कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले निषेधाज्ञामा किसानको समस्या सम्बोधनका लागि आवश्यक सहजीकरण गर्ने काम भएको बताएकी छिन्।
गत वर्षको बन्दाबन्दीमा किसानहरु प्रत्यक्ष मारमा परेकाले त्यसबाट पाठ सिक्दै अहिलेको बन्दाबन्दीमा किसानका कामलाई सहज हुनेगरी व्यवस्था मिलाइएको मन्त्री अर्यालले बताइन्।
मन्त्री अर्यालले किसानले उत्पादन गरेको कृषि उपजको आयात, निर्यात, ढुवानी, मल, बिउ, औषधिको ओसार–पसार, मासु, अण्डा, दुधजस्ता सबै वस्तु तथा सामानका सवारीसाधनलाई निर्वाध रुपमा सञ्चालन गर्ने व्यवस्था मिलाइएको बताइन्। अहिले देशका केही स्थानमा कृषि उपजको बजारीकरणमा समस्या देखिएको गुनासो आएको र यसलाई सम्बोधन गर्न ७ प्रदेशका कृषि मन्त्री र सचिवसँग छलफल गर्न लागिएको बताइन्।
यस्तै कोभिड संक्रमणको जोखिम बढ्दै जाँदा बन्दाबन्दी लम्बिन सक्ने र यसले कृषि क्षेत्रलाई थप असर गर्ने कुरालाई ध्यान दिंदै किसान तथा व्यवसायीलाई सरकारले गर्न सक्ने सहयोग बारे अध्ययन/छलफल गर्न मन्त्रालयले कार्यदल बनाएको पनि मन्त्री अर्यालले बताइन्। यो कार्यदलले बन्दाबन्दीले किसालाई पर्न गएको असुविधा र क्षतिको मुल्यांकन गरी क्षतिपूर्ति दिने बारे पनि सुझाव दिने मन्त्री अर्यालले बताइन्।
कृषिमन्त्री अर्यालले कृषि उपजको अनलाइन बजार र कृषि एम्बुलेन्सको अवधारणामा छलफल भइरहेको बताइन्। यस्तै देशका केही कृषि बजारहरुलाई खुला राख्नेगरी तयारी भइरहेको बताइन्। अघिल्लो पटकजस्तो दुःख अहिले किसानले भोग्न नपरेको मन्त्री अर्यालको भनाइ छ। कृषि मन्त्रालयले सबै तहका सरकार र सरोकारवालाहरुसँग समन्वय गरेर काम भइरहेको बताइन्।





























प्रतिक्रिया