गण्डकी प्रदेश: ‘चलखेल रोक्न’ कांग्रेस, माओवादी र जसपाका सांसद होटलमा

गण्डकी प्रदेश: ‘चलखेल रोक्न’ कांग्रेस, माओवादी र जसपाका सांसद होटलमा


गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावबारे संसदमा मतदान हुने चर्चा चलिरहेको बेला अविश्वास प्रस्तावका प्रस्तावक दलहरूले आफ्ना सांसदहरूलाई होटलहरूमा राखेका छन्।

चलखेल हुन सक्ने भन्दै पोखराका होटलहरूमा प्रस्तावक सबै दलले आ–आफ्ना सांसदहरूलाई थुनेर राखेका हुन्। प्रस्तावक दलहरू नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी हुन्। राष्ट्रिय जनमोर्चाले पनि अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने स्पष्ट पारिसकेको छ।

अविश्वासको प्रस्तावमाथि बुधबार (भोलि) मतदान हुने कार्यसूची छ। एकजना सांसद मात्रै अर्को पक्षले चलखेल गरेर लाने स्थिति भए सरकार ढाल्ने र जोगिने सम्भावना जीवित छ।

त्यही भएर सांसदहरू चलखेलमा नपरुन भनेर अविश्वासको प्रस्तावक दलहरूले होटलहरूमा राखेका अनुमान गरिएको छ।

तर, प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्रीसमेत रहेका माओवादी सांसद हरिबहादुर चुमानले थुनेर होलटमा राखेको नभइ पटकपटक छलफल गर्नुपर्ने अवस्था आएकोले सहजताका लागि राखिएको स्पष्ट पारे।

‘भोलि अविश्वासको प्रस्तावमाथि मतदान हुने भनिएको छ, मतदानको समय नजिक भएकोले अविश्वासको प्रस्ताव दर्ता गर्ने दलका सांसदहरूबीच पटकपटक छलफल गर्नुपर्ने अवस्था छ’, पूर्वमन्त्री चुमानले केन्द्रविन्दुसँग भने, ‘टाढाटाढाका माननीयहरू पनि हुनु भएको र घर पोखरामा नभएको हुनाले उहाँहरूलाई होटलमा राखिएको हो।”

तर, सत्तारुढ एमालेले भने कोभिड १९ को सन्त्रास देखाएर प्रदेश संसद्को विशेष अधिवेशन मंगलबार अवरुद्ध गरेको भन्दै असन्तुष्टी पोखे।

सांसदहरूको पिसिआर परीक्षण संसद्ले नभइ सरकारले गर्नुपर्ने उनको भनाइ छ।

Logo