स्वास्थ्य संस्था पुनर्निर्माणमा सरकारको सुस्तता, एक वर्षमा एउटा पनि पुनर्निर्माण भएन

स्वास्थ्य संस्था पुनर्निर्माणमा सरकारको सुस्तता, एक वर्षमा एउटा पनि पुनर्निर्माण भएन


आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्वेक्षणका अनुसार २०७२ सालको भूकम्पले क्षति पुर्याएका स्वास्थ्य संस्था भवनमध्ये एउटा पनि यस वर्ष पुनर्निर्माण हुन सकेन। आर्थिक सर्वेक्षणमा समावेश गरिएका क्षतिग्रस्त सार्वजनिक संरचनाको पुनर्निर्माण सम्बन्धी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको २०७७ फाल्गुणसम्मको तथ्याङ्कले त्यस्तो देखाएको हो। 

भूकम्पले १ हजार १ सय ९७ स्वास्थ्य संस्था भवनमा क्षति पुर्याएकोमा २०७६/७७ सम्म ६ सय ९८ भवनको पुनर्निर्माण सम्पन्न भएको थियो। त्यसपछि पुनर्निर्माण हुन बाँकी रहेका ४ सय ९९ स्वास्थ्य संस्था भवनमध्ये २०७७/७८ को फाल्गुणसम्ममा एउटा पनि पुनर्निर्माण हुन नसकेको हो। हाल भूकम्पले क्षति पुर्याएका स्वास्थ्य संस्था भवनमध्ये १२ प्रतिशत निर्माणाधिन रहेका र २९.७ प्रतिशतको पुनर्निमाण सुरु हुन बाँकी रहेको तथ्याङ्कले देखाएको छ। अर्थात् ३ सय ५५ भवनहरूको पुनर्निर्माण सुरु समेत भएको छैन। 

आर्थिक सर्वेक्षण २०७७/७८ मा समावेश गरिएको भूकम्पले क्षति गरेका सार्वजनिक संरचना पुनर्निर्माणको स्थिति (संख्यामा)

कोरोना भाइरसको पहिलो लहर नेपालमा आ.व. २०७६/७७ को मध्यतिरै सुरु भएको थियो। २०७६/७७ मा भूकम्पले क्षति पुर्याएका ३३ स्वास्थ्य संस्था भवनको पुनर्निर्माण सम्पन्न भएको थियो। तर, आ.व. २०७७/७८ को अन्त्यतिर दोस्रोलहर सुरु हुँदासम्म थप कुनै पनि स्वास्थ्य संस्था भवन पुनर्निर्माण नहुनुले कोरोना भाइरसको पहिलो लहरपछि पनि स्वास्थ्य संस्थाहरूको पुनर्निर्माणमा सरकारको ध्यान नगएको प्रष्ट पारेको छ। 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सरकारी भवन, विद्यालय भवन र सुरक्षा निकायका भवनलाई प्राथमिकतामा राखेको तथ्याङ्कले देखाउँछ। भूकम्पले क्षति पुर्याएका ४ सय १५ सरकारी भवनमध्ये ६१ वटाको पुनर्निर्माण सम्पन्न हुन बाँकि छ। त्यस्तै ७ हजार ५ सय ५३ विद्यालय भवनमध्ये १ हजार ३ सय ७ को पुनर्निर्माण सम्पन्न हुन बाँकि छ। त्यस्तै २ सय १६ सुरक्षा निकाय भवनमध्ये ९ वटाको मात्र पुनर्निर्माण कार्य बाँकि छ।   

आर्थिक सर्वेक्षण २०७७/७८ मा समावेश गरिएको भूकम्पले क्षति गरेका सार्वजनिक संरचना पुनर्निर्माणको स्थिति (प्रतिशतमा)

२०७५/७६ देखि सुस्त हुन थालेको स्वास्थ्य संस्था भवन पुनर्निर्माण २०७७/७८ पुग्दा ठप्प हुन पुगेको छ। तथ्याङ्कका अनुसार २०७२/७३, २०७३/७४ र २०७४/७५ मा क्रमशः ८३, २ सय ९६ र २ सय ६४ स्वास्थ्य संस्था भवन पुनर्निर्माण गरिएका थिए। तर, त्यसपछि भने स्वास्थ्य संस्थाका भवनहरूको पुनर्निर्माणमा भारी गिरावट आएको देखिन्छ। २०७५/७६ मा २२ र २०७६/७७ मा ३३ भवनहरू मात्र पुनर्निर्मित भए।  

पुनर्निर्माणमा कोरोना भाइरसको पहिलो लहरको बन्दाबन्दीले खासै असर नगरेको तर यस लहर सुरु भएसँगै गरिएको बन्दाबन्दीको असर देखिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सह–प्रवक्ता मनोहर घिमिरेले बताएका छन्। 

पहिलो लहरमा बन्दाबन्दीले खासै असर नगरेको भए के कारणले २०७७/७८ मा एउटा पनि स्वास्थ्य संस्था भवन पुनर्निर्माण हुन सकेनन् भन्ने प्रश्नमा घिमिरे बताउँछन्–‘स्वास्थ्य संस्था भवन बन्न एक वर्षभन्दा बढी नै समय लाग्छ। त्यसमाथि स्वास्थ्य संस्थाका भवनहरू हामीले पुनर्निर्माण गर्ने कि स्वास्थ्य मन्त्रालयले गर्ने भन्नेमा अन्योल भयो। तर, पुनर्निर्माण कार्य रोकिएको भने छैन। स्वास्थ्य संस्थाका २९६ भवनहरू बन्दै छन्।’ 

कोरोना महामारीको पहिलो लहरपछि पनि आवश्यक तयारी नगरी दोस्रो लहरमा पनि बन्दाबन्दी मात्र गरेर कोरोना नियन्त्रण गर्नुपर्ने स्थितिमा सरकार रहेको विज्ञहरूले बताउँदै आएका छन्।

संक्रामक रोग विशेषज्ञ डा. समिरमणि दीक्षितले यस अघि केन्द्रविन्दुसँग भनेका थिए–‘ दोस्रो लहर आउँछ भन्ने थाहा हुँदाहुँदै पनि सरकारले आवश्यक संस्थागत तयारी गरेन। सरकारले समाधानका रूपमा लकडाउन बाहेक विकल्प नै देखेन।’      

Logo