बिहीबारदेखि काठमाडौं उपत्यकालगायत १६ जिल्लामा निषेधाज्ञा लागू भए पनि हवाई उडान भने खुला रहेको छ।
निषेधाज्ञाबीच हवाई उडानमा बिहीबार अघिल्लो दिनभन्दा आधा उडान घटेको त्रिभुवन विमानस्थलका प्रवक्ता चन्द्रलाल कर्णले बताए।
उनका अनुसार शुक्रबार आन्तरिकतर्फ ७७ वटा उडान तथा अन्तर्राष्ट्रियतर्फ २४ वटा उडान भएका छन्। दुबै गरेर शुक्रबार १०१ उडान भएका छन्। हवाई उडानमार्फत् यात्रा गर्ने यात्रुहरूको संख्या भने आउन बाँकी रहेको कर्णले बताए।
निषेधाज्ञा सुरु भएकोे दिन बुधबार १ सय ४९ वटा उडान भएका थिए। यो संख्या कोरोना महामारी सुरु भएयताकै सबैभन्दा धेरै थियो। उक्त दिन १५ हजार २ सय ६३ यात्रुले त्रिभुवन विमानस्थल हुँदै यात्रा गरेका थिए। निषेधाज्ञा सुरु भएको दिन बिहीबार १ सय ४ वटा उडान भएको विमानस्थलले जनाएको छ।
निषेधाज्ञा लागु भएपछि बिहीबार कूल २ सय ८ उडान भएको थियोे। उक्त उडानमार्फत् ८ हजार २ सय ६९ जना यात्रुले यात्रा गरेका छन्। काठमाडौं विमानस्थलले दिएको विवरणअनुसार देशका विभिन्न विमानस्थलबाट २ हजार ८ सय १६ जना यात्रु काठमाडौं भित्रिएका छन् भने ५ हजार ४५३ जना यात्रु बाहिरिएका थिए।
बिहीबारको तुलनामा शुक्रबार उडान कम भएको तथा विभिन्न जिल्लामा जारी निषेधाज्ञा र यात्रा अवरोधले हवाई यात्रुमा समेत कमी आएको प्रवक्ता कर्णको भनाइ छ।
शुक्रबार सबैभन्दा बढी बुद्ध एयरले ३५ उडान गरेको छ। त्यस्तै यति एयरलाइन्सको २०, श्री एयरलाइन्सको १२, नेपाल एयरलाइन्स र तारा एयरको ४÷४ र समिट एयरको दुई उडान भएको विमानस्थलले जनाएको छ। बिहीबार पनि बुद्ध एयरले सबैभन्दा बढी ९६ उडान गरेको थियो।
निषेधाज्ञामा पनि विमानस्थलमा भिडभाड
सरकारले सार्वजनिक यातायात बन्द गरे पनि हवाई उडान सञ्चालन गरिरहेको छ। विमानस्थलमा बाहिर जाने र आउने मानिसको भिड लाग्न थालेको छ। निषेधाज्ञाका लागू भए पनि हवाई उडान खुला हुँदा विमानस्थल जाने सवारी तथा यात्रुले गर्दा कोरोनाको जोखिम बढ्ने देखिएको छ।
बिहीबार ‘कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर’ (सीसीएमसी)का अधिकारीले त्रिभुवन विमानस्थलको स्थलगत अनुगमन गरेका थिए।
अनुगमनपछि भिडभाड देखेर तोकिएका सुरक्षा मापदण्ड अनिवार्य पालना गरेर मात्रै यात्रा गराउन अनुगमन टोलीले सचेत गराएको थियोे ।
यता, वायु सेवा कम्पनीले भने भने सामाजिक दूरी कायम गर्नेदेखि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी उडान भइरहेको बताएका छन् ।
बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णका अनुसार यात्रुहरुले मास्क तथा फेससिल्ड अनिवार्य रुपमा प्रयोग गरेका छन्।
हवाई यात्रुलाई प्रिपेड ट्याक्सी सुविधा
निषेधाज्ञाको अवधिमा हवाई यात्रा गर्ने यात्रुहरुलाई विमानस्थल आउजाउका लागि प्रिपेड ट्याक्सी सेवा उपलब्ध गराइएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले बिहीबार एक सूचना जारी गर्दै निषेधाज्ञा आदेशअनुसार नै वैध टिकट, भिसा, पासपोर्ट भएका यात्रुले यस्तो सेवा पाउने जनाएको थियोे ।
विमानस्थल कार्यालयबाट अनुमति पाएका हरियो नम्बर प्लेट भएका ट्याक्सीलाई फोन गरेर वा विमानस्थलको पार्किङमा गएर सेवा लिनुपर्ने हुन्छ।
हवाई भाडा घट्यो
केहि दिनअघि इन्धनको मूल्य बृद्धि भएको कारण हवाई भाडा बढेको थियोे । तर, निषेधाज्ञासँगै हवाई भाडा निकै सस्तो भएको छ। बुधबारसम्म काठमाडौंबाट विभिन्न गन्तव्यमा जाने यात्रुले निकै महँगो शुल्क तिरेर टिकट लिएका थिए । तर, बिहीबार र शुक्रबार भने भाडा निकै सस्तो भएको एयरलाइन्सहरुले जनाएका छन्।
काठमाडौंबाट जाने भन्दा पनि बाहिरी जिल्लाबाट काठमाडौं आउने टिकटको मूल्य सबैभन्दा तल्लो विन्दुमा आइपुगेको छ ।
बिहीबार भैरहवा, जनकपुर र बिराटनगरबाट काठमाडौं आउने टिकटको मूल्य १ हजार ४४० रुपैयाँमा रहेको थियो आज पनि यही भाडा कायम रहेको छ।
निषेधाज्ञाअघि यी गन्तव्यबाट काठमाडौं आउनका लागि २ हजारदेखि ६ हजार रुपैयाँसम्म हवाई भाडा लाग्ने गरेको थियो।





























प्रतिक्रिया