एकै दिन तेह्र वटा अन्तर्राष्ट्रिय उडान, कुन देशमा कुन एयरलाइन्स?

एकै दिन तेह्र वटा अन्तर्राष्ट्रिय उडान, कुन देशमा कुन एयरलाइन्स?

केन्द्रबिन्दु
0
Shares

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज एकै दिन १३ अन्तर्राष्ट्रिय उडान भएका छन्। विभिन्न एयरलाइन्सका उद्धार, चार्टर्ड, मेडिकल र एयर बबल गरी १३ उडान निर्धारण गरिएको विमानस्थल कार्यालयले जनाएको छ। 

विमानस्थलले उपलब्ध गराएको तथ्याङ्कअनुसार आज नेपाल वायु सेवा निगम (एयरलाइन्स) को सबैभन्दा बढी सात र हिमालय एयरलाइन्सको चार उडान उडान तालिका रहेको छ। नेपाल एयरलाइन्सले चीनको बेइजिङ, सेनजेनमा समान एक तथा साउदी अरेबियाका दमाममा दुई उडान र रियादमा एक उडान भर्ने कार्यतालिका छ। भारतको नयाँ दिल्लीमा नियमित एक उडान हुनेछ। 

यस्तै हिमालय एयरलाइन्सले चीनको कुनमिङमा तीन र दमाममा एक उडान गर्नेछ। सिचुवान एयरले छेन्दुबाट कार्गो काठमाडौँ ल्याउँदैछ भने एयर चार्टर्ड सर्भिसको काठमाडौँ–दिल्ली उडान भएको छ। मङ्गलबार ११ उडान निर्धारण गरिएको थियो। आन्तरिकतर्फ हेलिकोप्टर कम्पनी तथा एयरलाइन्सका गरी १० उडान सञ्चालन हुनेछन्। निषेधाज्ञाको जारी अवधिमा पनि आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा उद्धार, चार्टर्ड तथा कार्गो उडान भइरहेका हुन्।
 
अन्तर्राष्ट्रिय उडानमाथिको प्रतिबन्ध जेठ १७ सम्म लम्बिएको छ । कोभिड महामारी नियन्त्रणका लागि सरकारले वैशाख २३ गतेदेखि नेपालमा अन्तर्राष्ट्रिय हवाई उडानमाथि प्रतिबन्ध लगायतको थियो। आन्तरिक उडान पनि वैशाख १६ देखि स्थगित छ। यो बीचमा नेपाल र भारतबीच भएको एयर बबल सम्झौताअनुरुप दुई मुलुकको उडानलाई भने निरन्तरता दिइएको छ। उक्त सम्झौताअनुरुप सातामा दुई उडान कायम राख्ने गरी उडान सञ्चालन भइरहेको छ। 

राजधानी काठमाडौँ उपत्यकाको निषेधाज्ञा जेठ १३ सम्म लम्ब्याउने निर्णय भएको छ। गत वैशाख १६ देखि उपत्यकासहित देशका विभिन्न स्थानमा निषेधाज्ञा लागू गरिएको छ। अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिकतर्फ १० हेलिकोप्टर कम्पनीसहित १९ वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन्। अन्तर्राष्ट्रियमा तीन नेपालीसहित २० वायुसेवा प्रदायकले उडान सञ्चालन गरिरहेका छन्।

Logo