मौसम अनुकूल भएसँगै आरोहीहरू सगरमाथा शिखरतर्फ

मौसम अनुकूल भएसँगै आरोहीहरू सगरमाथा शिखरतर्फ

केन्द्रबिन्दु
0
Shares

मौसम अनुकूल भएसँगै सगरमाथा आरोही शिखरतर्फ हिँडेका छन् । ताउ–ते आँधीका कारण मौसम प्रतिकूल हुँदा आधारशिविर र शिविर–२ मा रहेका अधिकांश आरोही आज शिखरतर्फ लागेका पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए।

उनका अनुसार आज बिहानदेखि सगरमाथा आरोहण जारी छ। ताउ–ते आँधीका कारण मौसम प्रतिकूल हुँदा गत वैशाख २९ गतेयता आरोहण हुन सकेको थिएन। सगरमाथा आधारशिविरमा रहेका पर्यटन विभागका सम्पर्क अधिकृत श्रेष्ठका अनुसार आज एकै दिन करीब २०० आरोही चौथो शिविरबाट शिखरतर्फ लागेका छन्। उनका अनुसार अहिले आरोहण भइरहेको भए पनि के कतिले आरोहण गरे भन्ने विवरण प्राप्त भएको छैन ।

शेर्पा आरोही समूहले गत वैशाख २४ गते शिखरसम्मको बाटो बनाएपछि यस वर्षको वसन्त यामको आरोहण सुरु भएको थियो । वैशाख २८ र २९ गते करीब १७० आरोही सगरमाथा शिखरमा पुगे पनि त्यसपछि आरोहण रोकिएको थियो । 

अब झण्डै एक हप्ता मात्रै आरोहणका लागि मौसम अनुकूल हुने भएकाले मौसम खुल्नसाथ आरोही शिखरतर्फ लागेका आरोहणमा गएका क्लाइम्बिङ गाइड पेम्बादाबा शेर्पाले बताए। यस वर्ष सगरमाथा आरोहणका लागि ४०८ ले अनुमति लिएका छन् ।

अनुमति लिएकै सङ्ख्याभन्दा केही बढी उनीहरुका सहयोगीसमेत हुने भएकाले यस वर्ष सगरमाथा आरोहणका लागि ८५० भन्दा धेरैको तयारी छ।

वसन्तयामको सगरमाथा आरोहणका क्रममा अहिलेसम्म एक नेपाली गाइडसहित तीन जनाको मृत्यु भएको छ। आरोहण सकेर फर्कने क्रममा स्वीजरल्यान्डका अब्दुल वारिचको साउथ समिटमा मृत्यु भएको थियो भने शिखरतर्फ जाँदै गरेका अमेरिकन नागरिक पुवई लिउको चौथो शिविरमा बिरामी भएर तल झार्ने क्रममा मृत्यु भएको थियो।

यस्तै क्याम्प १ र २ को खर्पासमा परेर एक नेपाली गाइडको मृत्यु भएको पर्यटन विभागका निर्देशक मीरा आचार्यले जानकारी दिइन्।

Logo