हस्तकला विकासका लागि सरकारले लिएको नीति सकारात्मकः महासङ्घ

हस्तकला विकासका लागि सरकारले लिएको नीति सकारात्मकः महासङ्घ

केन्द्रबिन्दु
0
Shares

नेपाल हस्तकला महासङ्घले नेपालको हस्तकला क्षेत्रको विकास र विस्तारका लागि सरकारले लिएको नीति सकारात्मक रहेको बताएको छ। महासङ्घले आर्थिक वर्ष २०७८/०७९ को बजेटको समीक्षा गर्दै कोभिड–१९ का कारण थलिएको नेपाली हस्तकला उद्योगको विकास र विस्तारमा सरकारले खेलेको भूमिका सकारात्मक भएको बताएको हो। 

महासङ्घका अध्यक्ष सुरेन्द्रभाइ शाक्यले कोभिड–१९ बाट थलिएको हस्तकला उद्योग व्यवसायको पुनरुत्थानको निमित्त निकासी अभिवृद्धिको पञ्चवर्षीय लक्ष्यसहित महासङ्घले सरोकारवाला निकायको ध्यानाकर्षण गराएको अवस्थामा सोहीअनुसार बजेट विनियोजन हुनु सराहनीय र स्वागतयोग्य भएको उल्लेख गरे। 

“हस्तकला उद्योग व्यवसाय प्रवर्धनका निमित्त सीपमूलक तालिमको व्यवस्था, उद्योग व्यवसाय सञ्चालनका लागि स्टार्टअफ ऋणको व्यवस्था, कर सहुलियत व्यवस्था, पुनर्कर्जा कोषको निरन्तरता, महिला तथा युवालाई उद्यमशीलताका लागि बजेटलगायतका व्यवस्था सकारात्मक छन्”, उनले भने। 

सार्वजनिक निजी साझेदारी अवधारणाअनुसार स्थापना गरिने सार्क हस्तकला विकास केन्द्रको भवन निर्माणलाई पूर्णता प्रदान गर्ने नेपाल सरकारको प्रतिबद्धता राम्रो भएको महासङ्घको भनाइ छ। प्रशस्त मात्रामा रोजगारीका अवसर उपलब्ध गराउन सरकारी बजेटले सम्बोधन गरिएको सीप विकास तथा रोजगारी मूलक तालिम कार्यक्रम सराहनीय रहेको अध्यक्ष शाक्यले बताए। 

यस्तै महासङ्घले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पेश गरेको हस्तकला नीति कार्यान्वयनमा ल्याउनुपर्ने महासङ्घको सुझावप्रति बजेट मौन रहेको र सातै प्रदेशमा हस्तकला ग्राम स्थापना गर्ने महासङ्घको सुझावलाई बेवास्ता गरिएको महासङ्घले जनाएको छ।

Skip This
Skip This
Logo