पछिल्लो ६ महिनादेखि नेपाली शेयर बजारमा लगानीकर्ताको आकर्षण बढ्दै गएको देखिन्छ। गत वर्ष कोरोना महामारीले लगानीका क्षेत्र धराशायी भएपछि लगानीकर्ताले शेयर बजारमा लगानी बढाउदै आएका छन्।
पछिल्लो ६ महिनामा शेयर बजार मापक नेप्से परिसूचकसमेत २ हजार ७ सयभन्दा माथिको विन्दुमा पुगेर नयाँ रेकर्ड राखेको छ। पछिल्लो समय आइपिओ जारी गरेका कम्पनीको समेत शेयर मूल्य पाँच सयमाथि पुगेकाले शेयर बजारमा लगानीकर्ताको आकर्षण बढेको देखिन्छ।
यसरी लगानीकर्ताको आकर्षण बढ्दै गएको अवस्थामा लद्युवित सहकारी कम्पनीको शेयर खेलाडीको हातमा पेरेकाले एक महिनासम्म लगातार सकारात्मक सर्किट लेभलमा कारोबार हुँदै आएको छ।
लगातार लघुवित्त कम्पनी शेयर बढ्दा उक्त कम्पनीका लगानीकर्ताले दुई महिनाको अवधिमा एक हजार लगानी गरेर ५० हजारसम्म आम्दानी गर्न सफल भएका छन्।
लघुवित कम्पनीको शेयर बजारमा पुँजी लगानी एकदमै सानो रहेको छ। बजारमा एक देखि तीन करोडको लगानी हुन्छ । यसलाई ठूला शेयर खेलाडीले हात लिन सक्छन्। उनीहरुले लघुवित्तको शेयर जति बेला बढाउन मन लाग्यो, त्यतिबेला बढाउने अनि घटाउन मन लाग्यो घटाउने गर्ने भएकाले शेयर मूल्य निरन्तर बढिरहेको नेपाल लघुवित्त बैंकर्स संघ (एनएमबीए)का अध्यक्ष बसन्तराज लम्सालले बताए।
उनका अनुसार लघुवित्त कम्पनीको सप्लाइ नै एकदमै थोरै छ। ठूलो संख्यामा सप्लाइ हुने भएको भए लघुवित्तको शेयर मूल्य धेरै बढ्न पाउने थिएन। तर, लघुवित्तको शेयर बजारमा माग धेरै भए पनि शेयर दायरा थोरै रहेको छ। उनले भने, ‘शेयर बजारमा लघुवित्तको शेयर थोरै भएकाले माग बढ्दै गएको छ। बजारमा अभाव भएको वस्तुको मुल्य एकदमै उच्च हुने गर्दछ। त्यही भएकाले बजारमा लघुवित्त कम्पनीको शेयर मूल्य बढेको देखिन्छ।’
लघुवित्त कम्पनीको सप्लाइ थोरै छ। शेयर लगानी पनि कम छ। कुनै १० करोडको कम्पनी छ भने तीन करोड मार्केट शेयर छ। एउटा ठूलो लगानीकर्ताले त्यो उठाउन सक्छ।
कर्मसियल बैंकको अर्बौंको शेयर मार्केट हुन्छ। शेयरका खेलाडीले कन्ट्रोलमा राख्न नसक्ने भएकाले नबढ्ने र लघुवित्तको एउटै खेलाडीले खेल्न सक्ने भएकाले एउटै कम्पनीको शेयर मूल्य ५ हजार नाघेको उनको भनाइ छ।
लघुवित्त संस्थाहरुको वित्तीय विवरण राम्रा भएकाले पनि लगानीकर्ताको आकर्षण बढ्दै गएको हो। यसका साथै मानिसहरुले जानेर वा नजानेर भए पनि शेयर बजारमा थोरै भए पनि लगानी गर्न थालेका छन्।
नेपाल उद्योग वाणिज्य महासंघ पुँजी बजार फोरमका सभापति तथा शेयर लगानीकर्ता अम्बिकाप्रसाद पौडेलले पछिल्लो समय लगानीकर्ताले आफूले खरिदबिक्री गर्ने कम्पनीको त्रैमासिक रिपोर्ट, नाफा–नोक्सानलगायत कुनै पनि विषय अध्ययन नगरी सामाजिक सञ्जालमा आएको सूचना तथा सुझावको आधारमा शेयर किन्ने गरेको बताए। शेयर किन्ने र घाटामा जाँदा भाग्य नभएको भन्दै दोष दिने क्रम बढेसँगै उनले शेयर बजारमा भाग्यभन्दा अध्ययनमा विश्वास गर्नुपर्ने जनाएका छन्। त्यसैको आधारमा पनि लघुवित्तको शेयर बढ्दै गएको उनको दाबी छ।
लघुवित्तको शेयरमा जुवा
अधिकांश लघुवित्तीय संस्थाको शेयरमूल्य अहिले हजार रुपैयाँमाथि र करिब चार हजार मुनिको रेन्जमा पुगेको छ। यसरी शेयर मूल्य बढेका कम्पनीको शेयरमध्ये अधिकांश खेलाडी व्यापारीको हातमा पुगिसकेकाले ठूला लगानीकर्ता लघुवित्त कम्पनीमा झुम्मिने गरेका छन् र, ती कम्पनीको पूरै शेयर आफ्नो हातमा लिएर अपत्यारिलो मूल्यमा बिक्री गरिरहेका छन्।
ठूलो रकम संकलनका लागि समूहमा मिलेर तिनीहरुले यस्ता कम्पनीको शेयरको कारोबार गरिरहेको तथ्यसमेत बाहिर आएको छ। मूल्य बढाउन उनीहरुले समूहभित्रै कारोबार घुमाउने गरेका छन्। त्यसैले बजार बढ्दा सबैभन्दा बढी लघुवित्त कम्पनी र मूल्यलाई नियन्त्रणमा राखिएको छ। चन्द्रागिरी हिल्स, नेसनल हाइड्रो, माउन्टेन इनर्जीलगायत केही साना जलविद्युत कम्पनी, विशाल बजार, शिवम सिमेन्ट, हिमालयन डिस्टिलरी, राष्ट्रिय बीमा कम्पनीहरुको मूल्य बढाउने र बजार घट्दा घटाउने खेलमा लागेका छन् । यस्तो प्रवृत्ति मौलाउँदै जाँदा विशेषगरी साना लगानीकर्ता फस्ने जोखिम बढ्दै गएको शेयर विश्लेषकले बताउन थालेका छन्।
लघुवित्त कम्पनीको शेयर पर्ने दुई प्रतिशत मात्रै
पछिल्लो समय आइपिओ १७ लाखभन्दा बढीले भर्ने गरेका छन्। तर, लघुवित्त कम्पनीको आइपिओ हात पार्नेको संख्या जम्मा ३५–४० हजार मात्रै रहेको जानकार बताउँछन्। शेयर परे पनि जम्मा १० कित्ता पर्छ, जसमा कूल आइपीओ आवेदन दिएकामध्ये दुई प्रतिशत मात्रै ‘भाग्यमानी’ सावित हुने गरेका छन्।
पछिल्लो समय एक हजार लगानी गरेर १० कित्ता शेयर पर्ने लगानीकर्ताको शेयर मूल्य दुई महिनाको अवधिमा ५० हजारभन्दा बढी आम्दानी गर्न सफल भएका छन्। महिला लद्युवित्त कम्पनीको दुई महिनासम्म लगातार मूल्य बढेर बिहीबार सम्ममा ५ हजार ३० रुपैयाँ पुगेको छ।
१० करोड चुक्ता पुँजी रहेको महिला लघुवित्तको जगेडा कोष १९ करोड १८ लाख रुपैयाँ. छ। कम्पनीले चैत मसान्तसम्म ६ करोड ४२ लाख खुद नाफा कमाएको छ। कम्पनीको प्रति शेयर आम्दानी ८५ रुपैयाँ ६६ पैसा छ।
यो कम्पनीको गत फागुन १४ गते मात्रै प्राथमिक शेयर आइपिओ बाँडफाँट भएको थियो। ३७ हजार ४ सय जनाले १० कित्ताका दरले शेयर पाएका थिए । शेयर पाएको ठीक ६९ दिनपछि बिहीबार कम्पनीको शेयर प्रति कित्ता ५ हजार ३० रुपैयाँ पुगेको छ।
६९ दिनअघि १ हजार रुपैयाँ लगानी गरेर १० कित्ता शेयर पाएका लगानीकर्ताको सम्पत्ति मूल्य बिहीबार ५० हजार ३० रुपैयाँ पुगेको छ। उक्त शेयर बेच्नेले (तिर्नुपर्ने कर र कमिसनबाहेक) ४९ हजारभन्दा बढी खुद नाफा कमाएका छन्।
डिम्याट खाता ३५ लाख नाघ्याे
पछिल्लो समय आइपीओमा लगानीकर्ताको आकर्षण बढ्दो छ। आइपीओ निष्कासन गर्ने हरेक कम्पनीमा आवेदनको नयाँ रेकर्ड कायम हुँदै आएको छ। डिम्याट खाता खोल्ने लगानीकर्ताको संख्या नै ३५ लाख नाघेको नेप्सेले जनाएको छ।
पछिल्लो समय नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपिओ निष्कासनपछि डिम्याट खाता खोल्नेहरु अत्यधिक बढ्न थालेका छन्। त्यसपछि खाता खोल्नेहरु नै ५० प्रतिशतभन्दा बढी पुगेका छन्।
इन्फ्रास्ट्रक्चर बैंक शेयर मार्केटमा आएपछि केही समय लगातार रुपमा बढ्दै गएर ७ सय २१ रुपैयाँसम्म पुगेको थियो। त्यसपछि आइपीओ निष्कासन गर्ने चन्दागिरी हिल्सको शेयर मूल्य पनि बढेर २ हजार ७ सयभन्दा बढी पुगेको थियो। तर, अहिले घट्दै गएको छ।
त्यस्तै केही समयअघिसम्म आइपीओ नै बिकाउन मुस्किल पर्ने हाड्रोपावर कम्पनीको शेयर मूल्यसमेत अहिले उच्च रुपले बढ्दै गएको छ। पछिल्लो समय आइपीओ निष्कासन गरेको ग्रीन लाइफ हाइड्रोपावर र सिंगटी हाइड्रोको पनि दैनिक रुपमा बढेर ५ सयभन्दा बढी पुगिसकेको छ।
केहि समयअघि मात्रै आइपीओ निष्कासन गरेको ज्योति लाइफ इन्स्योरेन्सको सेयर मूल्यसमेत प्रति कित्ता हजार रुपैयाँ नजिक पुगेको थियो।































प्रतिक्रिया