कोरोना महामारीमा पनि किन उकालो लाग्दैछ शेयर बजार?, यसो भन्छन् शेयर विश्लेषक

कोरोना महामारीमा पनि किन उकालो लाग्दैछ शेयर बजार?, यसो भन्छन् शेयर विश्लेषक


नयाँ वर्षसँगै नयाँ नयाँ रेकर्ड राख्न सुरु गरेको शेयर बजार मापक नेप्से परिसूचकले एक महिनाअघिको रेकर्ड ब्रेक गर्न थालेको छ।

यस वर्षको शेयर कारोबारको  पहिलो दिन गत बैशाख २ गते शेयर बजारले नयाँ रेकर्ड कायम गरेको थियो। एक महिनापछि जेठ २ गते आइतबार र जेठ  ३ गते सोमबार लगातार उक्त रेकर्ड तोेड्दै नयाँ रेकर्ड कायम भएको छ। 

यसअघि बैशाख २ गते नेप्से परिसूचक २ हजार ७ सय ३५ दशमलव ४६ अंक पुगेको थियोे। तर, उक्त रेकर्ड ब्रेक गर्दै आइतबार नयाँ रेकर्ड कायम गरेको थियो।

आइतबार अर्थात् साताको पहिलो दिन सूचक दोहोरो अंकले बढेको थियोे। आइतबार ५४ दशमलव २६ अंकले बढेर २ हजार ७ सय ३८ दशमलव ३५ को बिन्दुमा पुगेर अहिलेसम्मकै अलटाइम हाइ भएको थियो। 

आइतबार कारोबार रकमसमेत अहिलेसम्मकै उच्च भएको छ। त्यस दिन कारोबारमा आएका २ सय १४ कम्पनीको २ करोड १३ लाख २८ हजार ८ सय ८२ कित्ता शेयर १० अर्ब ४० करोड ३८ लाख ७९ हजार रूपैयाँ बराबरमा कारोबार भएको थियो।

तर, सोमबार कारोबार रकममा केही गिरावट भए पनि नेप्से परिसूचकले आइतबारको रेकर्ड ब्रेक गर्दै नयाँ रेकर्ड बनाएको छ। सोमबार नेप्से सूचक २० अंकले बढेर नयाँ उचाइमा पुगेको छ। २०.७१ अंकले बढेर नेप्से २ हजार ७ सय ५९ दशमलव २२ विन्दुमा पुगेको छ। योे विन्दु अहिलेसम्मकै अलटाइम हाइ हो।

आइतबार १० अर्ब ४० करोड रुपैयाँको शेयर कारोबार भएकोमा सोमबार  थोरै रकम घटेर ९ अर्ब ५७ करोड रुपैयाँको शेयर कारोबार भएको छ।

सोमबार कारोबारमा आएका १३ उपसमूहमध्ये १० उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी ३ उपसमूहको सूचक नकारात्मक देखिएको छ। 

यता मंगलबार पनि उच्च रेकर्ड कायम भएको छ । ३४.६८ अंकले बढेर २ हजार ७९३ विन्दुमा पुग्यो । यो हालसम्मकै नयाँ रेकर्ड हो ।

एक महिना अवधिमा नेप्से परिसूचक २३ दशमलव ७६अंकले बढेको छ। कारोना महामारीको दोस्रो लहर नेपालमा तीव्र गतिमा बढेसँगै संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले  गत वैशाख १६ देखि काठमाडौं उपत्यकालगायत प्रायः सबै जिल्लामा निषेधाज्ञा जारी रहेको छ। निषेधाज्ञाको अघिल्लो दिन बैशाख १५ गते बुधबार नेप्से १३ दशमलव ७९ अंकले घटेर २ हजार ५ सय ८५ अंकमा झरेको थियोे।

तर, निषेधाज्ञा लागेको दिन वैशाख १६ गतेदेखि नै शेयर बजार उकालो लाग्न सुरु गरेको थियोे। निषेधाज्ञा लागू भएपछि विभिन्न क्षेत्र बन्द भएसँगै  सेयर बजारतर्फ लगानीकर्ताको आकर्षण बढेको हो। उक्त दिन सेयर कारोबार मापक नेप्से परिसूचक २५ दशमलव ८२ अंकले बढेर २ हजार ६ सय ११ दशमलव १० मा पुगेको थियो।

निषेधाज्ञा लागू भएको तेस्रो दिन वैशाख १९ गते आइतबार सेयर बजार ५४ अंकले बढेर नेप्से परिसूचक  २ हजार ६ सय ६५ दशमलव १० विन्दुमा पुगेको थियोे। यसरी निषेधाज्ञाको अवधिमा केही दिन सामान्य अंकले गिरावट आए पनि पछिल्लो दुई दिनदेखि नयाँ रेकर्ड बनाउन सुरु गरेको छ।

धेरै समयपछि बजारमा १० अर्ब बढीको कारोबार भएपछि बजारमा ठूला लगानीकर्ता प्रवेश गरिएको आँकलन गरिएको छ। निषेधाज्ञाको समयमा अन्यत्र लगानी गर्ने वातावरण नभएको भन्दै ठूला लगानीकर्ता शेयर बजारमा  प्रवेश गरेका शेयर बजार विश्लेषक अम्बिका पौडेल बताउँछन्।  

उनका अनुसार पछिल्लो समय नेपालमा राजनीतिक अस्थिरता बढ्दै गएको थियो। राजनीति अस्थिरतापछि नयाँ सरकारमा को आउने भन्ने अन्योल कायम थियोे। तर, अहिले  राजिनीतिले नयाँ दिशा लिएको र केही निकास लिएसँगै कन्फ्युजनमा रहेका ठूला लगानीकर्ता र बजार बुझेका लगानीकर्ता बजार प्रवेश गरेका छन्।

‘शेयर बजार बुझेका र ठूला लगानीकर्ताको प्रवेश भएकाले शेयर बजार अझ  माथि जाने सम्भावना बढेको छ। राम्रो कम्पनीमा ढुक्क भएर लगानी गर्दा हुन्छ,’ पौडेल भन्छन्।

यस बेला  बजारमा लगानीकर्ताको मनोबल बढेको र बजारले पनि अलटाइम हाइको रेकर्ड बनाउँदै गएकाले  आगामी दिनमा यसले निरन्तरता पाउने पौडेलको भनाइ छ।

त्यस्तै, नेपाल इन्भेस्टर फोरमका अध्यक्ष छोटेलाल रौनियार विदेश बस्ने नेपालीले पनि विदेशबाट शेयरमा लगानी गर्न थालेका तथा नेपालका ठूला र साना लगानीकर्ता समेत बजारमा  प्रवेश गरेको बताउँछन् । 

निषेधाज्ञाका कारण अन्य क्षेत्रमा लगानी गर्न बन्द रहेकाले बजारमा लगानी बढ्न थालेकाले नेप्से परिसूचक उकालो लाग्न थालेको र  आगामी दिनमा बजार अझै बढ्ने उनको भनाइ छ। 

अहिले खासगरी निषेधाज्ञाको अवधिमा बैंकको ब्याज दर एकदमै कम भएको, सहजै केही दिनमै शेयर लोन पाउन थालेका, बैंकलाई लगानी गर्ने अन्य ठाउँ हाल बन्द रहेको र बेस रेटसमेत घटेकाले शेयर बजारमा चमक आउन थालेको छ।  

‘अहिले अनलाइनमार्फत् कारोबार हुन थालेको छ। गत वर्षको चैत महिनासम्म करिब ५÷६ हजार मात्र कारोबार गर्ने गरेकोमा अहिले बढेर ६ लाखमाथि पुगेको छ। अनलाइन कारोबारमा राम्रो सुधार र जुनसुकै देशबाट अनलाइनमार्फत् कारोबार गर्न मिल्ने भएकाले पनि कारोबार रकम बढ्दै गएको छ,’ रौनियार भन्छन्।

त्यस्तै, कोभिडको कारणले अझै ६ महिनाजति बैंकहरुको ब्याजदर नबढ्ने उनको अनुमान छ। अहिले सूचक उच्च अंकमा पुगेको भए पनि ७० प्रतिशत कम्पनीको शेयर मूल्य बढ्न बाँकी रहेकले रियल बुलिस मार्केट अब देखिने अध्यक्ष रौनियार बताउछन् ।  

अहिले  टेलिकम, निफ्रा, एनआरआईसी, चन्द्रागिरी, विशाल बजार कम्पनी, साल्ट ट्रेडिङ, हिमालय डिस्टिलरी, तामाकोशी, शिवम सिमेन्ट,महिला लघुवित्त, बिमा कम्पनीजस्ता कम्पनीको  कारण सूचक उच्च भए पनि बढी बाहुल्य रहेको बैंक तथा वित्तीय संस्थाको शेयर मूल्य अझै नबढेको उनको भनाइ छ। 

कुल पुँजीबजारमा ७० प्रतिशत हिस्सा ओगटेको बैंक, विकास बैंक, फाइनान्स, इन्स्योरेन्स समूहको मूल्य अझै तुलनात्मक रुपमा कम भएकाले यी कम्पनीको मूल्य बढेपछि बुलिस मार्केट देखिने रौनियार बताउँछन्।

 साथै, नियामकको कदम र बजार विकास विस्तारका  लागि भएको विभिन्न कार्यले पनि बजारमा टेवा पुगेको उनी बताउँछन्। 

अहिले लगानीकर्ताले तत्काल फाइदा खोज्न थालेकाले कम्पनी जस्तो भए पनि लगानी गरिहाल्ने गरेका छन्।

बजारमा राम्रो नाफा दिएका तथा राम्रो  वितीय विवरण भएका कम्पनी छाडेर  अहिले भर्खरैका कम्पनीमा लगानी बढेको छ। 

यसमा मूल्य बढ्दा राम्रो नै होला, तर घट्दै जाँदा पछुतो मान्नुपर्ने अवस्था आउने भएकाले बढ्दो बजारमा जथाभावी लगानी नगरी आफुले खरिद गर्ने कम्पनीबारे जानकारी लिएर, जोखिम बहन गर्ने आफ्नो क्षमतालाई हेरेर मात्र लगानी गर्न लगानीकर्तालाई उनको सुझाव छ ।

शेयर बजारले विस्तारै गति लिन थालेकाले सबैले बुझेर राम्रो कम्पनीमा लगानी गर्दा खेर जाँदैन्। विदेशमा रहेका नेपाली लगानिकर्ताले १० अर्बभन्दा बढि लगानी गर्ने र आगामी २०७८ सालभरिमा १५ देखि २० अर्ब दैनिक कारोबार पुग्ने उनको अनुमान छ।

Logo