पछिल्लो समय नेपालमा कोरोना महामारीको दोस्रो लहर फैलिएसँगै सरकारले रोकथाम तथा नियन्त्रणका लागि एक महिनादेखि अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरेको छ।
गत वर्ष पनि कोरोना महामारीकै कारण ८ महिनासम्म लकडाउन र निषेधाज्ञा भएको थियोे । तर गत वर्ष सबैलाई डर भएपनि अहिलेको जस्तो मुलुक आक्रान्त बनेको थिएन । तर दोस्रो लहरले भयावहको अवस्था सिर्जना गरेको छ। अस्पतालहरुमा वेड, आईसियु, भेन्टिलेटर, अक्सिजनको हाहाकार भएको छ।
सुरुका दिन भन्दा अहिले अस्पतालहरुमा वेड, अक्सिजन पाउन थालेको छ। यस्तो जोखिम अवस्थामा निजी क्षेत्रले पनि कोरोना महामारी व्यवस्थापनमा उदाहरणीय काम गर्दै आएका छन्। निजी क्षेत्रका संघ–संस्था तथा उद्योगी व्यवसायीहरुले व्यक्तिगतरुपमा महामारी व्यवस्थापनमा आर्थिक तथा भौतिक सहयोग गरिरहेका छन्।
कतिपय सामान्य परिवार तथा निजी क्षेत्रमा काम गर्ने मानिसहरु कोरोना संक्रमण भएर उपचार गर्न खर्चसमेत नभएर ज्यान गुमाउन बाध्य छन्। ज्यान गुमाउनेहरुमा सरकारी निकायमा काम गर्ने कर्मचारीसमेत छन्। तर यो महामारीमा आफ्ना कर्मचारी संक्रमित भएर उपचार गर्न तथा गम्भीर बिरामी भएर विरामी भएको स्थानमा उपचार असम्भव हुँदा तत्काल हेलिकोप्टर चार्टर गरेर काठमाडौंमा ल्याएर सिटिजन्स बैंकले उपचार सुरु गरेको छ।
यस्तो अवस्थामा आफू कार्यरत संस्थाले सामान्य कर्मचारीको लागि हेलिकोप्टर चार्टर गरेर काठमाडौं ल्याएर उपचार गर्ने वीरलैले मात्र रहेका छन्। तर यो काम सिटिजन्स बैकले गरेको छ।
सिटिजन्स बैंकले काठमाडौं उपत्यका लगायत देशैभरका बैंकमा काम गर्ने कर्मचारी गम्भीर बिरामी तथा कोरोना संक्रमित हुँदा कर्मचारीको ज्यान जोगाउन जस्तोसुकै काम गर्ने गरेको बैंकका प्रवक्ता नारायणराज अधिकारीले बताए। उनका अनुसार बैकले कोभिड संकटका बेला कर्मचारीहरुको उद्धार, उपचार तथा सहयोग गर्नका लागि क्वीक रेसपोन्स टिम गठन गरेको छ। जसले कर्मचारी संक्रमित भएमा तुरुन्तै उपचार तथा परामर्शको व्यवस्थापन गर्दै आएको छ।
जुम्लामा काम गर्ने कर्मचारी सिमीकोटका खडग उपाध्यायलाई कोरोना संक्रमण भयो । जुम्लामा नै उपचार सुरु गरिएको थियोे । तर उनको अवस्था एकाएक बिग्रियो । त्यही उपचार गर्न अक्सिजन तथा आईसियुको व्यवस्था नभएकाले उनको ज्यान बचाउनका लागि तत्काल काठमाडौं ल्याउनुपर्ने भयो। बैंकको कोभिड संकटका बेला कर्मचारीहरुको उद्धार, उपचार तथा सहयोग गर्नका लागि गठन गरेको क्वीक रेसपोन्स टिमले तुरुन्तै पहलकदमी लिएर। हेलिकोप्टर चार्टर गरी पठाइयो र उपाध्यायको उद्धार गरी काठमाडौं ल्याएर उपचार गरेको अधिकारीले बताए।
उपाध्यायलाई काठमाडौंको मेडिसिटी अस्पतालमा राखेर स्तरीय उपचार गराइयो । हेलिकोप्टर चार्टरदेखि काठमाडौंको हस्पिटल बसाईसम्मको लाखौं खर्चमा उपाध्यायले एक पैसा तिर्नु परेन सबै बैकले नै व्यहोरको छ।
खडग उपाध्याय भन्छन्, ‘निजि संस्था त्यो पनि सामान्य कर्मचारी, बैकबाट यत्रो ठूलो सहयोग पाएर आफूले नयाँ जीवन पाइएला भनेर सोचेको पनि थिएन। तर बैकले हेलिकोप्टर चार्टर गरेर काठमाडौं ल्याएर उपचार गरि नयाँ जीवन दियो।’
'जुम्ला जस्तो विकट ठाउँमा काम गर्न यसरी उपचार गर्ने मेरो क्षमता थिएन।' उनले भने, 'यो कल्पनाभन्दा बाहिरको कुरा थियो। तर कार्यरत सिटिजन्स बैंकले कोभिड १९ बाट ग्रसित भई मृत्युको मुखमा पुगेको अवस्थामा समयमै उद्धार, उपचारसँगै नयाँ जीवन पाएँ।'
'यदि म सिटिजन्स बैंकबाहेक अन्य कुनै बैंक वा कम्पनीमा काम गरिरहेको हुन्थे भने सायद मेरो उपचार सम्भव थिएन। बैंकबाट पनि यस्तो सहयोगको अपेक्षा गरेको थिइनँ। तर बैंकको सहयोगप्रति बोल्ने महसुस गर्ने शब्द मसँग छैन।' यस्तो सहयोग अरु कसैले गर्दैनन् तर बैंकले आफूलाई गरेको उनको भनाइ छ।
सिटिजन्स बैंकले संकटका बेला आफ्ना कर्मचारीलाई दिएको अभिभावकीय भूमिका दिँदै आएको उनी बताउँछन्। संकटमा कोही नभए पनि मेरो अभिभावक, मेरो संस्था छ भन्ने हुँदो रहेछ। उनले भने,‘मलाई गरिएको सहयोगका कारण सायद देशभरका सिटिजन्स बैंकका सदस्यहरुमा उत्साहका साथै उत्प्रेरणा मिलेको छ।’
बैंकले कोभिडको पहिलो लहर सुरु भएदेखि नै मानव संसाधन विभागका सिनियर कर्मचारीसहितको संलग्नतामा क्वीक रेस्पोन्स टिम बनाएर अघि बढेको र पहिलो लहरमा झैं दोश्रो लहरमा पनि त्यही टिमले काम गरिरहेको प्रवक्ता अधिकारीले बताए।
दोश्रो लहरमा हालसम्म कुल संक्रमित भएका १७७ मध्ये १२६ कर्मचारीले कोरोनाविरुद्धको लडाइँ जितिसकेका छन्। अझै ४८ जना सक्रिय संक्रमितको रुपमा रहेका छन्।
उनका अनुसार क्वीक रेस्पोन्स टिमले समस्यामा परेका कर्मचारीहरुको उद्धार, उपचार तथा राहतमा हरसम्भव सहयोग गर्दै आएको छ। बैंकले सकेसम्म महामारीमा परेर कुनै पनि कर्मचारीले ज्यान गुमाउन नपरोस् भनेर बैंकले उनीहरुको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छ।
अहिले सिटिजन्स बैंकको मुख्य कार्यालय र देशभरका शाखा कार्यालयका १७७ जना कर्मचारी कोभिड संक्रमित भएर दोश्रो लहरको चपेटामा परेका छन्। तीमध्ये मेसेञ्जर, ड्राइभर र एक सुरक्षागार्ड गरी ३ जनाले ज्यान गुमाएका छन्।
दोश्रो लहरमा हालसम्म कुल संक्रमित भएका १७७ मध्ये १२६ कर्मचारीले कोरोनाविरुद्धको लडाइँ जितिसकेका छन्। अझै ४८ जना सक्रिय संक्रमितको रुपमा रहेका छन्।
सबैभन्दा बढी बागमति प्रदेशमा ७७ जना र लुम्बिनी प्रदेशमा ७६ जना कर्मचारी संक्रिमत भएका थिए। सबैभन्दा कम गण्डकीमा १ जना, प्रदेश १ मा १५ जना प्रदेश २ मा ५ जना, सुदुरपश्चिममा २ जना र प्रदेश कर्णालीमा ५ जना कर्मचारी संक्रमणको चपेटामा परेका बैंकले जनाएको छ।
बैंकको मुख्य कार्यालयमा गठित क्वीक रेस्पोन्स टिमले प्रादेशिक कार्यालयहरुसँगको सहकार्यमा कोभिड संक्रमित कर्मचारीको स्वास्थ्यको विषयमा दैनिक अपडेट लिने गर्छ।
कुनै कर्मचारीलाई अस्पताल, बेड, अक्सिजन वा अन्य कुनै सहयोग आवश्यक भएमा त्यसको तुरुन्त व्यवस्थापन गरिन्छ । गम्भीर अवस्थाका कर्मचारीलाई कुनै विकट क्षेत्रबाट तत्काल उद्धार गर्ने गरी बैंकले केही हेलिकोप्टर कम्पनीहरुसँग समन्वय गर्दै आएको छ।
त्यस्तै, नेपालको निजी क्षेत्रको पहिलो बैंक नबिल बैंकले पनि कोरोना संक्रमित कर्मचारीहरुका लागि उपचार र परामर्शको उचित व्यवस्था गरेको छ।
नबिलले केन्द्रबाट प्रदेश हुँदै जिल्ला र स्थानीय तहसम्म शाखाका कर्मचारीलाई आफ्नै नेटवर्क प्रयोग गरि कोभिड नियन्त्रण र उपचारका लागि काम गरिरहेको जनाएको छ। सामान्य संक्रमितलाई घरमै आइसोलेसनमा हुँदादेखि गम्भीर बिरामीलाई अस्पतालसँगको सहकार्यमा आइसीयूमा उपचार गराउने प्रबन्ध गरिरहेको बैंकका नायब महाप्रबन्धक मनोज ज्ञवालीले बताए ।
नबिल बैंकका कोभिडको पहिलो लहरमा ३ सय कर्मचारीहरु संक्रमित भएका थिए। सबै नै निको भए, जब कोरोनाविरुद्ध भ्याक्सिन आयो, सबै डराएका थिए । तर नबिल बैंकका सिनियर पर्सनहरुले अगाडि लगाएर प्रायः सबैले भ्याक्सिन लगाएकाले यो दोस्रो लहरमा संक्रमित भए पनि धेरै गम्भीर विरामी नपरेको ज्ञवाली बताउँछन्।
उनका अनुसार नबिल बैंकले कर्मचारीहरु संक्रमितहुँदा बैंकले गर्नुपर्ने आफ्नो कर्तव्य सबै पूरा गरेको छ। उनले भने, ‘बैंकले उपचारदेखि परामर्शमा छिटोभन्दा छिटो गरेर काम गरिरहेको छ। संक्रमितलाई स्वास्थ्य सामग्रीको प्रबन्ध, डाक्टरसँग सल्लाह, अस्पताल र आइसोलेसनको व्यवस्था मिलाउन बैंकमा कोभिड रेस्पोन्स म्यानेजमेन्ट टिम नै बनाएर काम गरेका छौं।’
संक्रमितलाई अनलाइन केयर, टेलिमेडिसिन, विज्ञ डाक्टरबाट आवश्यक परामर्श, दैनिक निगरानी, कोभिड किट, अक्सिजन र आवश्यक परेको बेला अस्पतालमा आइसीयू बेडदेखि भेन्टिलेटरसम्म खोज्नका लागि संयन्त्र बैंकले बनाएकाले संक्रमणमुक्त हुने क्रम बढेको महाप्रबन्धक ज्ञवालीको भनाइ छ।
त्यस्तै, नबिलले कोरोना संक्रमित कर्मचारीलाई परिवारमा बस्ने तथा समस्या भएकालाई होटलको व्यवस्था गरेर होटलमा नै राखेर महामारी व्यवस्थापन गरिरहेको छ।
कोभिडको दोस्रो लहरमा हालसम्म नबिलका १ सय ३९ जना कर्मचारी संक्रमित भएका छन्। त्यसमा अहिलेसम्म ७२ जना संक्रमणमुक्त भइसकेका छन् भने ३५ जना निको हुने चरणमा छन्। एक जनाको मुत्यु भएको छ।
बैंकले मानव संसाधन विभागको समन्वयमा कर्मचारीहरुलाई परीक्षण गराउँछ। यसका लागि उपत्यकाभित्र ह्याम्स अस्पताल, बिध ल्याब, अल्फा केयर, स्टार अस्पतालसँग परीक्षण र उपचारका लागि सम्झौता गरेको छ। उपत्यका बाहिर शाखाका म्यानेजरको समन्वयमा स्थानीय ल्याब र अस्पतालसँग समन्वय गरेर परीक्षण र उपचारको व्यवस्था गरेको बैकले जनाएको छ।
बैंकले माइक्रोसफ्ट टिम्समा नबिल फाइटर ग्रुप बनाएको छ। यसमा संक्रमित कर्मचारी जोडिएका छन्। यसमा सीइओदेखि उच्च व्यवस्थापनका कर्मचारी र कोभिड व्यवस्थापन टिमको सहभागिता छ। बैंकले डा. शेरबहादुर पुनमार्फत भर्चुअलरुपमा स्वास्थ्य परामर्श दिने व्यवस्था गरेको छ।
पछिल्लो कोरोनाको दोस्रो लहरमा बैंक तथा वित्तीय संस्थाका ८ हजार २ सय बढी कर्मचारी संक्रमित भएका छन् । तीमध्ये केहीको ज्यानसमेत गएको छ। सबै बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना कर्मचारीको उपचार खर्च आफैंले व्यहोरिरहेका छन्। तर, सिटिजन्स बैंकले जस्तो पारिवारिक स्नेह र केयरिङ निकै कम संस्थाले मात्र गर्ने गरेका देखिएको छ।
अहिले निषेधाज्ञा जारी भए पनि बैंकहरु सञ्चालनमा नै रहेका छन्। बैंक जतिसुकै सतर्कता अपनाए पनि सेवाग्राहीको चाप रहने भएकाले बैंक तथा वित्तीय संस्थाका कर्मचारीका लागि कोभिड–१९ को संक्रमण उच्च जोखिम कम भइसकेको छैन।
कर्मचारी संक्रमित हुँदा सेवा प्रभावित हुन नदिन बैंकहरुले प्रयास जारी राखेका छन्। केही बैंकले आफ्ना कर्मचारीहरुलाई तत्काल स्वास्थ्य सेवादेखि परामर्श दिइहेका छन्। आफ्नै व्यवस्थापन र नेटवर्क प्रयोग गरी उचित परामर्श दिँदा निको हुने क्रम पनि बढेको छ।































प्रतिक्रिया