बजेट अधिवेशनका लागि संसद् सचिवालय तयारी अवस्थामा, सरकार भने अलमलमै (भिडियोसहित)

बजेट अधिवेशनका लागि संसद् सचिवालय तयारी अवस्थामा, सरकार भने अलमलमै (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

हामीले हरेक दिन दिनभरका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं। 

संविधानमा गरिएको व्यवस्था अनुसार हरेक वर्षको जेठ १५ गते संघीय संसद्को संयुक्त सदनमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्नु पर्छ तर, यसवर्ष आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट संसदमा प्रस्तुत गर्ने सम्बन्धमा सरकार मौन छ। यद्यपि संघीय संसद सचिवालयले भने बजेट अधिवेशन सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी गरेको जनाएको छ। तर, यो वर्ष प्रि–बजेटमाथि छलफल चलाउन भने नसकिने सचिवालयले जनाएको छ। 

नेपालमा केहि दिनयता नयाँ संक्रमित हुनेको संख्या बढ्दै गएको भएपनि सोमबार पुनः बढेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घन्टामा गरिएको परीक्षणका आधारमा थप ९ हजार २ सय बढीमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो। यता, संक्रमण मुुक्त हुनेको संख्या पनि बढेको छ। 

सोमबारको तथ्यांक अनुसार थप ५ हजार ७ सय ६७ सहित कुल निको हुनेको संख्या ३ लाख ४५ हजार बढी भएको छ। यसैबीच अर्थमन्त्री विष्णुप्रसाद पौडलले कोभिड–१९ रोकथाम, तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री, उपकरण र औषधीको भन्सार जाँचपासलाई तीब्रताका साथ अगाडि बढाउन भन्सारसँग सम्बन्धीत निकाहरूलाई निर्देशन दिएका छन्। 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले कम्युनिस्टहरूको एकतालाई देशी विदेशी शक्तिहरूको योजनामा फुटाइएको बताएका छन्। नेता श्रेष्ठले नेपाली क्रान्तिलाई अगाडि बढाउन र समाजवाद स्थापना गरी कम्युनिष्ट आन्दोलनलाई विश्व साम्यवादको दिशातिर लैजाने उद्देश्य प्राप्तिका लागि कम्युनिष्ट पार्टीहरुको एकता आवश्यक रहेको बताएका छन्। नेता श्रेष्ठले विगतमा पार्टी एकता गर्नु गल्ती तथा कमीकमजोरी नभएपनि समयमै विभिध विषयमा ध्यान दिन नसक्नु दुर्घटना व्यहोर्नु परेको पनि बताएका छन्। 

नेपालको पुँजीबजार लगातार दोस्रो दिन दोहोरो अंकले बढेको छ। आइतबार निषेधाज्ञायताकै उच्च अंकले बढेको नेप्सेमा आज पनि दोहोरो अंकको वृद्धि देखिएको हो। साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २०.७१ अंकले बढेर २७५९.२२ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ४.४५ अंकले बढेर ४९२.५९ विन्दुमा कायम भएको छ। 

पत्रकार महासंघले कोरोना महामारीका बेला विभिन्न बहानामा पत्रकारलाई कामबाट ननिकाल्न निजि सञ्चार गृहहरुलाई आग्रह गरेको छ। महामारीको दोस्रो लहरमा पनि नीजि सञ्चार गृहहरुले श्रमजिवी पत्रकारहरुलाई निकाल्न थालिएको सूचना आएको भन्दै महासंघले कुनै पनि वहानामा पत्रकारलाई रोजगारी नखोस्न चेतावनी दिएको हो । महासंघले महामारीको समयमा पत्रकारहरु फ्रन्टलाइनमा बसेर काम गरिरहेको भन्दै फ्रन्टलाइनरको परिभाषाभित्र पत्रकारहरुलाई पनि समेटेर त्यही प्रकारको सेवा सुविधा र व्यवहार गर्न पनि सरकारसँग आग्रह गरेका छन्।

Logo