नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलोग्राम ४०७ ग्राम सुन जस्तो पहेँलो धातुसहित पाँच जनालाई पक्राउ गरेको छ।
अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरी टोलीले एक किलोग्राम ४०७ ग्राम ९१० मिलिग्राम सुन जस्तो पहेँलो धातुसहित प्युठानका यमलाल खनाल, गुल्मीका जनक खड्का, नुवाकोटका सुमित तामाङ, धनबहादुर तामाङ र नवलपरासीका राजु विश्वकर्मालाई सोमबार दिउँसो पक्राउ गरेको हो।
पक्राउ परेकामध्ये एयर अरेबियाको उडानमा दुबईबाट आएका यमलाल र जनकको साथबाट ६९८ ग्राम ९१० मिलिग्राम बराबरको सुन जस्तो देखिने बिस्कुट आकारको पहेँलो धातु दुई थान र दुईवटा बाला बरामद गरेको हो।
यस्तै हिमालय एयरद्वारा दुबईबाट आएका सुमित र धनबहादुर तथा नेपाल एयरलाइन्सबाट आएका राजुको साथबाट जम्मा ७०९ ग्राम उक्त धातु बरामद गरेको छ। पक्राउ परेका उनीहरुले लगेजभित्र स्पिकरमा फल्स बटम बनाई भन्सार छलि विदेश लैजान लागेको अवस्थामा फेला पारी पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले बताएको छ।
पक्राउ पाँचै जनालाई आवश्यक अनुसन्धान एवं कारवाहीका लागि भन्सार कार्यालय गौचरण बुझाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरणले जनाएको छ।रासस





























प्रतिक्रिया