२० प्रतिशत छुट सरकारको सस्तो लोकप्रियता, उपभोक्तालाई जोखिम र हैरानी मात्र

२० प्रतिशत छुट सरकारको सस्तो लोकप्रियता, उपभोक्तालाई जोखिम र हैरानी मात्र

केन्द्रबिन्दु
0
Shares

सरकारले बजेटमार्फत उपभोक्तालाई निषेधाज्ञा अवधिमा सहजताको लागि खाद्यान्न र ग्यासमा २० प्रतिशत छुट दिने घोषणा गरेको थियो। 

घोषणामा सरकारले साल्ट ट्रेडिङ र खाद्य कम्पनीमार्फत ग्यास लगायतका अन्य खाद्यान्न २० प्रतिशत छुटसहित बिक्री गर्ने व्यवस्था गरेको थियो। त्यहि अनुसार दुई कम्पनीले बजेट आएको ६ दिनपछि काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट निषेधाज्ञामा सहुलियत अर्थात छुटको व्यवस्था कार्यान्वयन सुरु गरेको थियो । तर सुरुवात गरे पनि यसमा विभिन्न झन्जटिला प्रक्रिया रहेका छन्। 

बिक्री खुल्ला गरेको तीन दिन उपभोक्ताहरुको भिड लागेको थियो । निषेधाज्ञामा पनि छुट पाउने भएपछि ग्यास तथा खाद्यान्न किन्न मानिसहरु २ घण्टा लाइनमा बस्नु पर्ने अवस्था छ । तर मंगलबारदेखि भिडभाड बढेको भन्दै बिहान दुई घण्टा मात्रै बिक्री कक्ष खुल्ला गर्न सुरु गरिएको छ। यसले गर्दा टाढा बस्ने तथा सवारीसाधन नभएका उपभोक्ताले सेवा लिन नपाउने तथा सेवा लिन चाहाना भएका उपभोक्तालाई पनि अझ असहज भएको छ। 

यसरी सरकारले सुरु गरेको छुटसहितको सहुलियत बिक्रीकक्षमा ग्यास तथा खाद्यान्न एकै स्थानमा पाइँदैन। खाद्यले खाद्यान्न लगायतका सामाग्री बेच्छ भने साल्ट ट्रेडिङले ग्यास नुन लगायतका सामाग्री बेच्ने गर्दछ। उपभोक्ताले सबै सामान एकै स्थानबाट पाउन सक्दैनन् । तर सञ्चालनमा आएको केही दिनमा नै भिडभाड बढेर कोरोना संक्रमण बढ्ने भन्दै अहिले साल्ट ट्रेडिङले बिक्री कक्ष २ घन्टा मात्रै खोल्न थाल्यो। यसरी दुई घण्टा मात्रै बिक्रीकक्ष खुल्ला हुँदा अब सस्तोमा पाउन लाम लाग्दै पालो पर्खनेहरुले सजिलै पालो पाउन छाडेका छन्। कतिपय त पालो पर्खदा पर्खदै समय सकिएपछि रित्तो हात फर्कनु परेको उपभोक्ताको गुनासो छ। 

सरकारले सस्तो लोकप्रियताका लागि बजेटमार्फत घोषणा गरेको निषेधाज्ञा अवधिका लागि छुटको घोषणा खाद्यव्यवस्था र साल्ट ट्रेडिङले सरकारले सल्लाह, परिपत्र केही नगरी हठात् छुट घोषणा गरेको भन्दै जानकारी नभएको बताउदै आएका थिए। 

तर ६ दिनपछि सरकारले बजेटमा गरेको घोषणा अनुसार छुटको व्यवस्था गरेको थियो। तर यी संस्थाले नेपालभरि सेवा दिन सकेका छैनन् । काठमाडौं उपत्यकामा पनि दुवै कम्पनीका बिक्रीकक्ष सीमित रहेका छन्। सरकारद्वारा घोषित छुट दुवै कम्पनीले बेच्ने सबै खाद्यवस्तुमा पनि सीमित नै रहेका छन्।  

अहिले उपत्यकाका बासिन्दाले खाद्यान्न र ग्यासमा छुटको सुविधा लिन बिक्रीकक्षमै पुग्नु पर्छ। निषेधाज्ञाले सार्वजनिक यातायात चल्दैन, निजी सवारी पनि पास नभइ कुदाउन पाइँदैन। छुट दिने नियत नै नदेखिएको सरकारी घोषणालाई दुवै कम्पनीले पनि मन नलागी नलागी कार्यान्वयन गरेको देखिएको छ।

अहिले उपत्यकाका बासिन्दाले खाद्यान्न र ग्यासमा छुटको सुविधा लिन बिक्रीकक्षमै पुग्नु पर्छ। निषेधाज्ञाले सार्वजनिक यातायात चल्दैन, निजी सवारी पनि पास नभइ कुदाउन पाइँदैन। छुट दिने नियत नै नदेखिएको सरकारी घोषणालाई दुवै कम्पनीले पनि मन नलागी नलागी कार्यान्वयन गरेको देखिएको छ।

मंगलबारदेखि जिल्ला प्रशासनबाट दुई घण्टा मात्रै बिक्रीकक्ष खोल्न अनुमति दिएकाले त्यही अनुसार सञ्चालन गरिएको साल्ट ट्रेडिङका प्रवक्ता सागर भण्डारीले बताए। छुटको सुविधासहित खाद्यान्न किन्न आउनेको भीडलाई व्यवस्थापन गर्न गाह्रो भएको तथा कम्पनी नजिकका घरधनिहरुले प्रशासनमा निवेदन हालेकाले बिक्रीकक्ष खुला राख्ने समय घटाउने निर्णय गरेको भण्डारी बताउँछन्। ‘अहिले हाम्रो बिक्रीकक्ष बिहान ७ देखि ९ बजेसम्म मात्रै खुलेको छ।’ उनले भने, ‘कोभिड संक्रमणको जोखिम उच्च भएका बेला भीड नियन्त्रण गर्न गाह्रो भएर यस्तो निर्णय गरिएको हो। तर पनि यस्तो महामारीको अवस्थामा पनि कर्मचारी बोलाएर सेवा लिन आउने कसैलाई पनि रित्तै पठाएका छैनौं।’

पछिल्लो पटक काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट जारी निषेधाज्ञा सम्बन्धी निर्देशन अनुसार नै समय व्यवस्थापन गरिएको उनको दाबी छ। मंगलबारअघि चार वटा बिक्री कक्षहरुबाट बिहान १० देखि साँझ ४ बजेसम्म खाद्यान्न बिक्री हुँदै आएको थियो। बजार बन्द भएका बेला बिहान बिक्री नगरी दिउँसोको समय तोकिएको थियो। ६ घन्टा बिक्री कक्ष खुला हुँदा उपभोक्तालाई केही सहज भइरहेको थियो। तर मूल्यमा छुटको घोषणापछि भने उपभोक्ताको चाप बढेको र धेरै समस्या आएकाले जोखिमलाई ध्यानमा राखेर सरकारले तोकेको समयमा सञ्चालन गरिरहेको उनको भनाइ छ।

त्यस्तै, विभिन्न सञ्चार मध्यममा अनावश्यक हल्ला फैलिएको भन्दै हल्ला जस्तो नभएको र कम्पनीहरुको संरचनाले भ्याएसम्म गरेको तर उपत्यकाबाहिर त्यो खालको संरचना नभएकाले गर्न नसकेको स्वीकार गरे। 

प्रक्रिया झन्झटिलो
सरकारले सहुलियत दिने भने पनि सबै उपभोक्ताको पहुँचमा नपुग्ने देखिएको छ। निषेधाज्ञा समय भएकाले काठमाडौं उपत्यकामै सबै नागरिकले सरकारले दिएको छुट सेवा लिन पाएका छैनन् । भण्डारीले कम्पनीले सरकारले बनाएको मापदण्डअनुसार काम गरिरहेको र सकेसम्म सबैलाई सेवा पुर्याउने कम्पनीको चाहान रहेको बताए ।

खाद्यान्न खरिदका लागि उपभोक्ताले नागरिकताको प्रतिलिपी अनिवार्य पेश गर्नुपर्ने र त्यसमा परिवार संख्या खुलाउनुपर्ने नियम रहेको छ। यस्तो नियमले पनि छुट सुविधा धेरैले उपयोग गर्न नपाउने अवस्था छ। यसबाट पनि सरकारले सस्तो लोकप्रियताको लागि मात्रै छुट दिएको जस्तो  देखिएको छ। 

साल्ट ट्रेडिङ र खाद्य व्यवस्था कम्पनीले अनलाइन अर्डर लिएर पनि खाद्यान्न होम डेलिभरी गरिरहेका छन्। सरकारद्वारा घोषित छुट होम डेलीभरीमा भने उपभोक्तालाई दिइएको छैन। ग्यास र चिनी किन्नु परे साल्ट ट्रेडिङकै बिक्री कक्ष पुग्नुको विकल्प छैन। खाद्यले ग्यास बेच्दैन।

दैनिक ९ लाखसम्म बिक्री 
२० प्रतिशत छुट दिएर बिक्री सुरु भएपछि सात वटा बिक्री कक्षहरुबाट दैनिक ९ लाखभन्दा बढीको कारोबार हुँदै आएको थियो । तर समय कम भएसँगै कारोबार पनि कम हुँदै आएको कम्पनीले जनाएका छन्।

साल्ट ट्रेडिङ र खाद्यव्यवस्था कम्पनीले अनलाइन अर्डर लिएर पनि खाद्यान्न होम डेलिभरी गरिरहेका छन्। सरकारद्वारा घोषित छुट होम डेलीभरीमा भने उपभोक्तालाई दिइएको छैन।

नुन, तेल, पिठो, चिनी र ग्यासमा छुट दिएपछि बिक्रीकक्षहरुबाट दैनिक कारोबार बढेको थियोे । छुट अघि पनि निषेधाज्ञाकै समयमा दैनिक एक लाख रुपैयाँ हाराहारीको कारोबार हुँदै आएको थियो। 

बिक्रीकक्ष खोल्ने समय घटाएको साल्ट ट्रेडिङले घुम्ती सेवालाई भने निरन्तरता दिइरहेको छ । तर छुटको व्यवस्था गरेको छैन। निषेधाज्ञाको समय अवधिभर दैनिक ३ वटा भ्यानमार्फत खाद्यान्न बिक्रीवितरण गर्दै आएको छ।  बिक्रीकक्ष दिउँसो बन्द भए पनि उपभोक्ताले फोनमार्फत खाद्यान्न अर्डर गर्दा होम डेलिभरी दिने जनाएको छ। घुम्ती सेवाबाट चामल, दाल, गेडागुडी, सूर्यमुखी तेल बिक्री हुन्छ। 

छुट सुविधा दिए पश्चात् बुधबारसम्म कालीमाटी, कोटेश्वर, संतुगल, भक्तपुर, जावलाखेल, नारायणगढ र बनेपाबाट ७ दिनमा नुन ८ हजार २३५ केजी १ लाख ३७ हजार २३२ रुपैयाँमा, चिनी ९ हजार १७८ केजी ६ लाख ११ हजार १४४ रुपैयाँमा, पिठो ३ हजार ३७८ केजी १ लाख ५४ हजार ५२८ रुपैयाँमा, भटमासको तेल ४ हजार ५६ लिटर ७ लाख ९४ हजार ८६४ रुपैयाँमा र खाना पकाउने ग्यास ७७९ वटा ८ लाख ७२ हजार ४८० रुपैयाँ बराबरको कारोबार भएको छ । समग्रमा सात दिनमा २५ लाख ७० हजार २४८ रुपैयाँको कारोबार गरेको छ।

Logo