कोरोना संक्रमणको दोस्रो लहरका कारण मुलुक यतिबेला महामारीसँग जुधिरहेको छ। महामारी नियन्त्रण गर्न सरकारले डेढ महिनादेखि निषेधाज्ञा जारी राखेको छ।
संक्रमण तीब्ररुपमा फैलिएसँगै अस्पतालहरुमा वेड, अक्सिजन, भेन्टिलेटर, आईसियूको अभाव भएको छ। यसरी अभाव हुन थालेसँगै निजीक्षेत्र तथा विदेशबाट समेत सहयोग बढ्दै गएको छ।
यसरी पछिल्लो दुई हप्तामा कोभिड १९ प्रभावित लक्षित समूहलाई आवश्यक पर्ने अक्सिजन, भेन्टिलेटर, आईसीयू लगायत अन्य स्वास्थ्य सामाग्री खरिदका लागि जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजले दुई करोड रुपैयाँ अनुदान स्वरुप सहयोग प्रदान गरेको छ।
दोस्रो लहर सुरु भएपछि अक्सिजन प्लान्ट र आईसीयू विस्तारका लागि धुलिखेल अस्पताललाई एक करोड पैत्तीस लाखको सहयोग गरिएको थियो।
त्यस्तै नेपालको विभिन्न प्रदेशहरुमा सामुदायिक समूहको प्रयासका लागि सहयोगस्वरुप र पचहत्तर लाखसमेत प्रदान गरिएको छ। सामूदायिक अस्पतालको स्वास्थ्य सेवालाई विस्तार गर्न तथा देशका विभिन्न प्रदेशमा स्थानिय सामूदायिक संस्थाको अग्रसरतामा यी सहयोग भएका हुन्।
नेपाल भेन्टिलेटर सर्भिसलाई हाइफ्लो क्यानुलास (नन इन्भेन्सिभ) भेन्टिलेटर खरिद गर्न सहयोग गरिएको छ। वीरगंज महानगरपालिकामार्फत वीरगञ्ज, पर्सामा अस्थायी कोभिड अस्पताल सञ्चालनको लागि सहयोग भएको छ।
त्यस्तै, ललितपुर महानगरपालिका र ज्यापु समाजको सहयोगमा ललितपुरका रोटरी क्लबहरुमार्फत संचालित आइसोलेसन सेन्टरका लागि उपकरण र सामाग्री खरिद गरेको छ।
विराटनगर, मोरङमा अक्सिजनसहितको आइसोलेसन सेन्टर सञ्चालनको लागि रोटरी क्लब अफ विराटनगर युनिकलाई सहयोग गरिएको छ। रोटरी क्लब अफ विर्तामोडलाई झापामा अक्सिजन बैंक संचालन गर्न सहयोग गरेको छ। रोटरी क्लब अफ धनगढीलाई कैलालीमा अक्सिजन बैंक संचालन गर्न सहयोग गरेको छ।
त्यस्तै, आर्थिक मात्रै नभएर देशभरि आफ्नो ग्राहक तथा स्थानिय समुदायको लागि पाँच लाख फेस मास्क वितरण गरेको कम्पनीले जनाएको छ।
जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजका अध्यक्ष विजयकुमार शाहले समुदायलाई आवश्यक परेको बेला सहयोग गर्ने बताए। उनले आफ्नो ब्यक्तिगत क्षमतामा खाँचो परेका र बञ्चित समुदायलाई वर्षेनी लाखौं रुपैयाँ सहयोग गर्दै आएका छन्। शाह नेपालको सबैभन्दा बढी कर तिर्ने ब्यक्तिगत करदाता पनि पनि हुन्।





























प्रतिक्रिया