरहरा खुल्ला हुने प्राधिकरणको भनाइ छ। यसको निर्माण ठेक्का जीआईटीसी रमन जेभीले २०७५ असोज १४ गते पाएको हो । निर्माण कम्पनी र प्राधिकरणबीच २०७८ पुस १० गतेसम्म सम्पूर्ण काम सम्पन्न गर्ने सम्झौता अनुसार काम भइरहेको छ। निर्माण कम्पनी र प्राधिकरणबीचको सम्झैता सकिन अझै ९ महिना बाँकी छ। प्राधिकरणका अनुसार निर्माण कम्पनीले काम सम्पन्न गरेर प्राधिकरणलाई हस्तान्तरण गरेपछि सर्वसाधारणका लागि कार्यविधि बनाउने प्राधिकरणले जनाएको छ। 

पुनर्निर्माणको काम अन्तिमचरणमा पुगेको धरहराको स्तम्भमा गजुर स्थापना गरिसकिएको छ। पुरानै गजुर मर्मत गरी सुनको जलप लगाएर धरहराको टुप्पोमा राखिएको हो। पुरानो धरहराको भग्नावशेषबाट भेटिएको २० तोला सुन र प्राधिकरणले खरिद गरेको ७५ तोला सुन गरि ९५ तोला सुनको जलप लगाइएको गजुर लगाइएको हो। 

धरहरा निर्माणका लागि जीआईटीसी रमन जेभीले कुल ३ अर्ब ४८ करोड रुपैयाँको ठेक्का पाएको थियो। जसअनुसार हाल प्रत्येक दिन धरहराको पुनर्निर्माणमा साढे तीन सय मजदुरले काम गरिरहेका छन्। हाल पुनर्निर्माण कार्यअनुसार संग्रहालय निर्माणको काम भइरहेको छ। खिचापोखरीबाट टुँडिखेलसम्म बाटो निर्माण र पार्किङको काम ६० प्रतिशत सम्पन्न भएको जनाइएको छ। नयाँ संरचना अनुसार धरहरामा भर्याङसँगै दुई वटा लिफ्ट राखिएको छ। जसमध्ये एउटा सञ्चालनमा आईसकेको छ। अर्को लिफ्ट राख्ने काम अन्तिम चरणमा पुगेको प्राधिकरणले जनाएको छ। अपाङ्गमैत्री संरचना भएको धरहरा एउटा लिफ्टमा एक पटकमा १० जना शयर गर्न मिल्ने प्राधिकरणले जनाएको छ। अहिले धरहराको स्तम्भभित्र र बाहिर रङ लगाउने काम भइरहेको छ। 

यसअघि ५ रोपनी क्षेत्रफलमा रहेको धरहरा परिसर अहिले ४२.२ रोपनीमा फैलिएको छ। सुनधारास्थित पहिले हुलाक कार्यालय रहेको ठाउँमा अहिले पार्किङ क्षेत्र बनाइएको छ। जसलाई तीन तहको पार्किङ क्षेत्रका रुपमा तयार गरिनेछ। यस्तै यसको माथि बगैंचा र पानीको फोहोराको संरचना तयार गरिनेछ। 

प्राधिकरणका अनुसार नयाँ संरचनामा एक पटकमा चार पाङग्रे गाडी ३ सय ५० र ८ सय मोटरसाइकल अट्ने गरि काम भइरहेको छ। २०औं तलाबाट काठमाडौंको दृश्यावलोकन गर्ने व्यवस्था मिलाइएको छ। २२औं तलामा भने पुरानै शिवलिङ्ग स्थापना गरिनेछ। पहिलेको धरहरामा गोलो भर्याङ राखिएको थियो भने अहिलेको त्यसलाई नयाँ शैलीमा निर्माण गरिएको प्राधिकरणले जनाएको छ। 

 

Logo