कोरोनाविरुद्धको खोप लगाउन माग राख्दै ट्यांकर चालकद्वारा तेल ढुवानी ठप्प

कोरोनाविरुद्धको खोप लगाउन माग राख्दै ट्यांकर चालकद्वारा तेल ढुवानी ठप्प

केन्द्रबिन्दु
0
Shares

कोरोना भाइरसविरुद्धको खोप लगाउनु पर्ने माग राख्दै इन्धन ढुवानी गर्ने ट्यांकर चालकहरुले आइतबारदेखि काठमाडौंको थानकोट डिपोबाट इन्धन ढुवानी ठप्प पारेका छन्। ट्यांकर चालकहरुले तेल ढुवानी ठप्प बनाएकाले आज उपत्यकामा इन्धन आपूर्तिमा केहि समस्या देखिएको छ। 

भारतको बिहार राज्यमा पर्ने बरौनी र नेपालको बारास्थित अमलेखगन्जबाट काठमाडौंमा तेल ढुवानी गर्दै आएका चालकहरूले कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले खोप नलगाई इन्धन ढुवानी गर्न नसक्ने माग राख्दै आएका छन्। पेट्रोलियमचालक संघको राष्ट्रिय समितिले आइतबार निगमलाई ज्ञापनपत्र बुझाउँदै खोप उपलब्ध नभएसम्म इन्धन ढुवानी रोक्ने जनाएका थिए।  

आइतबार दिनभर चालकका प्रतिनिधि र निगमबीच छलफल भए पनि चालकहरूले खोप नलगाई इन्धन ढुवानी गर्न नसक्ने अडानबाट पछि हटेका छैनन्। निगमका प्रवक्ता विनितमणि उपाध्यायले खोपका लागि पहल भइरहेको बताए। तर ट्यांकर चालकहरूले निगमको कुरा नसुनि आकस्मिक हडताल गर्नु राम्रो नभएको बताए। 

उनका अनुसार इन्धन अत्यावश्यक पदार्थ भएकाले ढुवानी तथा आपूर्तिमा अवरोध गर्नु हुँदैन। उनले भने, ‘चालकहरूको हडतालका कारण आइतबार निजी पम्पमा तेल वितरण भएको छैन।’ 

निगमका अनुसार आइतबार सेना, प्रहरी, सशस्त्र र साझा सहकारीका पम्पले आफ्नै ट्यांकरमा तेल ढुवानी गरेका थिए। यसरी आइतबार पम्पमा पेट्रोल ८९ किलोलिटर र डिजेल ६६ किलोलिटर वितरण भएको निगमले जनाएको छ। निषेधाज्ञाको अवधिमा पनि करिब पाँच सय किलोलिटर पेट्रोल, डिजेल बिक्री भइरहेको छ। 

खोप नपाएसम्म इन्धन ढुवानी नगर्ने ट्यांकर चालकको अडानमा पेट्रोलपम्प सञ्चालकहरूले समेत समर्थन जनाएका छन्। पम्प सञ्चालकहरूको संस्था पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले एक विज्ञप्ति जारी गर्दै अत्यावश्यक सेवा भएकाले निषेधाज्ञामा समेत निर्वाध इन्धन ढुवानी गर्ने चालकलाई खोप लगाउन सरकारले प्राथमिकता दिनुपर्ने जनाएको छ। एसोसिएसनले पम्पका मजदुर, कर्मचारी र सञ्चालकहरूलाई समेत खोप प्राथमिकतामा राखेर लगाउन सरकारलाई आग्रह गरेको छ।

Skip This
Skip This
Logo